काठमाडौँ । नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ताप्रति आपत्ति जनाउनुभएको छ । बिहिबार ट्विट गर्दै रावलले गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादा विपरीत भएको आरोप पनि लगाउनुभएको छ ।
रावलले लेख्नुभएको छ– ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।’
काठमाडौँमा रहेका भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ बुधबार नेपाल आएका ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरूसँग गोप्य भेटवार्ता गरेको सार्वजनिक भएको थियो ।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
सो भेटवार्ताबारे नेता प्रचण्ड र नेपालले खण्डन गरेका छन् भने प्रधानमन्त्रीसँग गोयलको भेटवार्ता पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
बुधबार राती बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग डेढ घण्टा भेटवार्ता गरेका रअका प्रमुख गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका छन् ।