जनकराज पौडेल
बाटो अप्ठ्यारो छ
घुम्ती मोड धेरै छन्
उकाली–ओराली पार गर्नु छ
त्यो मलाई थाह छ
तर मलाई यही बाटो प्यारो लाग्यो
किनकि त्यसपछिको संसार सुन्दर छ ।
कुनै विभेद छैन—सबै समान छ
निमुखाहरूको भविष्य त्यहाँ छ
मलाई त्यही युगप्रति विश्वास छ ।
त्यो बाटो कठिन छ
तर पार लगाउने महान् विचार छ
अप्ठ्यारो छ—अवरोध छ
अपहेलित हुनु छ
मुर्ख भइदिनुपर्ने छ
थुप्रै अजङ्ग पहाड नाघ्नु छ
सामान्य छैन त्यो—जटिल छ
बनिबनाउ गोरेटो छैन
डोरेटो आफै कोर्नु छ
न समथर भूभाग छ
बरु कहालीलाग्दो भिर छ
तर ती सब पार लाग्ने
महान् विचारको साथ छ
त्यसैमा दृढ विश्वास छ
निकट भविष्य सुन्दर छ
त्यसैले यही बाटोमा गौरव छ।
जालझेल षड्यन्त्र तिम्रा कर्तुतहरू
टिक्दैन यहाँ अदम्य साहस छ
झुटको पहाड गल्र्याम्मै ढल्छ
सत्यको साथ महान् विचार छ
अलमल पार्न नखोज कोही
भ्रमको खेती नगर कोही
टिक्दैन त्यो
सबै च्यात्दै निरन्तर बढ्छ
बढिरहन्छ ।
किनकि त्यसपछिको संसार सुन्दर छ
त्यहाँ पुग्ने मेरो लक्ष्य छ
साथमा महान् विचार
मलाई यही बाटोमा गौरव छ ।