दुर्गानाथ खरेल
दर्शन भनेको प्रकृति, मानव समाज, मानव चिन्तन र मानवज्ञानका प्रकृयाहरूको सामान्य नियम बताउने विज्ञान हो । यो सामाजिक चेतनाका रूपमध्ये एक हो । आखिरमा यसले समाजको आर्थिक सम्बन्ध निर्धारित गर्दछ ।
सबैभन्दा पहिले पाइथागोरसले ‘फिलोसोफी’ शब्द उपयोग गरेका थिए । यसलाई विशेष विज्ञानको रूपमा अफलातुनले विकसित गरेका थिए ।
दर्शनको उत्पत्ति हुँदा दासव्यवस्थाअन्तर्गतको समाजमा वस्तुगत जगत् र आफ्नो विषयमा मान्छेले प्राप्त ज्ञानलाई समग्रतामा एक्यबद्ध गरेको थियो । मानव इतिहासको प्रारम्भिक अवस्थामा उसले प्राप्त ज्ञान निम्नस्तरको भएका कारणले त्यसो हुन स्वाभाविक पनि थियो । सामाजिक उत्पादनको विकास र वैज्ञानिक अविष्कार हुँदै जाँदा विभिन्न ज्ञानका शाखा दर्शनबाट अलग हुँदै गए । त्यसै सिलसिलामा दर्शन पनि स्वतन्त्र विज्ञानको रूपमा विकसित हुँदै गयो ।
प्रकृतिको विषयमा सामान्य दृष्टिकोण बनाएर त्यसबारे अध्ययन गर्दै जाने सिलसिला अगाडि बढ्यो । प्रकृतिका सामान्य विषयमा त्यसका नियमको जानकारी लिने काम गर्दै गए । वास्तविकताको विषयमा तर्कबुद्धिसहित सोचविचार गर्ने, तर्कबुद्धिसङ्गत हुने गरिका पत्ता लगाउने गर्दै तर्क र ज्ञानको सिद्धान्त विकसित गर्दै गए । त्यसैको आवश्यकता महसुस गर्ने सिलसिलामा दर्शनको जन्म विज्ञानको रूपमा भएको हो ।
दर्शनलाई छुट्टै विज्ञानको रूपमा राख्न चिन्तन र सत्य तथा पदार्थ र चेतनाको सम्बन्ध नै मुख्य समस्या हुन् । हरेक दार्शनिक प्रणालीले यिनै समस्यालाई ठोस रूपमा प्रस्तुत गरेर समधान गर्न चाहन्छ । तर यी आधारभूत प्रश्नमा भौतिकवाद र आदर्शवाद परस्पर विरोधी कित्तामा रहन्छन् । त्यसकारण सिधै समाधान हुन सक्दैन । भौतिकवाद र आदर्शवादबिचको सङ्घर्षले दर्शनको पुरै इतिहासमा आआफ्नो वर्गीय छाप लगाउँछन् ।
समाजमा परस्पर विरोधी वर्ग उपस्थित भएको हुनाले एकरूपता हुन सक्दैन । दुवैले आआफ्नो परस्पर विरोधी हितअनुसार विश्लेषण गरेर प्रस्तुत हुन्छन् । यो सङ्घर्ष समाजको विकासमा वर्गको आर्थिक राजनीतिक र विचारधारात्मक हितसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।
दर्शनको विकासको फलस्वरूप धेरैथोरै तटस्थ रूपमा छुट्टै रूपको विवादसहित सत्ताविज्ञान, ज्ञानको सिद्धान्तशास्त्र, नीतिशास्त्र, सौन्दर्यशास्त्र, मनोविज्ञान, समाजशास्त्र तथा दर्शनको इतिहास खडा हुन्छन् । ठोस ज्ञानको अभाव देखिएका कारण दर्शनले आफू अरू सम्पूर्ण विज्ञानमाथि खडा भएर आफूलाई विज्ञानको पनि विज्ञानको रूपमा परिणत गर्ने प्रयत्न गर्दछ । त्यसैले दर्शन प्रकृतिको सम्बन्धमा प्रकृतिको दर्शन र इतिहासको सम्बन्धमा इतिहासको दर्शन भई आफूलाई खडा गर्छ ।
