दुर्गानाथ खरेल
आमूल परिवर्तनका लागि गर्ने राजनीति महत्त्वका हिसाबले दोस्रो स्थानमा पर्दछ । पहिलो स्थानमा सिद्धान्त पर्दछ । सिद्धान्तमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र वर्गसङ्घर्ष पर्दछन् ।
तिनीहरूमध्ये सबैभन्दा पहिलो र सबैभन्दा मुख्य द्वन्द्वात्मक भौतिकवाद हो । त्यसका तीन वटा आधारभूत नियम छन् । ती हुन्– विरोधी पक्षबिच एकता र सङ्घर्षको नियम, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को मार्छ भन्ने नियम र निषेधको निषेध नियम । यी नियम प्रकृतिमा, पदार्थमा, जीवनमा, समाजमा, घटनामा र राजनीतिसमेतमा जहाँतही अनिवार्य रूपमा लागु हुन्छन् भन्ने माक्र्सको भनाइ हो । त्यही माक्र्सवादीहरूको मुख्य सिद्धान्त हो ।
अर्को कुरा, राजनीति शास्त्रको अन्त्य अर्थशास्त्रमा गएर हुन्छ भन्ने पनि माक्र्सवादीहरूको मान्यता हो । समाजमा परस्पर विरोधी राजनीतिक संस्थाहरू राजनीतिक पार्टी हुन् । सबैभन्दा धनीले समाजको शासन गर्न पाउनुपर्छ भन्ने काङ्ग्रेस पार्टी हो भने सबैभन्दा गरिबले शासन गर्न पाउनुपर्छ भन्ने कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टीको सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद हो ।
देशमा धेरै कम्युनिस्ट नाम गरेका पार्टीहरू भएको मात्र नभई दुईतिहाइ बहुमतसहितको नेपाल कम्युनिस्ट पार्टीले शासनको बागडोर सम्हालेको छ । उनीहरूले द्वन्द्ववादको वैज्ञानिक नियमलाई आफ्नो अवसरवादी स्वार्थअनुकूल संशोधन गरेर प्रयोग गरिरहेका छन् ।
एकता र सङ्घर्ष, शोषक र शोषित परस्पर विरोधी वर्गका बिच हुने हो । त्यसको सञ्चालक राज्यसत्ता सबैभन्दा ठुलो सङ्गठित रूपको संस्था हो । त्यसकारण शोषितवर्गको सङ्गठित संस्था कम्युनिस्ट पार्टी हो र उसको न्यूनतम कार्यक्रम राज्यसत्ताका विरुद्ध एकता र सङ्घर्षको नीतिबाट जनतालाई सचेत, अनुशासित र आन्दोलित बनाउँदै राज्यसत्ता आफ्नो शोषितवर्गको हातमा पार्ने हो । राज्यसत्ता कब्जा गरेपछि आफूले उद्योगधन्दा राज्यको स्वामित्वमा र जग्गाजमिन सहकारी स्वामित्वमा सामूहिक स्वामित्वअन्तर्गत लगेर सर्वहारा वर्ग उत्पादन गर्दै समाजवाद र साम्यवादको आगमनलाई ख्याल गरेर आफ्नो वर्गसङ्घर्षको काम अगाडि बढाउने हो ।
देश अर्धसामन्ती र अर्धऔपनिवेशिक शासनको अवस्थामा भएको समयमा कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व कायम राख्ने र जनवादी अधिनायकत्व संयुक्त मोर्चामा स्थापित गरेर राज्यसत्तामा आमूल परिवर्तन गरेपछि सर्वहारा वर्ग उत्पादन गर्दै समाजवादतर्फ अगाडि बढ्नका लागि कम्युनिस्ट पार्टी गठन र सञ्चालन गर्ने माओले बताएर छाडेको द्वन्द्ववादको सिद्धान्त हो ।
