कृष्णराज पाण्डेय
नेपाल कम्युनिस्ट (मसाल) का महामन्त्री मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनको ज्युँदो इतिहास हुनुहुन्छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको व्याख्या पनि मोहनजीबाट हुँदै आएको छ ।
कम्युनिस्ट आन्दोलन केही नयाँ विषय आएपछि मान्छेहरूले मोहनविक्रम सिंह के भन्नुहुन्छ भन्ने कौतुलहता हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलन लामो र निरन्तर अनुभव को इतिहास पनि उहाँसँग छ । नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न उतारचढाव मोहनविक्रम सिंहसँग जोडिएको देखिन्छ ।
सच्चा र क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सात दशक लामो यात्रा गरेका एक मात्र नेता मोहनविक्रम सिंहलाई पार्टी रहुञ्जेल माओ भन्नेहरू पार्टी छोडेर गएपछि गाली गर्ने र अनेकौँ आरोप लगाउने चलन हामीले इतिहासमा उहिलेदेखि अहिलेसम्म थाहा पाएका छौँ ।
कमरेड मोहनविक्रम सिंहले नेपालको कम्युनिस्ट पार्टीलाई राजाको दरवारमा बुझाउन खोज्ने केशरजङ्ग रायामाझीसँग अन्तरसङ्घर्ष गरी दरवार बुझाउन लागेको कम्युनिस्ट पार्टीलाई नेपाली जनताको बिचमा स्थापित गर्दै जोगाएर राख्नुभयो । पार्टीभित्र घुसेका राजाका दरवारियाहरू जनताको माया छोडेर राजाको वरिपरि घुमेर एकदलीय व्यवस्थालाई बलियो बनाउन लागे । यदि कमरेड मोहनविक्रम सिंहले यो कदम नलिएको भयो नेपालको कम्युनिस्ट पार्टी कहाँ पुगेको हुने थियो ? नेपालको कम्युनिस्ट इतिहास पढ्नेहरूलाई थाहा छैन र ?
अर्काे कुरा दरवारियाहरू मोहनविक्रम सिंहको विचार र सिद्धान्तबाट डराएर पद र प्रतिष्ठाको लोभ देखाएर राजपरिषद् सदस्यको घोषणा गरे । तर कमरेड मोहनविक्रम सिंह नेपालको कम्युनिस्ट पार्टी सिध्याउने दरवारिया चलखेल र सबै षड्यन्त्रलाई चकनाचुर पारेर कम्युनिस्ट पार्टी बलियो बनाउन निरन्तर लाग्नुभयो र राजतन्त्रलाई हटाउनका लागि संविधान सभाको नारा दिनुभयो ।
राजाको हातमा भएको सार्वभौमसत्ता जनताको हातमा लिने सजिलो सूत्र थियो । दरभगा प्लेनमले पास गरेको संविधान सभामार्फत राजतन्त्र फाल्ने योजना लागु गर्न हामीलाई ७० वर्ष लाग्यो । नेपालको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समाप्त गर्न दरवारले ७० वर्षसम्म कस्तो जालझेल गर्याे ? यो इतिहास अध्ययनको विषय हो ।
कम्युनिस्ट पार्टी जोगाउन मोहनविक्रम सिंहले खेलेको भूमिकाको अध्ययन महत्त्वपूर्ण छ । यो इतिहासका विद्यार्थीका लागि अनुसन्धान विषय हो । नेपालको कम्युनिस्ट पार्टी विभिन्न उतारचढावमा विभिन्न खालका प्रवृत्ति र गलत विचारसँग सम्झौताहीन लडाइँ लडेको इतिहास छ । चाहे झापालीको वर्गदुस्मन सफायाको नाममा चलाएको उग्रवामपन्थी सोचसँग होस् वा मध्यपन्थीसँग गरिएको सङ्घर्ष होस वा २०४६ सालको परिवर्तनपछि संविधान सभाको चुनावमार्फत राजाको हातमा रहेको सार्वभौमसत्ता जनताको हातमा ल्याउन संविधान सभाको माग गरी आम चुनाव बहिष्कार गरेको वा माओवादीको उग्रवामपन्थी हुँदै दक्षिणीपन्थी यात्राका विरुद्ध गरिएको सङ्घर्ष वा राज्यको पुनर्संरचनाअन्तर्गत नेपालजस्तो देशमा सङ्घीयता आवश्यक छैन भनेर ठोस परिस्थितिको ठोस विश्लेषण हुँदै आएको छ । अर्कातिर, अमेरिकी र भारतीय साम्राज्यवाद विरुद्ध गरिएको सङ्घर्ष होस् वा रिमको गलत विचार विरुद्धको सङ्घर्ष होस्, नेपाल कम्युनिस्ट (मसाल) ले सम्झौताहीन लडाइँ लडेको छ ।