यस सिलसिलामा अन्तिम प्रणाली हेगेलको दर्शन थियो । त्यसपछि ज्ञानको सञ्चय र विभेदीकरण हुँदै जाँदा विज्ञानको पनि विज्ञानको रूपमा दर्शनले आफ्नो अस्तित्व उच्च बनायो । त्यसका साथै पहिलेका आधार मेटिँदै गए । माक्र्सवाद–लेनिनवाद अथवा द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादले विशेष विज्ञानको रूपमा दर्शनको आधुनिक रूपधारण गरेको हो ।
यसले भौतिकवादी सिद्धान्तको द्वन्द्वात्मक दृष्टिकोणबाट उपयोगी बनायो । द्वन्द्वात्मकतर्फको रचना गरेर विकास गर्दै वस्तुगत जगत् र चिन्तनसमेतमा सही तरिका प्रयोग गरी उपयोगी गरायो । तर्कप्रणालीको माध्यमबाट सम्पूर्ण मावन अनुभवद्वारा जानकारीमा आएका प्राकृतिक तथा सामाजिक–ऐतिहासिक प्रकियाको विकसित रूप र त्यसको नियम मान्दै माक्र्सवादी दर्शनले सत्ताविज्ञान, तर्कशास्त्र र ज्ञानसिद्धान्तबिचको अन्तर मेटाइदियो । द्वन्द्ववाद, तर्कशास्त्र र ज्ञानको सिद्धान्त द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारभूत सिद्धान्त हुन् । स प्रकार माक्र्सवादको दार्शनिक सिद्धान्त दर्शनको आधारभूत प्रश्नको ठोस रूपमा विकसित द्वन्द्वात्मक भौतिकवादी समाधान हो ।
आफ्नो भूमिका, विषयवस्तुको ज्ञान र मानव संस्कृतिको प्रगति हुनेमा आधारित हुने हुनाले दर्शन मान्छेको ज्ञान र व्यवहारको बढी विकासमा सक्रिय कारक तत्त्व हो । दर्शनको यो बुझाइले उसको भाग मनोविज्ञान, नीतिशास्त्र, सौन्दर्यशास्त्र आदि बढीभन्दा बढी मात्रामा स्वतन्त्र विज्ञान बन्दै जान्छन् । तिनीहरूले परम्पराका कारणलाई दर्शनको अंश मान्दछन् ।
वर्तमान समाजमा दर्शन विरोधी धारा अन्र्तनिहित हुन्छन् । तिनीहरूले दर्शनको समस्यालाई झुटा समस्या घोषित गर्दछन् । द्वन्द्वात्मक भौतिकवादले नै विश्वदर्शनको सर्वोत्कृष्ट परम्परालाई जारी राख्दछ । त्यसैले द्वन्द्वात्मक भौतिकवादी तरिका विज्ञानको रूपमा दर्शनलाई विकास गर्ने एक मात्र सही बाटो हो ।
एङ्गेल्सको भनाइअनुसार “द्वन्द्वात्मक दर्शनका लगि कुनै पनि वस्तु, अन्तिम, निरपेक्ष र शाश्वत हुँदैन । यसले हरेक वस्तुमा वस्तुको परिवर्तनशील गुण प्रदर्शन गर्दछ । यसका अगाडि निम्न अवस्थाबाट माथितिर उक्लने अन्तहीन विकासक्रम, उत्पत्ति तथा विनासको अविरल प्रकृयाको अलावा अरू कुनै दोस्रो चिज टिक्न सक्दैन । यो स्वयम् पनि चिन्तनशील मस्तिष्कमा यस प्रकृयाको प्रतिबिम्ब मात्र हो ।”
यो भनाइलाई मनन गर्दा द्वन्द्वात्मक भौतिवादले प्रकृति, घटना, मानव समाज र मानव चिन्तन सबैलाई निरन्तर विकास भई निम्न अवस्थाबाट उच्च अवस्थातिर गतिशील भइरहने प्रक्रियाको रूपमा लिन्छ । त्यसो गर्दा ती वस्तुहरू पहिलेको अवस्थामा रहन सक्दैनन्; स्थिर हुन पनि सक्दैनन्; निश्चित चक्रमा घुमिरहन पनि सक्दैनन्; निरन्तर गतिको अवस्थामा र निम्न अवस्थाबाट उच्च अवस्थातिरको गन्तव्यमा अगाडि बढ्छन्; सधैँभरि नयाँ नयाँ र उच्च अवस्थाको स्थिति देखा पर्दै जान्छ ।