वर्गसङ्घर्षका लागि वर्ग हुुनुपर्दछ । पुँजीवादको विकास भइनसकेको अवस्थामा सर्वहारा वर्ग पनि उत्पादन भइनसकेको अवस्था हुने हुनाले जनवादी व्यवस्था स्थापना गरेर राष्ट्रिय पु“जीपति र धनी किसानसमेतलाई मित्रशक्तिको रूपमा विश्लेषण गरिएको हो । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा देशीय सामन्तवाद र साम्राज्यवादी विदेशी शक्तिका विरुद्ध सङ्घर्ष गरेर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नका लागि कम्युनिस्ट पार्टी गठन गरेर दलाल र नोकरशाही पु“जीपति वर्गलाई हराउने काम गर्ने भन्ने सिद्धान्त माओले बताएको द्वन्द्ववाद हो ।
वर्गसङ्घर्ष परस्पर विरोधी वर्गबिच हुने सङ्घर्ष हो । वर्गसङ्घर्षका आर्थिक, राजनीतिक र वैचारिक रूपमध्ये राजनैतिक सङ्घर्ष सबैभन्दा मुख्य रूपको वर्गसङ्घर्ष हो । आर्थिक सङ्घर्ष आर्थिक ज्यादती कम गर्ने सीमित प्रकारको वर्गसङ्घर्ष हो ।
वैचारिक सङ्घर्ष राजनीतिक सङ्घर्षलाई सत्ता कब्जा गर्नुपूर्व व्यवस्थित र व्यावहारिक बनाउन तथा राज्यसत्ता कब्जापछि प्रतिगमनबाट बचाउन र व्यवस्थित किसिमले सत्ता सञ्चालन गर्न प्रेरणा दिने सहयोगी वर्गसङ्घर्षको रूप हो ।
राजनीतिक सङ्घर्ष राजनैतिक पार्टीले गर्ने सङ्घर्षको रूप हो । राजनैतिक पार्टीले आफ्नो रणनैतिक उद्देश्य पूरा गर्न कार्यनैतिक उद्देश्य निश्चित गरेर रणनैतिक उद्देश्यलाई सहयोग पुग्ने गरी तात्कालिक रूपमा राजनैतिक गतिविधि सञ्चालन गर्दछ । राजनीति गर्ने वास्तवमा बहुमत सङ्ख्यामा रहेका श्रमजीवी शोषित, उत्पीडित वर्गको मुक्तिका लागि गरिने काम हो । त्यो काम आफ्नो पनि मुक्तिसँग जोडिएको हुनुपर्ने हुनाले वर्गको कुरा गरिएको हो । राजनीति एउटा वर्गको मान्छेले अर्को र अझै विरोधी वर्गको मुक्तिका लागि गरिदिने काम होइन । त्यस्तो काम त शोषक वर्गले समाज सेवाका नाममा शोषणलाई तीव्र बनाउने काम गर्छन् र गरिरहेका पनि छन् ।
द्वन्द्ववादको दोस्रो नियम मात्रात्मक परिवर्तनले गुणात्मक फड्को मार्छ, मात्रात्मक परिवर्तन नभई गुणात्मक फड्को हुन नसने र गुणात्मक फड्को नभई नयाँको अस्तित्व हुन नसक्ने भन्ने त्यसको अर्थ हो ।
नाम कम्युनिस्ट पार्टी राख्ने, त्यो कम्युनिस्ट पार्टी सत्तामा जानका लागि जनताको चेतना उठाउन, उनीहरूलाई अनुशासित र आन्दोलित बनाउनतिरभन्दा सत्तासिन वर्ग, जनताका दुस्मनशक्तिसँग सम्झौता गरेर शासकको हैसितमा सरकारमा गएर पनि आफूलाई कम्युनिस्ट पार्टी नै भन्ने; वर्गसङ्घर्षलाई आफ्नो नीति पनि बताउने तर उद्देश्य व्यक्तिगत स्वामित्वमा पुँजी थपेर शोषकको हैसितमा रहने बनाउने—यो सबै काम जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउनेबाहेक अरू केही पनि होइन । वर्गसङ्घर्षबाट जनतालाई सचेत बनाएर सत्तासिन भएको हो भनेर त्यो काम राज्यसत्तामा आमूल परिवर्तन भएको र वर्तमानमा सामूहिक स्वामित्वमा संस्था स्थापित गरेको उदाहरण