रामप्रकाश पुरी
संसारमा लाखौँलाख पत्रिका, पुस्तक वा अरू विभिन्न डकुमेन्ट छापिने गर्दछन् । तिनीहरूको आआफ्नो महत्त्व होला, तर नेपाल कम्युनिस्ट पार्टी (मसाल) का लागि तिनीहरूको महत्त्व धेरै न्यून हुन्छ; किनभने त्यहाँ उसको जीवनको सङ्गीतको धुन बजेको हुँदैन वा बजेको भए पनि नगण्य रूपमा रहेको हुन्छ । त्यसैले धेरै पृष्ठमा लेखिएका कुनै ग्रन्थहरू, जहाँ यसको जीवनको सङ्गीत पाइँदैन, तिनीहरूभन्दा कति हो कति उचाइबाट हाम्रो यात्राका गन्तव्यलाई विचारको पथमा हिडाउँदै, निर्देशन गर्दै र जीवनको अनुभूति गराउँदै आस्थाको दियो बनेर “युगदर्शन” ले जब मानवजातिको समानता एवम् न्यायिक भविष्यको उद्घोष गर्दछ, ठिक त्यस बेला सङ्घर्षको फरक इतिहास हाम्रो सामुन्नेमा उभिन्छ । हो, ठिक त्यस बेला इतिहासमा भएका न्यायपूर्ण क्रान्तिका बिगुलले हाम्रो मनमस्तिष्कलाई उद्वोधित गरेर जागृत बनाउँछन्; र, हामी यो महसुस गर्दछौँ : क्रान्तिको पुर्खा ज्युँदै छ; हामी ज्युँदै छौँ र भविष्यको पुस्ता पनि ज्युँदो रहिरहने छ । क्रान्तिको अपेक्षा गौरवपूर्ण पाइलाका साथ जुनसुकै चुनौतीका बिचबाट पनि अनवरत यात्रामा रहने छ । अनि, हामी भनिरहने छौँ, साम्राज्यवादका सामु झुकेर हामीलाई जीविका चलाउनु छैन । हाम्रो राजनीतिक सङ्घर्ष तथा वर्तमानको सर्वश्रेष्ठ क्रान्तिकारी विचार र दार्शनिक समझदारीको प्रखर प्रवक्ता हो “युगदर्शन” ।
यो साम्राज्यवादको कठघरामा उभिएर विचारको गरिमापूर्ण बयान दिने हाम्रो वर्तमान सङ्घर्षको साक्षी हो । यसलाई त्यो अधिकार त्यति बेलासम्म प्राप्त भइरहने छ, जति बेलासम्म साधारण र सस्तो मूल्यमा नै किन नहोस्, त्यो खाली कागज, जसमा हाम्रो क्रान्तिकारी परम्पराको इतिहास, वर्तमानको सङ्घर्षपूर्ण काल र भविष्यको सुन्दर अनुहार स्वतःस्फूर्त प्रतिबिम्बित भइरहने छ र हामीले आफ्नो प्रतिबिम्ब आफै देखिरहन सक्ने छौँ । त्यसैले हाम्रा लागि महङ्गो कागजमा सजिएका सस्ता विचारका रङ्गीन शब्दहरू होइन, साधारण नै होस्, तर उच्च विचार, उद्देश्य र महान् सपनासहित बाँचिरहने युगदर्शनको उज्यालो भविष्य जरुरी छ ।
हामीले बुझ्नुपर्दछ : युगदर्शन नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी सारथीहरूको एउटा साझा अभियान हो । यसमा क्रान्तिकारीहरूले सामूहिक पसिना बगाउँछन् र यसको जीवनरक्षाका लागि अहोरात्र तल्लीन हुँदै आएका छन् । नेपालको पत्रकारिताको सम्पत्तिलाई हेर्न सक्दछौँ, कुनै त्यस्तो सम्पत्ति पाइँदैन, जसमा विचारका निम्ति सामूहिक सम्पत्तिको उत्पादन गरिएको होस् । केही दिन वा केही वर्षसम्मका लागि त्यस्ता केही प्रयास भएका होलान्, तर तिनीहरूमाथि सामूहिक स्वामित्व नभएका कारणले तिनीहरूको अस्तित्व हराउँदै जाने गरेको छ । तर एउटा पृथक् इतिहास छ; जस्तो कि पार्टीको योजनाबमोजिम कमरेड सरोज शर्माले आजभन्दा ३७ वर्षपहिले “हाँक” को परम्परा सुरु गर्नुभएको थियो, त्यसको जीवनरक्षाको अभियानमा पूरै पार्टी समर्पित हुँदै आएको थियो । तर गत वर्ष केही व्यक्तिको बेइमानी चरित्रका कारण “हाँक” को सामूहिक स्वामित्व स्थापना गर्ने विषयमा समस्या पैदा भयो । त्यसरी पार्टीले करिब चार दशक अवधिसम्म हुर्काएर, बढाएर, जोगाएर ल्याएको त्यो सम्पत्तिमाथि बेइमान प्रवृत्तिहरूले देखाएको रवैयाका कारण हजारौँ क्रान्तिकारीको भावनामा चोट पुग्न गयो । उनीहरूले स्वयम् “हाँक” पत्रिकाको प्रयोग गरेर वर्षौदेखि हजारौँ योद्धाहरूको पसिनाबाट निर्मित वैचारिक विरासतमाथि प्रहार गरे र त्यो पत्रिकालाई नेकपा (मसाल) का विरुद्धमा प्रयोग गर्ने औजार बनाए ।