दर्शन स्वयम् सैद्धान्तिक प्रश्न भएकाले मानव मस्तिष्कमा निरन्तर गतिको छाप पारेपछि मानव व्यवहारमा पनि त्यसैअनुसार गतिशील भई अगाडि बढ्ने क्रम निरन्तर रहन्छ । हरेक वस्तु र घटना अस्तित्वमा आउँछन् । तिनीहरूमा विकास हुन्छ; परिवर्तन हुन्छ र त्यो अस्तित्वको विनास पनि हुन्छ । त्यसैबाट नयाँ अस्तित्व सुरु भई गतिशील पनि हुने गर्दछ । यो निरन्तरको प्रकृया हो । भइरहेको अस्तित्वमा परिवर्तन नयाँ अस्तित्वद्वारा पुरानोको विस्थापन, फेरि त्यसैबाट आफैलाई विस्थापन गर्ने नयाँको विकास गर्दै निरन्तर प्रकृयामा रहन्छ । त्यही प्रक्रियाको छाप मानव मस्तिष्कमा पर्ने हुनाले मानव चिन्तन पनि निरन्तर परिवर्तन र विकासको स्थितिमा रहन्छ ।
आधुनिक प्रकृति विज्ञानले द्वन्द्ववादलाई उन्नत बनाउन मूल्याङ्कन सामग्री दिएको छ । त्यसको परीक्षणका लागि आवश्यक सामग्री प्रकृतिमा प्रत्येक दिन बढिरहेका छन् । तिनीहरूको विश्लेषण गर्दा थाहा हुन्छ, प्रकृतिको प्रक्रिया द्वन्द्वात्मक अधिभूतवादी छैन ।
द्वन्द्ववादले विश्वलाई तयारी वस्तुको पूर्णताको रूपमा नभएर प्रकृयाको पूर्णताका रूपमा ग्रहण गर्दछ । प्रकृतिमा स्थायी र स्थिर हुने कुनै वस्तु हुँदैनन् । सम्पूर्ण विश्वमा नयाँको उत्पत्ति र पुरानोको नास भइरहेको हुन्छ । बाह्य जगत्मा पदार्थको अस्तित्व स्वतन्त्र रूपको र चेतनाभन्दा भिन्न रूपले अस्तित्ववान छ । यही मान्यता भौतिकवादको आधार हो ।
मानिसले यो आधार व्यवहारबाट सृजना ग¥यो । उत्पादन प्रक्रियाको लामो शृङ्खलामा काम गर्दै जाँदा मानिस आफ्नो वरिपरिको प्रकृतिको सम्पर्कमा रहयो । प्रकृतिमाथि काम गरेर त्यसलाई बदल्न थाल्यो । खानेकुरा जुटाउने, आफू सुरक्षित बस्ने ठाउँ बनाउने काम गर्दा प्रकृतिलाई आफ्नोअनुकूलको स्थितिमा परिवर्तन गर्न थाल्यो । आफ्नो अभिरुचिअनुसार प्रकृतिलाई आफूअनुकूल बनायो । त्यसो गर्दै जाँदा मानिसले प्रकृतिका बारेमा अध्ययन गरेर त्यसलाई वस्तुगत अस्तित्वमा भएको कुरा आफूले विश्वास ग¥यो । जीवन र सङ्घर्षको आवश्यकतामा मानिसले पदार्थको वास्तविकता र यसका नियमबारे चिन्तन गर्न सुरु ग¥यो । उसले भौतिकवादको सच्चाइ प्रमाणित ग¥यो । आफ्नो सङ्घर्षमा आवश्यक पर्ने बौद्धिक साधनको रूपमा भौतिकवादी दर्शन पत्ता लगाएर त्यसबारे आवश्यक जानकारी थप्दै गयो ।