दाबीका साथ भन्न सक्ने ठाउँ छैन । अनि, द्वन्द्ववादअनुसार आफू प्रतिनिधि भएको वर्ग बताउँदा अवसरको फाइदा उठाएकोभन्दा बढी कुनै जवाफ हुन सक्दैन : न त मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को मारेको हुन सक्छ; न त सत्तासिन भएपछि मात्रात्मक परिवर्तन गरएर गुणात्मक फड्कोको तयारीमा रहेको कुरा नै मिल्छ । जनतालाई सकेसम्म झुक्काउने, जनताले आफू सचेत भई प्रश्न तेर्साउन थालेपछि आफ्नो पार्टीको नाम परिवर्तन गर्नेबाहेक अर्को उपाय छैन ।
चुनावमा बहुमत ल्याउने तरिका बुर्जुवा तरिका हो । साँच्चै जनताको मत जितेर बढी मत पाउने भए उनीहरूलाई संशोधनवादी र अवसरवादी भन्न जरुरी थिएन । उनीहरू वास्तवमा नै जनताका प्रतिनिधि नै हुने थिए र क्रान्तिकारीहरूले समेत नेता स्वीकार्नुपर्ने थियो । तर चुनावको प्रचार प्रसार गर्ने र मतमा जित्ने तरिका सही छैन । जनताको करको रकममा आफ्नो पहुँच पु¥याएर मनपरी विकास निर्माणका योजना बाँड्ने र पैसा बाँड्ने सही तरिका होइन । जनताको चेतनास्तर निम्न भएको अवस्थाबाट फाइदा उठाएर साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर बहुमतमा निर्वाचित हुने तरिका सही होइन । जनताका सचेत प्रतिनिधिले सचेत पार्दै जाँदा तिनीहरू असफल हुने छन् ।
द्वन्द्ववादको तेस्रो नियम निषेधको निषेध नियम हो । यसको अर्थ नयाँले पुरानोलाई निषेध गरेर आफ्नो अस्तित्व स्थापित गर्छ भन्ने हो । नयाँ यसकारण भनिएको हो– उसको जीवनशक्ति बढी हुन्छ । उसमा पुरानोको भन्दा नयाँ, उच्चस्तरको र प्रगतिशील गुण भई समयानुसार जीवन क्षमता बढी हुन्छ भनेको हो । त्यति मात्रै होइन, पुरानाका असल गुण समेटेर श्रेष्ठता हासिल गर्छ भनेको हो । आफू उदीयमान शक्ति हुनलाई आफूलाई प्रगतिशील गुण भएको हुनुपर्दछ, तब मात्र पुरानोको निषेध सम्भव हुन्छ ।
आफैले अवसरको फाइदा उठाउन प्रयत्न गर्ने र प्रगतिशील गुण हुने एउटै कुरा होइन । अवसरको फाइदा उठाउन प्रयत्न गर्ने चरित्र प्रतिगामी पनि हुन सक्छ । प्रतिगामी चरित्रको रहस्य पत्ता लागेपछि त्यो शक्ति सधैँका लागि विस्थापित हुने अवस्था पनि आउन सक्छ । त्यो पनि निषेध त हुने भयो; तर त्यो प्रतिगमन वा प्रगतिशील दिशा पक्रन नसकेको बाङ्गोटिङ्गो बाटोमा भएको परिवर्तन हो । इतिहासले त्यो शक्तिलाई धिक्कार्ने छ ।
समाजवाद र नयाँ जनवाद स्थापना गर्न सञ्चालन गरिने आन्दोलन प्रगतिशील आन्दोलन हुन् । समाजको अन्धविश्वास, अर्धसामन्ती र पुँजीवादी व्यवस्था आदि सबैभन्दा उच्चस्तरको प्रगतिशील चेतनाले सर्वहारा विश्वदृष्टिकोणको आधारमा ती प्रगतिशील चरित्र विरुद्धको आन्दोलन नभई नयाँ जनवादी व्यवस्थाका लागि विजय हासिल गर्न सकिन्न । द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्षको सिद्धान्त, इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद, साम्यवाद—माक्र्सवादका पाँच वटा मान्यता क्रान्तिकारीका आधारभूत मान्यता हुन् ।
