लक्ष्मण बेलबासे
यहाँ सबैलाई केहीनकेही गर्नैपरेको छ । सबैका आफ्नै आफ्नै समस्या छन् । कसैलाई समस्या आइपरेको छ । कसैले समस्यालाई निम्तो दिएर बोलाएका छन् । कसैको थाहै नपाई समस्यासम्म आइदिन भन्दै म्यासेज पुगेको छ । सबै जेलिएकै छन् ।
यिनै कति नबोलाइकन आएका समस्या त, कति निम्तो दिएरै बोलाएका समस्या । यस्तै समस्यैसमस्याले घेरिएका छन् सबै । समस्याको घेराबाट बाहिर आउने प्रयत्न जति गरे पनि एकपछि आउने अर्को समस्यासँग जुद्धै जीवनको अन्तिम दिन आएको पत्तै नपाउने अवस्था आउने गर्दछ सबैको । आफ्नै समस्या सम्हाल्दा–सम्हाल्दै अरूका समस्याको बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
अब त यस्तो भइसक्यो, यदि कसैले सबैको हितको विषयमा, सबैको समस्याको विषयमा केही सकारात्मक प्रयास गर्न थाले पनि मजाकको पात्र हुन थालेको छ । यही सकारात्मक प्रयास पनि समस्या हुन थालेको छ ।
समस्याको स्रोत नै थाहै नपाई समस्यासँग लडिरहेका हामी कसैले स्रोत नै बन्द गराउन सामूहिक प्रयासको बाटो देखाउने प्रयत्न गर्यौं भने त्यही मनुवा समस्याका कारण बनाउन थालेका छौँ ।
सत्यको बाटो सधैँ कठिन हुने गर्दछ । त्यसैले हामी सबै सजिलो बाटो हिँड्ने कुरामा खुशी हुने गर्दछौँ ।
आजभन्दा पहिले पनि कैयौँ पटक अनसन बसेर अनसनका अनुभवी डाक्टर गोविन्द केसी अहिले पनि अनसनलाई जारी राखेका छन् । उनले अप्ठेरो बाटो रोजेका छन् । अरूका निम्ति आफूलाई जोखिममा राखेका छन्; अवस्था अनुकूल÷प्रतिकूल जस्तो भए पनि केसीका माग पक्कै पनि देश र जनताका विरुद्ध छैनन् ।
सत्यको बाटोमा हिँड्ने सत्याग्रही सधैँ सुरुमा मजाकको पात्र हुने गर्दछ । त्यसपछि सत्याग्रहीमाथि आक्रमण हुने गर्दछ; अर्थात् सत्य स्वीकार्न कठिन हुँदा सत्यमाथि आक्रमण हुने गर्दछ । अन्ततः सत्याग्रही विजयको नजिक पुग्दछ । सत्यको विजय हुन्छ ।
लाग्छ, डा. केसी पनि अझै पहिलो चरणकै परिस्थितिको सामना गर्दै छन् । व्यक्तिगत समस्याबाट माथि उठेर सबैका समस्याका विरुद्ध लडेका डा. केसी यो देशका अपराधी पक्कै होइनन् । यदि दोषी हुन् भने राज्यले दोषी ठहर्याउँदै जेल पठाउनुपर्यो । हैन भने डा. केसीको जीवनरक्षा गर्ने जिम्मा पनि राज्यकै हो ।
यो देशका सचेत नागरिक र यो देशको सरकारले अब त सत्यको अनुभव गर्ने बेला भएन र ?
हामी यति समस्याग्रस्त भइसक्यौँ कि अर्काको निस्वार्थ त्यागलाई पनि समस्या देख्न थालेका छौँ । डा. केसीका माग कोही हत्यारालाई जेलमुक्त गराउने छैन । कोही भ्रष्टाचारीलाई सफाइ दिलाउने प्रयत्न हैन । उनले त केवल सबैको समस्या बनेको स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि अनुरोध गरेका छन् । कसैको ज्यान लिने प्रयत्न गरेका छैनन् । सरकारकै विरुद्ध हतियार उठाएका छैनन् । कसैको कुर्ची ताकेका छैनन् । दूरदराजमा नौँ महिना पेटमा पालेको बच्चाको अनुहार हेर्ने प्रयत्न गर्दागर्दै हेर्नै नपाई मृत्युवरण गर्न बाध्य आमाहरूको समस्याको कुरा गरेका छन् । पखालाले लत्रिएर जीवनजल खान नपाई, अज्ञानताले गर्दा पानी पनि नखाई मृत्युको मुखमा पुग्ने ती अबोध गाउँलेको स्वाथ्य अधिकारको कुरा गरेका हुन् । यतिमै अब यो देश तथा यो देशको सरकारलाई केसी नचाहिने भएका हुन त ?