प्रकृतिका सबै वस्तु र घटना अपरिवर्तनीय छैनन् भन्ने कुरा हाम्रो दैनिक अनुभव, विज्ञानको विकास तथा सामाजिक–ऐतिहासिक व्यवहारले पुष्टि गर्दछ । भौतिक जगत्को विकास प्रकृयामा नै मानिस स्वयम्को पनि उत्पत्ति भएको हो । मानिस प्रकृतिका सबै जीवनमध्ये सर्वश्रेष्ठ जीव हो ।
भौतिक जगत्को विकासलाई प्रतिबिम्बित गर्दै मानिसको चेतना उनीहरूको विचार, सिद्धान्त र दृष्टिकोण पनि बदलिइरहेका हुन्छन् । वस्तु र घटनाको ज्ञान प्राप्त गर्न तिनीहरूलाई निरन्तरको परिवर्तनमा र विकासको गतिमा अध्ययन गर्नुपर्छ । वस्तुलाई वास्तविक रूपमा चिन्नका लागि त्यसलाई उसको गतिमा, उसको परिवर्तनमा र उसको आत्मगतिमा हेर्न जरुरी हुन्छ ।
द्वन्द्वात्मक भौतिकवादका आधारभूत नियमले वस्तु र घटनाको सामान्य चित्र, त्यसबारे जानकारी र परिवर्तनको व्यवस्था गर्दछन् । प्रतिपक्षको एकता र सङ्घर्षसम्बन्धी नियमले विकासको अनुहार र तिनीहरूका गतिदायी शक्तिको उद्घाटन गर्दछ । परस्पर विरोधी शक्तिमाझ एकता नभई अस्तित्व नहुने र विरोधीको एकता र आआफ्ना विरोधी गतिका कारणले गति सुरुमै उच्चस्तरमा विकास हुने वास्तविकता बताउँछ । सङ्घर्ष स्वयम् गतिको कारण भएकोसमेत खुलासा गर्दछ ।
परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा सङ्क्रमणसम्बन्धी नियमले समाजको गुणात्मक र क्रान्तिकारी छलाङसम्बन्धी नियमको जानकारी गराउछ । परिमाणात्मक परितर्वन नभई गुणात्मक परिवर्तन नहुने र गुणात्मक परिवर्तन नभई नयाँ अस्तित्व सुरुवात नहुने वास्तविकता बताएर सामाजिक परिवर्तनका लागि परिमाणात्मक र गुणात्मक फड्को दुवैको ख्याल गरेर आफ्ना सामाजिक गतिविधि सञ्चालन गर्न सचेत बनाउँछ । क्रान्तिकारीहरूको उद्देश्य गुणात्मक फड्को भए पनि आफ्ना काम मात्रात्मक हिसाबले गतिदायी हुने गरी प्रगतिशील काम गर्न सचेत हुनसमेत गतिदायी निर्देशन दिन्छ ।
नकारको नकारसम्बन्धी नियमले विकासको उत्तरोत्तर गतिको बयान गर्दछ । माथिका दुई वटाअनुसारका गतिका नियमबाट आउने नयाँले पुरानोको अस्तित्वलाई नकारेर आफ्नो नयाँको अस्तित्व स्थापित गराउँछ भन्ने यो नियमको बयान हो । पुरानाका साथै गुणलाई नकार्ने नभई असल गुणलाई आफ्नो नयाँमा समावेश गरेर काम नलाग्नेलाई निषेध गर्छ भन्ने यस नियमको तात्पर्य हो । त्यसैले गर्दा सधैँ सिधै उचाइमा जानेभन्दा पनि पनि बर्तुलाकार वृत्तको आकारमा उचाइमा पुग्ने भन्ने यो नियमको घोषणा हो । विकासको धेरै उचाइमा पुगिसक्दासमेत पुराना गुणको पुनरावृत्ति कायम गरेको नयाँलाई समेत त्यसैबाट विकास भएको नयाँले निषेध गर्ने हुनाले निषेधबाट अलग हुन नसक्नेसमेत यो नियमले बताउँछ ।