वास्तवमा उनीहरूको त्यो दिवास्वप्न थियो; किनभने उनीहरूले मसालको विरासतलाई भत्काउन कहिल्यै पनि सक्दैनथे र भविष्यमा पनि भत्काउन सक्ने छैनन् । कुनै कारणले हामी यो स्तम्भ लेखिरहेका व्यक्तिहरू पथभ्रष्ट हुन पुग्यौँ भने पनि क्रान्तिकारी परम्परालाई हामीभित्रका कुण्ठाले कहिल्यै पनि भत्काउन सक्ने छैन । यो कुरा हामीले विश्वासपूर्वक र दृढ निश्चयका साथ भन्न सक्दछौँ : मसालको क्रान्तिकारी परम्परा र विरासत यदि भत्किन्छ भने यसका आफ्ना कारणले भत्किन्छ । त्यो कारण हुने छ : यसको विचारमा आउने ह्रास । अन्य अवस्थामा बेइमानहरू कुर्लिन्छन्, गालीगलौज गर्दछन्, आरोप लगाउँछन् र कतै पतन हुन्छन् । त्यसैले हर पलमा दुश्मनका हजारौँ प्रहार सामना गरिरहेको एउटा कम्युनिस्ट शक्तिलाई पथभ्रष्ट भएर जानेहरूले आफ्नो पतनको सूचनासम्म दिने कुरा स्वाभाविक छ, तर त्यसको विरासतलाई भत्काउने कुराको कल्पना गर्नु हास्यास्पद नै हुन्छ ।
जब हजारौँ क्रान्तिकारी योद्धा र जनताको पसिना बग्ने नहर भत्किन्छ, के त्यसबाट उनीहरू निराश हुनुपर्दछ ? उत्तर सहज छ : हुनुपर्दैन, त्यो जरुरी छैन । यो दुनियाँमा कम्युनिस्ट क्रान्तिकारीले निर्माण गरेका नहर जति पटक भत्किएका छन्, त्यति पटक वा त्योभन्दा कैयौँ गुणा बढी फेरि त्यस्ता अनेक नहर निर्माण हुने गरेका छन् । यदि त्यो प्रक्रिया नचल्ने भएको भए संसारमा सर्वहारा वा जनक्रान्तिले स्थापना गरेका ठुला ठुला राजनीतिक व्यवस्था पतन भएर जाँदाखेरि पनि त्यही खरानीको थुप्रोबाट क्रान्तिकारी आन्दोलन नउठ्दा हुन् ।
हामी पनि त्यही युगका मानिस हौँ, जो कम्युनिस्ट आन्दोलनमा सङ्गठित छौँ र साम्राज्यवादसित टकराइरहेका छौँ । यसैले केही बेइमानले चोट पु¥याएका कारणले थला परिहाल्ने क्रान्तिकारी योद्धाहरूको चरित्र हुँदैन । हजारौँ योद्धाहरूले फेरि नहर निर्माण गरे र बगाए, आफ्नो युगान्तकारी वैचारिक मिसनको प्रवाह । त्यो कुरा सत्य सावित भयो : करिब ३७ वर्षसम्म विचारको गरिमाले सजिएको “हाँक” को प्राण जब युगदर्शनमा बौरिएर जीवन्त बन्न गयो । क. सरोज शर्माको अमरत्व यसमा देखियो, जब यसमा कोरिएका अक्षरमा उहाँको सपनाले पल्लवित भइरहेको आभाष पाए; र, सन्देश प्राप्त भयो कि लेनिनले स्थापना गरेको इस्क्रामा लेनिनलाई खोजेको भए हामी कहाँ पुग्थ्यौँ ? शायद मेन्सेभिकको विजय भएको ठान्ने थियौँ र लेनिन पराजय । तर संसारले दर्शन, विचार र राजनीतिमा लेनिनलाई खोज्यो, लेनिन र इस्क्राको बिचमा तुलना हुन सक्ने कुरै भएन । सत्य के रहेछ ? पुष्टि भयो कि विचारप्रतिको आस्था नै वास्तविक सत्य थियो ।
