पुष्कर भट्ट, कञ्चनपुर ।
बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीय एक बालिकाको बलातकार पछि हत्या भएको छ । स्थानीय मष्टा आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने सम्झना कामीको हत्या गरिएको अवस्थामा नग्न शव फेला परेको हो ।
गाउँभन्दा झण्डै आधा घण्टाको पैदल दुरीमा रहेको सिममाडौँस्थित गोठमा वस्तुभाउ बाँध्न गएकी सम्झना राति अबेरसम्म पनि नफर्किएपछि खोजी गर्दा गोठ नजिकैको शिवमन्दिर छेउमा मृत भेटिएकी स्थानीयले बताएका छन् ।
उनी बिहानै गोठमा पुगेर वस्तुभाउ खोलेर चराउने र साँझ गोठमा बाँध्न जाने गर्थिन् । कोरोना संक्रमणको त्रासका कारण विद्यालय बन्द भएपछि वस्तुभाउ चराउने उनकौ दैनिकी नै बनेको थियो ।
वस्तुभाउ गोठमा हुलेर रात नपर्दै घर पुग्ने छोरी रात पर्दासमेत नआएपछि बालिकाका बुवाआमा तथा छिमेकीले खोजी गरेका थिए । त्यसक्रममा बुधबार उनको शव अनुहारभरी घाउचोट लागेको अवस्थामा मन्दिर परिसरमा फेला परेको हो ।
शव फेला परेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले सम्झनाको बलात्कार पछि हत्या भएको देखाएको छ । मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि घटना बारे थप खुल्ने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।
घटनाको अनुसन्धानका लागि स्थानीय १८ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा हो । प्रहरीका अनुसार मृतक सम्झनाका हजुरबुवा गोरख कामीले बोहराविरुद्ध जाहेरी दिएका छन् ।
विद्यार्थी संगठनद्वारा दोषीमाथि कारबाहीको माग
यसैबीच सूदुरपश्चिमका क्रियाशिल विद्यार्थी संगठनले घटनामा संलग्नलाई कारर्वाहीको माग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेकाले दोषीलाई कारवाहीही गर्न माग गरेका हुन् ।
अखिल (छैठौं) का सुदूरपश्चिम सदस्य पुस्कर भट्ट, अनेरास्ववियूका केन्द्रीय सदस्य भीम भट्ट, नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी, अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक बिरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सुदूरपश्चिम इन्चार्ज उमेश विष्ट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन साउँदद्वारा जारी विज्ञप्तिमा दोषीमाथि कडा कारवाहीको माग गरिएको छ ।