कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सूचना प्रकशित गरी आजदेखि एक हप्ता बन्द गरेको हो ।
Advertisement
नगरपालिकाद्वारा शुक्रबार प्रेषित सूचनामा नगरपालिकाका ३ र अन्य थप ३ जना गरी ६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब सङ्कलन गरी परीक्षण गर्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो ।
यही असोज २३ गते देखि २९ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले बताउनु भयो ।
बेलौरी नगरपालिकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ ।