भक्तबहादुर विश्वकर्मा
न्यायमूर्तिले घुस खाने
सुरक्षाकर्मीले चोर्ने मेरो देश
राजनीतिलाई पेसा बनाउने
पदमा पुग्दा अकूत कमाउनुपर्ने नेतागण
सहिदको खेती गर्दै
सत्ताको भर्याङ बनाउने
राजनैतिक पार्टी
युवाजतिलाई विदेश पठाउँदै
समृद्धिको नारा बाँड्ने सरकार
कमिसन बाँड्दै ठेक्का पार्दै
गुणस्तरहीन काम गर्ने ठेकेदार
सत्ताको चाकडी गर्दै जनता मार्ने
भ्रष्टाचार गरी महल बनाउने कर्मचारी
कालोबजारी गर्दै महङ्गी बढाउँदै
दुखीगरिबको ढाड सेक्ने व्यापारी
परिवर्तनको नारा दिई सिन्को नभाच्ने
राष्ट्रघात गर्दै मस्ती गर्ने सत्तासिनहरू
पैसा बाँड्दै चुनाव जिती
आसेपासेलाई बजेट बाँड्ने जनप्रतिनिधि
होसियार !
जनता बुझ्दै छन जाग्दै छन्
तिम्रा काला कर्तुत पर्दाफास गर्दै छन्
तिम्रा छोरानातीबाट पनि असुल गर्नेछन्
अन्याय र अत्याचार गर्नेहरू होसियार
तिम्रा नरपिचासकारी क्रियाकलापमा
लगाम लगाउन स्वाभिमानी निष्कलङ्क
एक एक नेपाली ब्युझिँदै छन्
तिम्रा अहङ्ककारी ब्यभिचारी सोचमा
पूर्णविराम लगाउन जुट्दै छन्
तिम्रा बिलासी शरीरमा नुनचुक
छर्कन न्यायपे्रमी तयार हुँदै छन्
भोगरोग र बेरोजगारीले पिल्सिएका
शोषित, पीडितहरू वर्गदुश्मन चिन्दै छन्
अब त अति भो सत्ताको बागडोर
समाल्नेहरू होसमा आऊ
होसियार !
धनीका लागि मात्र हैन
गरिबका लागि केही योजना ल्याऊ
पुँजीवादभित्र एकाधिकार चलाउँदै आएका
सर्वहारा वर्गका मजदुर–किसानका दुश्मन
होसियार !
असमानताका जञ्जिर तोड्न
लालयोद्दाहरू मुठ्ठी कस्दै छन्
जाँतोमा पिल्सिएका दलित
धैर्यताको बाँध फुटाउँदै छन्
दलनमा रहेको समाज विकल्प खोज्दै छ
होसियार !
जालीफटाहलाई जरैबाट उखेल्दै छन्
सामन्ती अवशेषलाई ध्वस्त पार्न
न्यायप्रेमीहरू एकगठ हुँदै छन्
एकगठ हँुदै छन् ।