ढुङ्गाको शिला नै किन नहोस्, त्यसमा लेखिएको मसालको विचार नै सत्य हो, त्यहाँ आस्था स्वतः अङ्कुराउँछ र हुर्किन्छ । त्यसैले “हाँक” को आडमा केही बेइमानले मसाल विरुद्ध गरेको प्रपञ्चलाई कम्युनिस्ट क्रान्तिकारीहरूले किन स्वीकार गर्दथे ? उनीहरूले जवाफ दिए : “हामी सबैले कम्युनिस्ट क्रान्तिकारी विचारको रक्षा र त्यसको विकासको लागि बलिदानी दिँदै आएका छौँ; काम गर्दै आएका छौँ; थुप्रै शिक्षा र अनुभव हासिल गरेका छौँ । त्यसैले तिमीहरूलाई राम्रोसँग चिन्दछौँ ।”
युगदर्शन साप्ताहिक त्यही जवाफको अन्तर्यबाट अस्तित्वमा आएको एउटा सामूहिक अभियान थियो । यसलाई हुर्काउनेहरू देशका गाउँसहरदेखि विश्वका विभिन्न मुलकमा पसिना बगाइरहेका मिहिनेतकस जनता थिए । वास्तवमा उनीहरू दिग्विजयी शक्ति थिए, उनीहरूलाई कुनै शक्तिले पनि पराजित गर्न सक्दैन्थ्यो भने उनीहरूको उद्देश्यको नहर पनि कहिल्यै भत्किन सक्दैन्थ्यो । कुनैनकुनै रूपमा उनीहरूको विचार प्रवाह हुने नहर निर्माण भएरै छाड्थ्यो । युगदर्शन त्यही नहर थियो ।
करिब ११ वर्षपहिलेदेखि विभिन्न मासिक डाइजेस्टको रूपमा प्रकाशित हुँदै आएको युगदर्शनको साप्ताहिक प्रिन्ट अङ्क २०७६ भाद्र १८ गतेबाट प्रकाशित हुन सुरु भएको थियो भने अनलाइनको रूपमा पनि २०७६ असोज ७ गतेबाट यसको निरन्तर प्रकाशन हुँदै आएको छ ।
त्यसरी त यसको अलग वैचारिक जीवन ३७ वर्ष पहिलेदेखि नै अस्तित्वमा रहँदै आएको कुरा हामीले अगाडि नै स्पष्ट गरिसकेका छौँ । युगदर्शन नहरको निर्माण परिस्थितिको बाध्यात्मक परिणाम भएको कुरा माथिको विवरणबाट प्रष्ट हुन्छ । त्यो जेसुकै भए पनि युगदर्शनले क्रान्तिकारी विचारको प्रवाह गर्ने एउटा अचूक मिसाइलको रूपमा दायित्व निर्वाह गर्दै आएको छ ।
गत केही महिनाबाट कोरोना प्रकोपका कारण यसको प्रिन्ट रोकिएको भए पनि युगदर्शन अनलाइन नियमित रूपमा प्रकाशित हुँदै आएको छ । तुलना गरेर अध्ययन र अनुसन्धान गरे हुन्छ, सही राजनीतिक मार्गदर्शन, असल शासन व्यवस्था, क्रान्तिकारी सामाजिक परिवर्तन, प्रगतिशील जीवन संस्कार, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताका पक्षमा यसले जत्तिको अन्य कुनै सञ्चार माध्यमले योगदान दिन सकेका छैनन् । देशमा भएको भ्रष्टाचारको विरोध, सरकारका गलत कार्यशैलीको विरोध र विभिन्न सामाजिक अपराधको विरुद्धमा यसले सशक्त आवाज उठाउँदै आएको छ । प्रवासी नेपालीको समस्यालाई यसले गम्भीरतापूर्वक उठाउँदै आएको छ । विभिन्न वर्ग र लिङ्गका अधिकारका विषयबारे पनि यसले सन्तुलित आवाज मुखरित गर्दै आएको छ ।
यो नेपालको सामन्तवाद तथा साम्राज्यवाद विरोधी राजनीतिक तथा वैचारिकसहित परिवर्तकारी सूचना प्रवाहको शक्ति बोकेको सबैभन्दा अग्रगामी सूचनापाटी हो । यो सूचनापाटी भएन भने क्रान्तिकारी शक्ति कहाँ छ भन्ने कुरा देख्न र बुझ्न अप्ठेरो हुने छ । गौरवशाली पाइलाबाट सुरु भएको यसको यात्रा चुनौतीपूर्ण छ । यो भनेको हजारौँलाखौँ जनसमुदायको आन्दोलन र क्रान्तिको भविष्यको प्रश्न हो । त्यसैले यो सूचनापाटीको सुरक्षा, सम्वद्र्धन र विकास गर्नु यसका अभियन्ताहरूको कर्तव्य हो, उनीहरूले नै यसलाई बचाउन सक्दछन्, जो हजारौँलाखौँ सङ्ख्यामा छन् । यो उनीहरूको सामूहिक सम्पत्ति हो, जो अब कसैले लुट्न पाउने छैन ।