यो गौरवपूर्ण इतिहास हामी सबैको अगाडि छ । यो कुनै लुकेको र लुकाइराखेको कुरा होइन । नेपालमा नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म जाने नेकपा (मसाल) को नीति र सिद्धान्तलाई रणनीतिक लक्ष्यसम्म पुग्ने कार्यनीतिक योजना बनाउँदै अगाडि बढिरहेको छ । क्रान्तिको वक्ररेखा सिधा र सरल हँुदैन, टेढो, बाङ्गो, उतारचढाव हुने नै भयो ।
अर्काे कुरा, नेकपा (मसाल) को पाको र परिपक्व नेतृत्व छ । यसले रुसको समाजवादको विसर्जनयुक्त इतिहास बुझेर शिक्षा लिएको छ । चिनियाँ जनवाद कसरी पँुजीवादमा रूपान्तरण भयो ? यो पनि बुझको छ । भियतनाम, इन्डोनेसिया, पेरू, भारतलगायत विश्वका अन्य मुलुकका कम्युनिस्टको सफलता र असलफताबाट शिक्षा लिएर नेपालको जनवादी आन्दोलनलाई अगाडि बढाउने काम गरेको छ ।
कम्युनिस्ट पार्टीमा नीति र नेतृत्व एकर्काको पर्यायवााची हुन् । आज नेकपा (मसाल) छोडेर जानेले हिजो पार्टीमा बस्दा मोहनविक्रम सिंहलाई माओसँग तुलना गरे । आज पार्टी छोडेर गएपछि लगाएका आरोपको चर्चा गरौँ ।
पुष्पलालाइ गद्दार भन्नु मोहनजीको गल्ती हो भन्दै रुवाबासी गर्दै छन् । पुष्पलाललाई गद्दार मोहनजीले व्यक्तिगत रूपमा भन्नुभएको हो कि नेकपा (मसाल) को केन्द्रीय समितिको निणर्य हो ? जब पार्टी निर्णय हो भने यसको नैतिक जिम्मेवार सबै पार्टी सदस्य हुन्छ कि हुँदैनन् ? सबै दोष नेतृत्वलाई लगाएर पानीमाथिको ओभानो बन्नु घोर दक्षिणपन्थी अवसरवाद हो । कम्युनिस्ट पार्टीमा सामूहिक निर्णय हुन्छ भन्ने कुरा कसले बुझ्दैन र ?
अर्काे कुरा निर्मल लामालाई सिआइडीको आरोप लगाएकोबारेमा यो पनि मोहनजीको व्यक्तिगत आरोप हो कि पार्टीनिर्णय हो ? अहिले लामालाई सिआइडी भन्नु मोहनजीको गल्ती हो भन्नेहरू के हेरेर बसेका थियो ? पार्टी सिसिएम र पिबिएम थिए कि मोहनजी गोठाला थिए ? आफूलाई अनुकूलको राजनीति गर्नेहरूले यो पनि भन्न सक्नुपर्यो, अब मोहनजीले केशरजङ्ग रायमाझीको राजावादी लाइनका विरुद्धको सङ्घर्ष गर्नु गल्ती थियो; मध्यपन्थीसँग गरिएको सङ्घर्ष पनि गल्ती थियो; झापाली, माओवादी, रिम, अमेरिकी र भारतीय सम्राज्यवादका विरुद्ध गरिएका सङ्घर्ष गल्ती थियो । यो इमानदारिता होला ।
अर्काे आरोप बुढाहरू क्रान्ति गर्दैनन् । जसले नेपालमा कम्युनिस्ट व्यवस्थाका लागि सात दशकसम्म वर्गसङ्घर्षमै होमिएको छ; विभिन्न अवसरवादसँग सम्झौताहीन लडाइँ लडेर आएको छ; श्रमजीवी जनताको मुक्तिका लागि खटेको छ; अहिले विश्वमै रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन अन्तर्राष्ट्रिय सन्जाल निर्माणमा जुटेको नेतृत्व नगरेर कसले गर्छ ? इतिहासका बासी कुरा गर्ने ? प्रचण्ड भनेको होइन, मोहनले क्रान्ति गर्दैन, १७ हजार मान्छेको रगत होली खेलेर कहाँ पुगे ? सेना बिनाको कम्युनिस्ट हुँदैन भने दिनानाथ शर्माका सेना कहाँ छ्न ? बाबुराम कता छन् । सङ्घीयता नेपालमा आवश्यक छैन भने भाषण दिने डिल्लीराम कहाँ बसेका छन् ?
