काठमाडौं । भारतमा उडिरहेको विमानमा एक महिलाले बच्चा जन्माएकी छन् । भ्रूण चिकित्सा विशेषज्ञ डा. शैलजा वल्लभनेनीले जमिनभन्दा हजारौँ फिट माथि उडिरहेको विमानमा एक महिलालाई सुत्केरी गराएको बीबीसीलाई बताएकी छन् ।
डा. शैलजाका अनुसार सुत्केरी गराउने बेला विमानमा कैँची, स्यानिटाइजर र पट्टी मात्र उपलब्ध थियो। आकाशमा जन्मिएको भारतको सम्भवतः यो पहिलो बच्चा हुनुपर्छ ।
बच्चा जन्मिने बेला विमानमा रहेका अरू यात्रीले पनि सघाएका थिए। उनीहरूले महिला र नवजात शिशुका लागि आवश्यक तौलिया, प्याड र डाइपर लगायतका सामान उपलब्ध गराए । सुत्केरी गराउने क्रममा विमानमा रहेका एकजना प्लास्टिक सर्जन डा. नागराज सहयोगका अगाडि सरे ।
सुरुमा गर्भवती महिलाले पेट दुखिरहेको बताएपछि डा. शैलजाले गर्भ तुहिएको हुनसक्ने आशंका गरिन् । योनिबाट रगत बगिरहेको छ वा छैन भनेर सोध्दा ती महिलाले सुरुमा छैन भनेकी थिइन्। उनी गर्भवती महिलानजिक पुग्दा शिशुको टाउको अलिकति बाहिर निस्किसकेको थियो।
‘मैले कैँची लिएर त्यसलाई निस्सङ्क्रमण गरेँ र शिशुको नाल काटेँ अनि शिशुलाई पट्टीले बेरिदिएँ’ डा. शैलजा भन्छिन्, ‘त्यसपछि अरू यात्रीहरू विभिन्न सामानसहित सहयोगका लागि अघि सरे अनि मैले शिशुलाई सफा गरेँ र शिशु सकुशल रहेको सुनिश्चित गरेँ ।’
उनका अनुसार विमानमा दुइटा सुई (इन्जेक्शन) उपलब्ध थियो जसको प्रयोग महिलामाथि गरियो । पछि योनिबाट रगत बग्न रोकियो र सुत्केरीले शिशुलाई स्तनपान गराइन् ।
विमानबाट ओर्लिएपछि सुत्केरी र शिशुलाई तत्काल अस्पताल पुर्याइयो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दुवैको स्वास्थ्य अहिले ठिक छ ।
दश वर्ष महिला रोग विशेषज्ञको रूपमा काम गरेकी उनले पछि भ्रूण चिकित्सा विशेषज्ञ भएर काम गर्न थालिन् । आकाशमा शिशु जन्माउनुपर्ने आपत्कालीन अवस्थाका लागि विमानहरूमा ‘आधारभूत प्रेग्नेन्सी किट’ राख्नुपर्ने उनको सुझाव छ ।