काठमाडौं । सरकारले सक्रिय संक्रमितको संख्या धेरै देखिएका जिल्लाहरुमा आवतजावत तथा कतिपय सेवा बन्द गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको छ । काठमाडौं उपत्यकासहित ठुला सहरी क्षेत्र रहेका कतिपय जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या धेरै रहेको छ ।
मन्त्रिपरिषदको असोज २६ र २९ गते बसेको बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
यसबाहेक ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले काठमाडौं उपत्यकामा थप २ सय र उपत्यका बाहिर २ सय उच्च किसिमको प्रविधि सहितको सघन उपचार कक्षको विस्तार १५ दिन भित्र गरिसक्ने निर्णय समेत गरेको बताउनुभयो ।
यसबाहेक काठमाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरुलाई आइसोलेसन सेन्टरको रुपमा विस्तार गर्ने निर्णय हुनुले सरकार जनताको जीवन र स्वास्थ्यप्रति गम्भिर भएको पुष्टि हुने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषदको २६ गते सोमबार बसेको बैठकले अन्तराष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्यरात सम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।
तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । यो व्यवस्था विपरित आवतजावत गरेमा कानुन अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताउनुभयो ।
