काठमाडौं । कोरोना भाइरसको संक्रमणका विदेशमा थप २१ नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको छ । शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् । तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार,आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन्।
कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।
७८ हजार ३ सय ४३ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।
हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।