यिनै मान्यतासहित सर्वहारा वर्गीय विश्वदृष्टिकोण भएका नेतृत्वले प्रतिगामी र अवसरवादीको आन्दोलनलाई निषेध गर्ने हो । प्रगतिशील मान्यतासहितको आन्दोलन विजयी भई नयाँ जनवादी व्यवस्था स्थापना हुने हो । व्यक्तिगत स्वामित्वमा सम्पत्ति थप्ने उद्देश्यसहितको व्यवस्था त १० हजार वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको प्रतिगामी व्यवस्था हो । त्यसका लागि उठाइने आन्दोलन प्रतिगामी र अवसरवादीले गर्दै आएका छन् । त्यो त कुनै नयाँ र प्रगतिशील आन्दोलन होइन; तर द्वन्द्ववादको निषेध सिद्धान्तलाई अवसरको रूपमा उपयोग गर्ने र जनताको पिछडिउको चेतनाबाट फाइदा उठाउनलाई प्रयोग गर्ने भनेर भनिएको होइन । यदि त्यस्तो अभ्यास भइरहे इतिहासले त्यसका बाहक शक्तिलाई निषेध नगरी छाड्ने छैन ।
समाजका सर्वसाधारण श्रमजीवी जनताको विश्वदृष्टिकोण प्रतिक्रियावादी किसिमको हुन्छ । उनीहरूले देवता मान्छन्; धर्म मान्छन्; राजा मान्छन्; धनीलाई सम्मान गर्छन् र उनीहरूको चरित्रको नक्कल गर्छन् । नेतालाई पनि मान्छन् । समग्रमा उनीहरूको मुक्ति अरूले नै गर्दिन्छन् भन्ने मान्यतामा विश्वास गर्छन् । आफ्नो मुक्ति आफैले गर्नुपर्छ; एक्लै नहुने भएकाले सङ्गठित भई एउटा मुक्तिदाता सदस्यको हैसियतमा आफ्नो जिम्मा पूरा गर्नुपर्छ । मुक्ति वर्गको सङ्गठित प्रयत्नबाट प्राप्त गर्न सकिन्छ । यस्ता विषयमा उनीहरूको दृटिकोण बनेको हुन्न । भाग्य, स्वर्ग, अर्को जुनी र अघिल्लो जुनीमा विश्वास गर्छन् । त्यसकारण सर्वप्रथम उनीहरूको चिन्तनमा भएका कमजोरी हटाइदिनुपर्छ । उनीहरूले दैनिक जीवनमा गर्ने काममा विश्वास गराएर भविष्यप्रति आशावादी बनाउन सक्नुपर्छ । आफूले श्रमजीवी वर्गको मुक्तिका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ र त्यसैका लागि काम गर्नुपर्छ । काम गर्न सकिन्छ भन्ने उच्च मनोबलको विकास गराउनुपर्छ । यो कामका लागि द्वन्द्ववादी दार्शनिक सिद्धान्तको बारेमा थोरै भए पनि जानकारी गराउन आवश्यक छ । त्यसका लागि राजनैतिक पार्टीका कार्यकर्ताले द्वन्द्वात्मक भौतिकवादको बारेमा जान्नैपर्छ ।
कम्युनिस्ट पार्टी राजनैकि कार्यकर्ताको आधारमा सञ्चालन हुने पार्टी हो । त्यो पार्टीले जनताको पक्षमा काम गर्ने भए पनि सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य भई जिम्मा पूरा गर्न सक्दैनन् । जनताको भन्दा उच्च चेतनास्तर भएका र अनुशासन पालना गर्न सक्नेलाई पार्टीका कार्यकर्ता बनाएर जनताको चेतनास्तर राजनैतिक हिसाबले उच्च बनाउनुपर्छ ।