सबैलाई ज्ञान भएकै कुरा हो, नेकपा (मसाल) को नेतृत्व जुन राष्ट्रियता, जनतन्त्रका साथै कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति सम्झौताहीन वर्गसङ्घर्ष गर्यो, यसबाट अत्तालिएर गरिएको कुप्रचार हो । क्रान्ति कसैको मनोगत चाहना हुने पनि होइन ।
अझै हाम्रो नेतृत्व विश्व कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक पथको शिक्षाबाट पाको र परिपक्व छ । अर्काे पार्टीनीति अहिले दक्षिणी भयो रे ! पार्टीको रणनीति लक्ष्य सातौँ महाधिवेशनको निरन्तर नै हो । तर तात्कालिक कार्यनीति परिस्थितिअनुसार २४ घन्टा बद्लिन सक्छ । पार्टीले वर्तमान र राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई ठिकसँग मूल्याङ्कन गरेर अगाडि बढेको छ । वर्तमानका उपलब्धिलाई संस्थागत गर्दै नयाँ जनवादी आन्दोलनको आधार तयारीको दिशामा आफ्नो गतिविधि अगाडि लगिएको छ । अनि, अनि कसरी पार्टी दक्षिणपन्थी भयो ? हामो नेतृत्वले परिपक्व दीर्घकालीन सोचका आधारमा हरेक निर्णय गर्दै आएको छ ।
अर्काे कुरा नेकपा (मसाल) छोडेर जानेले सबै मसाल दक्षिणपन्थी भयो भनेर गएका छन् । उनीहरू कहाँ छन् ? मैले माथि चर्चा गरिसकेको छु ।
अर्काे आरोप बुढाहरूले हामीलाई बस्न दिएन भनेर रोएको देखिन्छ । यदि बस्न नदिएको हो भने उहाँहरू पार्टीको पिबिएम, सिसिएम विगतमा कसरी हुनुभयो ? पार्टीमा कसलाई बस्न दिने÷नदिने महत्त्वपूर्ण सवाल होइन, पार्टीको विधिविधानअनुसार सबै पार्टीसदस्य पालन गरे कि गरेन ? यसको आधारमा पार्टीले लिने फैसला होला नि । आफ्नो इच्छानुसार भएन भनेर पार्टीको विधिविधान पालन नगर्ने ? अनि भावनात्मक कुरा गरेर हुन्छ ? पार्टीमा कसैलाई बस्न दिने वा नदिने नेतृत्वको इच्छा, चाहनाले होइन कि पार्टी बनाएको विधिविधान र अनुशासन होला नि ! अहिले यो कुरा गर्ने साथीहरू हिजो हामीलाई यही कुरा सिकाएको होइन तपाईंहरूले ? आज तपाईंका महत्त्वाकाङ्क्षा पार्टी पूरा नभएपछि यस्तो अराजनीतिक कुरा गर्न सुहाउछ ?
अहिले पार्टीको नीति र नेतृत्वमाथि लगातार खुला र भूमिगत रूपमा हमला भएको छ । यो हमलाको प्रतिवाद पार्टीका हरेक सदस्य, समर्थक, शुभचिन्तकले गर्नुपर्ने हुन्छ । यसले पार्टी बलियो र क्रान्तिकारी विचारको रक्षा हुन्छ । यही दिशामा अगाडि बढनु आजको आवश्यकता र जिम्मेवारी हो ।