काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले राष्ट्रपतीय निर्वाचनमा मतदाताको विवरण इरान र रुसले पाएका दाबी गरेका छन् ।
अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन् ।
वासिङ्टनमा बोलेका र्याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए। उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।
हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ। चुनावी दिन नजिकिएको बेला अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक क्रिस्टोफरबारे समेत थिए।
उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन गर्न सक्ने बताए।
जोन र्याटक्लिफले रुसबारे इरानकोजस्तै कामको जानकारी आफूसँग नभए पनि उसँग समेत केही मतदाताको विवरण भएकोमा आफू सचेत भएको बताए।
रुस सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको भन्दै व्यापक रूपमा आलोचित हुने गरेको छ। बीबीसी