यहाँ एउटा व्यक्ति घर–परिवार भनेर बिहानदेखि बेलुकासम्म आफ्ना हरेक रहर एउटा टालोमा बेरेर खोपीमा लुकाएर जोतिन्छ । आफू र आफ्नो परिवारभन्दा बाहिर निस्कन सकेको हुँदैन । कोही भिखारी अगाडि परे तर्कन खोज्दछ; अथवा खुद्रा छैन भनेर उम्कन्छ । तर पनि परिवारप्रति आफू जिम्मेवार भएको ठानेर आफूलाई घरमुलीको त्यही खालको सम्मानको अपेक्षा राख्दछ ।
स्वभावैले हरेक मान्छे प्रशंसाको भोको हुन्छ । अरूबाट सधैँ प्रशंसाको अपेक्षा राख्दछ । उपेक्षा र घृणाले सधैँ दुखी हुन पुग्दछ । तर मैले कतिको प्रशंसनीय काम गरेँ भनेर पछाडि फर्किएर हेर्न चाहँदैन । यही यथार्थ हो । अहिलेको सरकारलाई पनि यही भ्रमले घेरेको अनुभूति हुन्छ ।
यो सरकार आफ्नै गुट र आफन्तभन्दा बाहिर केही गर्न नसक्ने अवस्थामा पुगेको प्रष्ट हुन थालेको छ । आफ्नै गुट र आफन्तको दुनो सोझिनुलाई नै सर्वाङगीण ठानेको छ । आफ्नै गुट र आफन्तलाई सेटिङ मिलाएर जिम्मेवारी बाँडफाँट गर्दा देखिने गुटको खुशीलाई सफलताको मापन ठानेको छ ।
सत्यको उर्जा लिएर सबैलाई सत्यको सामना गर्न बाध्य बनाउन खोजेका डाक्टर उपेक्षित भएका छन् । सत्य उपेक्षामा परेको छ । सत्यको प्रकृति नै त्यस्तो हुन्छ, ढिलै भए पनि सत्यको सामना सबैले अनिवार्य गर्नैपर्दछ । यो शाश्वत नियम हो ।
सत्यको साक्षात्कार हुँदा जस्तै ठुला ठुला तानाशाह पनि घोडाबाट झरेर सत्यको अगाडि लखतरान परेका कैयौँ ऐतिहासिक उदाहरण हाम्रैसामु छन् ।यति पनि नबुझ्ने हाम्रा प्रधानमन्त्री पक्कै होइनन् । तर गुटको स्वार्थले घेरिएको ज्ञान लाग्छ, कुर्सीकै कारण धमिलो भएको छ ।
गुटकै खुसीलाई सफलताको मापन मान्दै जाने हो भने पक्कै कुर्सी ढल्ने छ नै ।
बाटोको भुस्याहा कुकुर होस् या गोठको वस्तुलाई त बचाउने अनेक प्रयत्न हुन्छ भने एउटा वृद्ध डाक्टर, जो सधैँ स्वाथ्य सेवामै आफ्नो जीवनका सबै काल सक्काएर अहिले पनि देश र जनताकै लागि भनेर भोकै बसेर मृत्युकै नजिक पुग्दा पनि सबै मौन ः यो कस्तो मौनता हो ? निर्लज्जता हो या नग्नता ? या दम्भको पराकाष्ठा ? आम मानिसले के भनेर बुझ्ने ?
सबैले प्रयत्न गरौँ, भलाइको यस यज्ञमा भलाद्मीकै बली हुनबाट बचाऊँ ।