भक्तबहादुर विश्वकर्मा
हजारौँ सहिदको रगतले
मुक्तिगामी आन्दोलनबाट
निमुखा, सर्वहारा मजदुर,किसानहरू
उत्पीडित र उपेक्षित वर्गको राज्यसत्ता
ल्याउँदैछौँ भन्दै
यहाँ निद्राको गाथा
अब सुनाउनुपर्ने छैन
अब भोकालाई गाँस
निहत्या जनताको घाउमा मलमपट्टी
बेरोजगारलाई एक थान रोजगारी
अनि
रोगीलाई औषधि ल्याइदिन्छौँ
भन्दै भोट मागेर
हामीलाई उल्लु बनायौ
किन दलाल, भ्रष्टाचारी माफिया र तस्करीसँग
दौतरी गाँस्यौँ मितेरी लगायौ ?
नातावादलाई र कृपावादलाई प्रसय दियौ किन ?
तिम्रा क्रान्तिकारी नारा बिर्सियौ किन ?
तिम्रा विधान र घोषणापत्र
कता जलायौ ?
किन पचायौ लाज
किन बिक्यौ प्रतिक्रियावादीको ऐसआराममा
प्रिय क्रान्तिकारी मित्रहरू
कहाँ पठायौ तिम्रा जनसरकार, जनअदालत
तिम्रा आडम्रीब र खोक्रा रणनीति र कार्यनीति
खै तिम्रा जनवादी समाजवादी दस्तावेज
खायौ सहिदका सपना
पचायौ जनताका पसिना
लुट्यौ दलित र गरिबका आकाङ्क्षा
प्रिय क्रान्तिकारी कामरेडहरू
तिम्रा लाज ढाक्ने टालो
आफै किन च्यात्यौ ?
सहिदहरुको खेती गरी
सत्तामा जाने भर्याङ किन बनायौ
राष्ट्रघात र भ्रष्टचारलाई प्रसय दियौ किन ?
वर्गविहीन समाज निर्माण गर्छौ भन्दै
पुँजीवादको काट्टो खायौ किन ?
माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई
माओवाद बनायौ किन ?
सत्ता र स्वार्थमा नीतिलाई बदल्यौ किन ?
नक्कली माक्र्सवादीले
सक्कलीलाई बेइज्जती गर्यौ किन
विकास गर्न नसक्नेले
विनासको बाटो बनायौ किन ?
समानताको झ्याली पिट्दै
गरिबको घाउमा नुनचुक छक्र्यौ किन
लुटेरा नै बन्ने रहेछौ, त्यसमाथि
चन्दाआतङ्क गर्यौ किन ?
तिम्रा लाल किल्ला भन्ने ठाउँबाट
लालआतङ्क मच्यायौँ किन ?
साम्राज्यवादी सामु घुडा टेक्ने थियौ भने
झुटा र आडम्रीब चरित्र देखायौ किन ?
प्रिय क्रान्तिकारी कामरेड
आफू त दक्षिणपन्थी बाटोमा पस्यौ भासियौ
वास्तविक क्रान्तिकारीलाई
बेइज्जत गर्यौ किन ?
गरिब र निमुखालाई
झन्पछि झन् ढाड सेक्यौँ किन ?
सत्रुको हाँसो गराउनु नै थियो
भने आफ्नो नौटङ्की चलायौ किन ?