काठमाडौँ । ट्राफिक प्रहरीले यस आर्थिक वर्ष २०७६/७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारेको छ । यस्तै, लकडाउनदेखि हालसम्म ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरू फेला पारी शुक्रबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरू गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले सम्बन्धित धनीलाई जिम्मा लगाउनुभएको हो ।
उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँ बसपार्क, ज्ञानेश्वर, इमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलीसडकलगायतका स्थानबाट ती मोटरसाइकल फेला परेका हुन् ।
त्यस अवसरमा वरिष्ठ उपरीक्षक ढकालले भन्नुभयो– ‘एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेटबाहिर, अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापरवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाइकलहरू बढी चोरी भएको देखिन्छ ।’
उहाँले चोरी भएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेहिकल अप्लिकेसन’ मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको बताउँदै चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ्ग गरेको भनी ढुक्क नपर्न र एकैछिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव पनि दिनुभयो ।