पदार्थ र चेतनामध्ये पदार्थ प्राथमिक तत्त्व र चेतना त्यसको मातहतमा रहन्छ अथवा चेतना प्राथमिक तत्त्व भई पदार्थ त्यसको मातहतमा रहन्छ भन्ने विषय दर्शनको आधारभूत प्रश्न हो । यसबाट चेतनाले आफ्नो स्वतन्त्र अस्तित्व कायम गरी पदार्थलाई परिवर्तन गर्न सक्छ अथवा आफै पदार्थको मातहतमा रहन्छ भन्ने विषयले दर्शनलाई घेरिराखेको हुन्छ र द्विविधा उत्पन्न गराउँछ ।
यी पक्षमाथि विचार गर्दा परस्पर विरोधी विश्लेषण हुने भएकाले यी प्रश्नमा दर्शन विभाजित छ । भौतिकवादी दर्शनले पदार्थको स्थान पहिलो हुने र चेतना पदार्थबाट सुरु भई पदार्थकै परिवर्तित रूप मात्र हुने विश्लेषण गर्दछ भने आदर्शवादी दर्शनले चेतनालाई प्राथमिक तत्त्व मान्दै आत्माबाट नै पदार्थको अस्तित्व कायम हुने र आत्मा कहिल्यै समाप्त नहुने, बरु परिवर्तन मात्र हुने विश्लेषण गर्दछ । माक्र्सवादी दर्शनले मात्र द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक पक्षलाई स्वीकार गर्दै आफ्नो विश्लेषण स्पष्ट पार्दछ । माक्र्सवादी दर्शनले भन्दछ, पदार्थ चेतनाको श्रोत हो । चेतना पदार्थको मानव मष्तिष्कमा पर्ने परावर्तन मात्र हो । चेतना भौतिक जगत्को समयसम्म भएको विकासको परिणाम हो । यसका साथै उच्च रूपमा विकसित मानव मस्तिष्क, जुन आफै भौतिक पदार्थ हो; त्यसैले उत्पादन हो ।
भौतिक उत्पादनका लागि गरिने मानव श्रमबाट चेतनाको जन्म हुन्छ र त्यहीबाट विकास र परिवर्तन हुँदै जान्छ । चेतनाको स्वरूप सामाजिक हुन्छ । त्यो सामाजिक उत्पादन प्रक्रियानुसार निर्धारित हुन्छ । भौतिक पदार्थ र चेतनाको सम्बन्ध द्वन्द्वात्मक भौतिकवादी दर्शनको सीमाभित्रैबाट गतिशील भई अगाडि बढ्ने गर्दछ । व्यावहारिक अनुभवको आश्रय लिँदै मानव चेतनाले भौतिक जगत्को ज्ञान प्राप्त गर्ने क्षमता विकास गर्दछ । भौतिक पदार्थ र चेतनाको सम्बन्ध दर्शनको आधारभूत प्रश्न भएकोले त्यसले खास समस्याको समाधान नगरेर समग्रतामा विश्वदृष्टिकोणको स्वरूप निर्धारण गर्दछ । त्यसले दर्शनको आधारभूत प्रवृत्तिको फरक छुटाउने विश्वासिलो कसौटी प्रस्तुत गर्दछ । त्यसैबाट द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको दृढतापूर्वक वकालत गर्ने सम्भावनाको विकास हुन्छ र भौतिकवादी जगत्को बारेमा जान्न बुझ्न सकिन्छ ।
अहिलेसम्म मानव प्रयत्नले जानेका कुरा जानेकै भए, नजानेका बाँकी विषय पनि जान्न, बुझ्न सकिन्छ भन्ने भौतिकवादी धारणा हो र जान्न, बुझ्न सकिन्न, यो सबै अलौकिक शक्तिले मात्र गर्ने काम हो भन्ने विश्लेषण आदर्शवादीको हो । यिनीहरूको अतिरिक्त परलोकको अस्तित्व पनि आदर्शवादीको स्वीकारोक्ति हो । भौतिकवादीले यसलाई नकार्ने अर्को फरक विश्लेषण छ । त्यसैबाट स्वर्ग र नर्कको बयान आदर्शवादीले गर्दछन् । भौतिकवादीले छुट्टै त्यस्तो स्वर्गलोक र नर्कलोक भएको स्वीकार गर्दैनन् ।