अर्को कुरा, माक्र्सले वर्तमान राज्यसत्ता पुँजीपतिको कारोबार चलाउने समितिबाहेक केही होइन भनेकाले कम्युनिस्ट पार्टी पनि क्रान्तिकारीको कारोबार चलाउने समितिबाहेक केही पनि होइन भन्ने अर्थ लगाउन अप्ठेरो पर्दैन । क्रान्तिकारीको कारोबार चलाउने समितिले जनताको चेतनास्तर माथि बनाउन राजनैतिक लेखरचना भएको पत्रिका बेच्ने, किताब बेच्ने, आफैले अध्ययन गर्ने, प्रशिक्षण लिने, जनताका पक्षमा गीत जनताका बिचमा पुराउने, भाषण, प्रशिक्षण, गीत, नाच आदि विभिन्न कामद्वारा जनताको राजनैतिक स्तर माथि उठाउने काम मात्रै क्रान्तिकारी काम हो ।
इतिहासको निर्माता जनता हुन् । जनता सचेत सङ्गठित र आन्दोलित नभइकन राज्यसत्तामा आमूल परिवर्तन सम्भव हुन्न । आमूल परिवर्तनपछिको क्रान्तिकारी राज्यसत्तामा प्रतिगमन हुन नदिन पनि जनताकै खबरदारीको आवश्यकता पर्दछ ।
अहिलेसम्मका सबै व्यवस्थामा बहुमत जनताको सहयोग र समर्थन भएर नै टिकेका हुन् । हाम्रो राजतन्त्र पनि जनता १९ दिनसम्म सडकमा नउत्रेको भए हट्ने थिएन । ऊ सेना नभएर, पुलिस नभएर, कर्मचारी नभएर, नेता नभएरभन्दा पनि जनता नभएर मात्रै हटेको हो ।
वर्तमान व्यवस्थाको विकल्पमा जनवादी व्यवस्था स्थापित गराउन पनि जनताले सडक तताउनैपर्छ । त्यसकारण जनतालाई सचेत, सङ्गठित, अनुशासित र आन्दोलित बनाउन क्रान्तिकारीले काम गर्नैपर्छ । जनताको निर्णय आफूले गरेर हुन्न, उनीहरूले नै गर्नुपर्छ; बरु जनताको निर्णय गर्ने क्षमतामा विकास गराउनुपर्छ । त्यसका लागि दर्शनको र राजनैतिक चेतनास्तरको विकास गराउनु पर्छ । राजनैतिक चेतनास्तर माथि भएपछि मात्र जनता अन्दोलनमा, सडकमा उत्रन्छन् र आमूल परिवर्तनमा सहभागी हुन्छन् ।
राजनैतिक चेतनास्तर निम्न भएकै कारणले अठारौँ शताब्दीमा अन्त्य हुनुपर्ने राजतन्त्र हटाउन एक्काइसौँ शताब्दीसम्म पर्खनुपरेको हो । अब पनि हामीले जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन नकस्सिने हो भने जनवादी व्यवस्थाका लागि धेरै शताब्दीसम्म कुर्न वा पर्खनुपर्ने छ ।
राजनैतिक कार्यकर्ताका अगाडि दुई वटा विकल्प हुन्छन् : ती दुई विकल्पमध्ये धेरै राजनीतिक कार्यकर्ताले जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउँदै आफू धनी र नेता दुवै बन्ने विकल्प रोज्दछन् । त्यो धेरै अवसरवादी राजनीति गर्नेको विकल्प हो । दोस्रो र महत्त्वपूर्ण विकल्प जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने हो । यो विकल्प किन महत्त्वपूर्ण छ भने धेरै पुस्तादेखि शोषणको मार खप्दै आएका जनता सचेत, सङ्गठित र अनुशासित भएपछि मात्र राजनीतिको बाटो अगाडि बढ्छ । त्यसका लागि द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो देशको राजनीतिमा प्रयोग गर्नुपर्छ । त्यो भनेको राजनैतिक कार्यकर्ताले बुझ्नु पर्छ कि आफ्नो समाजमा अन्तरविरोध के हो र कसरी अन्तरविरोधको समाधान हुन सक्छ ?
