काठमाडौं । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ । राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।
Advertisement
जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।
बीबीसीका अनुसार आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको र बाँकी आरोपितको पनि खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।
जग्गा विवादका क्रममा ती पुजारीको हत्या भएको उनले पुष्टि गरेका छन्। विवादबारे दुवै पक्षले प्रहरीलाई जानकारी नदिएको र घटना अचानक भएको प्रहरीको दाबी छ।