काठमाडौं । कर्णाली प्रदेशक मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ । संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै सांसदहरुले दर्ता गरेको अविस्वासको प्रस्ताव शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो।
३३ सदस्यीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली पक्षका सांसदहरुले बहिष्कार गरेपछि १८ जना सांसदको उपस्थिति रहेको थियो । ‘बहुमत सांसदको बैठकले अविश्वास प्रस्ताव अस्वीकार गरेको हो ।
अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ । बैठकमा मुख्यमन्त्री शाहीले मुख्य सचेतक र सचेतक नियुक्त गरिएको जानकारी दिएका थिए ।
यसैबीच अविश्वासको प्रस्ताव असफल भएपछि प्रचण्ड–माधव पक्षले बहुमतको दम्भ देखाउन खोजेको आरोप प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लगाएको छ ।
पूर्वमुख्य सचेतक गुलाबजंग शाहले बहुमत पक्षले दम्भ देखाएको भन्दै आजको बैठकको औचित्य नभएको बताए ।
मुख्यमन्त्री शाहीविरुद्ध बहुमत सांसदले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई बर्खास्त गर्दै सीता नेपालीलाई मुख्य सचेतक र कुर्मराज शाहीलाई सचेतक बनाएका थिए ।
सुरुमा पूर्व एमाले समूह एकगठ भएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपनि पछि केन्द्रमा प्रचण्ड–नेपाल पक्ष मिलेपछि ओली पक्ष एक्लिएको थियो । कर्णाली विवादले नेकपाभित्रको विवाद झनै बढाएको छ । पछिल्लो समयमा दुई अध्यक्षबीच शीतयुद्ध नै चलिरहेको छ ।