अन्तमा समस्याको समाधान राजनैतिक हुनुपर्छ र राजनीतिमा जनता सहभागी हुनुपर्छ । त्यसैले दर्शनको अध्ययन र अध्यापन गर्नु गराउनु पहिलो आवश्यकता हो ।
जनताले राजनीति राजनीतिक कार्यकर्ताको व्यवहारबाट सिक्दछन् । राजनीतिक कार्यकर्ता राजनीतिक नेतृत्वको मातहतमा हुन्छन् । त्यसकारण राजनीतिक कार्यकर्ताको चेतनास्तर उच्च बनाउन राजनैतिक नेताले आफ्ना कार्यकर्ता र जनताबिच दर्शन, राजनीति र सङ्गठन तीन वटै पक्षमा सचेत पारेर अनुशासित बनाउनुपर्छ । सर्वसाधारण जनता समर्थक हुने हो र कार्यकर्ता उत्साहका साथ जनताका बिचमा जाने हो । पार्टीको भन्दा पनि वर्गको संस्था कम्युनिस्ट पार्टी भएकाले पार्टीभित्रका सर्वहारा वर्ग र पार्टीबाहिरका सर्वहारा वर्गबिच सुमधुर सम्बन्ध कायम गर्नुपर्छ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्व भएको पार्टी भएको र त्यसमा धेरै निम्न पु“जीपति वर्गका व्यक्ति र निम्न पुँजीपति वर्गका प्रतिनिधिसमेत हुने भएको हुनाले पार्टीको अधिनायकत्व सम्भव हुन्न । पार्टीको अधिनायकत्व नभएपछि बाध्य भई जनवादी अधिनायकत्व कायम गरिनुपर्छ; तर सर्वहारा वर्गले आफ्नो अधिनायकत्वअन्तर्गतको पार्टीमा जनवादी अधिनायकत्व कायम गराउने क्षमताको प्रदर्शन गर्नैपर्छ ।
कम्युनिस्ट पार्टी द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो समाजमा लागु गराउने जनताको प्रतिनिधि संस्था हो । त्यसकारण कम्युनिस्ट पार्टीको कार्यकर्ताले आफूलाई केन्द्रमा राखेर होइन कि जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । त्यसकारण द्वन्द्वात्मक भौतिकवाद अध्ययन गरेर समाजमा आमूल परिवर्तनका लागि जनतालाई बदल्न सक्नुपर्छ । त्योभन्दा कठिन आफूलाई बदल्न हुन्छ । आफूलाई बदल्न आफैले अध्ययन गर्नुपर्छ । जनताबाट आफूले सिक्ने; एकातिर, माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको अध्ययन गर्ने; अर्कोतिर, दुवै काम काम गर्नुपर्दा अप्ठेरो हुन्छ । यी दुवै काम उत्तिकै महत्त्वपूर्ण छन् । जनताको बिच जान नसक्ने व्यक्ति कम्युनिस्ट पार्टीको कार्यकर्ता हुन सक्दैन । जनताको जितलाई आफ्नो जित मान्ने र जनताको शोषणमा आफ्नो चिन्ता हुने व्यक्ति कम्युनिस्ट पार्टीको कार्यकर्ता हो । आफ्ना समस्या श्रम गरेर नै समाधान गर्ने र आफ्नो श्रमले जनताको विश्वास जित्ने दुवै उत्तिकै आवश्यक भएकाले श्रमजीवी वर्गको मुक्तिको दर्शन द्वन्द्वात्मक भौतिकवाद राजनीतिमा प्रयोग गर्न जरुरी छ ।