काठमाडौं । कोरोना संक्रमण भएर उपचारका लागि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन् । उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए ।
त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस् ।’ ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए।
अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन् । ट्रम्पको उपचारमा संलग्न डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए । उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए ।
अमेरिकामा कोभिड–१९ का ७४ लाखभन्दा धेरै संक्रमित भएका छन् । भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ ।