तिलक सुवेदी
यथास्थितिको विरुद्धमा
सामन्तवादको विरोधमा
संसार र समाज बदल्न
फुक्ने बिगुल फुक्दाफुक्दै
प्रगतिशील र क्रान्तिकारी
परिवर्तनकारी बनेछौँ
शान्तिका लागि क्रान्ति
अर्थात्
क्रान्तिपछिको शान्तिका लागि
यहाँ कैयन् अभागी वीर बने
बन्नुपर्ने देशकै, तर पार्टीका सहिद बने
देख्दादेख्दै यो दृश्य
बुझ्दाबुझ्दै यो रहस्य
केही साथी फेरि छिर्के खेल्दै छन्
हो, छिर्के !
त्यो पनि क्रान्तिकारिताको
आफू हिँड्दै गरेको बाटोको विरुद्ध
नयाँ मार्ग बिना—पुरानो पारेर अवरुद्ध
नवाधार विना नै—भएको बनाएर ध्वस्त
अराजक, अनुशासनहीन र चरित्रहत्या
यही हो तिम्रो क्रान्तिकारिता ?
फेरि
एउटा इँटा थप्यौ साथी
क्रान्ति विरोधी क्रान्तिकारितामाथि
गोटी बन्यौ या नजानिँदो कठपुतली
कुण्ठाले कुण्ठित भई—स्वयम् भूमिकै भुल्यौ कि
महत्त्वाकाङ्क्षान्धो भएर—मपाईंत्व बजारियो कि
तर, जे होस्
बाह्य प्रभाव गौण—आन्तरिक प्रधान
त्यसैले तिमीभित्रै छ साथी समाधान
सही क्रान्तिकारिताको मार्ग अपनाऊ
अनि क्रान्तिकारी जीवन सार्थक बनाऊ ।