काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बझाङकी १२ वर्षीया बालिका सम्झना कामीका परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सम्झनाका परिवारलाई दिने सो रकम जिल्ला प्रशासन कार्यालय बझाङको खातामा प्राप्त भएको प्रशासनले जनाएको छ ।
सरकारले आर्थिक सहायता दिने भएपछि सम्झनाका परिवारले बालिकाको शव बुझेका छन् । मस्टा गाउँपालिका २ खिकालाकी सम्झानाको बलात्कारपछि हत्या गरेको अवस्थामा गत बुधबार मन्दिरमा शव फेला परेको थियो । वस्तु बाँध्न घरभन्दा आधाघण्टा टाढा रहेको गोठमा गएकी सम्झना नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए । त्यस क्रममा गोठ नजिकैको मन्दिरमा उनको शव फेला परेको थियो।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ । उनीविरुद्ध सम्झनाका परिवारले किटानी जाहेरी दिएका छन् । बोहराले यसअघि पनि गाउँकै १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको र त्यो घटना गाउँमै गुपचुप मिलाइएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नु होस्:
बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या, दोषीमाथि कारबाही गर्न माग