• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रगतिशील चरित्र निर्माणका केही महत्त्वपूर्ण विषय


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा

    Advertisement

    साहित्यको क्षेत्रमा प्रगतिशील शब्द प्रायः सबैको बिचमा प्रचलित र लोकप्रिय बन्दै आएको छ । प्रयोगात्मक नेपाली शब्दकोशमा प्रगतिशीलको अर्थ “प्रगतिवादी” “माक्र्सवादी सिद्धान्तअनुसारको प्रगतिको अपेक्षा गर्ने वा त्यस्तो विचारलाई अभिप्रेरित गर्ने, समाजको अग्रगामी परिवर्तन चाहने” भन्ने रहेको छ । यसरी सामान्यतः प्रगति चाहनेलाई प्रगतिशील र यथास्थितिमै रुमल्लिएर बस्ने तथा प्रगति नचाहनेलाई प्रतिगामी भन्ने गरिन्छ ।

    कतिपयमा कम्युनिस्ट विचार बोकेकाहरू मात्रै प्रगतिशील हुन्छन् भन्ने बुझाइ रहेको हुन्छ । तर कम्युनिस्टहरू मात्रै प्रगतिशील हुँदैनन्, अरू पनि प्रगतिशील हुने गर्दछन् । तसर्थ प्रायः सबै लेखक, कलाकार तथा साहित्यकारले आफूलाई प्रगतिशील नै भन्न रुचाउँछन् । अझ वामपन्थी तथा कम्युनिस्ट विचारमा रहेका लेखक, कलाकार तथा साहित्यकार त झन् प्रगतिशील मात्रै होइनन्, उनीहरू त प्रगतिवादीसमेत हुन्छन् भन्ने मान्यता रहेको छ । यसरी हामी आफूलाई प्रगतिशील वा प्रगतिवादी जे घोषणा गरेता पनि जीवन व्यवहारमा हामी आफू प्रगतिशील वा प्रगतिवादी बन्नका लागि चुनौतीपूर्ण र कथिन यात्रा पार गर्नुपर्ने हुन्छ ।

    हाम्रोजस्तो युगाँैदेखि रूढीवादी तथा सामन्ती संस्कृतिले जकडिएको समाजमा त झन् वास्तविक प्रगतिशील वा प्रगतिवादी बन्ने कुरा फलामको चिउरा चपाउनुजस्तै कठिन कुरा हो । प्रगतिशील कुरा भनेकै आजको यो अवस्थामा रहेको जीवन र जगत्लाई योभन्दा राम्रो र सहज अवस्थातिर बदल्दै जाने प्रक्रिया हो । तसर्थ हामी कोही पनि प्रगतिशील वा प्रगतिवादी बन्न हामीमा अदम्य हिम्मत र त्यागको खाँचो पर्दछ । हामीमा कडा सङ्घर्ष र पीडा सहन गर्न सक्ने सामथ्र्यको विकास हुनुपर्दछ । समाजको पूरानो कुरूप अनुहारलाई नवीन र सुन्दरतातर्फ बदल्ने बाटोमा हिड्नका लागि सिङ्गै विश्व ब्रम्हाण्ड एकातिर र आफू एक्लै अर्काेतिर हुँदा पनि विचलित नहुने पत्थरको हृदय बनाउन सक्नुपर्दछ । प्रगतिशील कलासाहित्यको सिर्जनामा सम्पूर्ण स्रष्टाले यस प्रकारको चुनौतीलाई पन्छाएर अगाडि बढ्न सक्नुपर्दछ । यस प्रकारको तागतप्राप्तिका लागि हामीले हाम्रो जीवनका केही महत्त्वपूर्ण विषयमा ध्यान दिनु जरुरी छ ।

    अध्ययन

    अध्ययन हाम्रो जीवनको एक अभिन्न पाटो हो । दृष्टिकोण निर्माण गर्न, दिमागलाई सशक्त बनाउन, जीवन र जगत्लाई बुझ्न हामी अध्ययनमा डुब्नैपर्दछ । पृथ्वीमा जसलाई हामी ठुला ठुला दार्शनिक, वैज्ञानिक, चिन्तक, साहित्यकार आदि भनेर चिन्दै आएका छौँ, ती जम्मै विख्यात मानव सबैले अध्ययनलाई नै सर्वाधिक जोड दिँदै आएका छन् र यस प्रकारको अध्ययन–अनुसन्धानको जीवनशैलीलाई ती सबैले आफ्नो जीवन, व्यवहारमा कडाइका साथ लागु गर्ने गरेका छन् । यसै कारणले उनीहरू सबै आफ्ना उद्देश्यमा पुग्न सफल भएका छन् । यो तथ्य मात्रै हे¥यौ भने पनि जीवनमा अध्ययनको मूल्य र महत्त्व कति रहेछ भन्ने कुराको धेरै चर्चा गरिरहनुपर्दैन ।

    हामी सबैलाई थाहा छ, विश्व ब्रम्हाण्डमा अध्ययनको विषयवस्तु र क्षेरू असीमित छन् । प्रगतिशील कला, साहित्य सिर्जना गर्नसक्ने हुनका लागि अध्ययनको यो व्यापकताभित्र कसरी प्रवेश गर्ने भन्ने विषयमा गम्भीरताका साथ विचार गर्न जरुरी छ । मान्छेलाई प्रगतिशील दृष्टिकोण, आचरण निर्माण गर्न लगाउने तथा जीवन र जगत्लाई सही तरिकाले बुझ्न सक्ने बनाउने सर्वोत्कृष्ट र वैज्ञानिक विषयवस्तुको पहिचान तथा खोजी गर्नुपर्दछ । यसरी हामीले अध्ययनको सही मार्ग ठम्याउनैपर्दछ । त्यो सही बाटो भनेको द्वन्द्वात्मक भौतिकवाद हो ।

    द्वन्द्वात्मक भौतिकवाद नबुझेसम्म हामीले आफूमा प्रगतिशील चरित्र निर्माण गर्न सक्दैनौँ । जब हामीमा प्रगतिशील चरित्र हुँदैन, तब हामीले प्रगतिशील कला, साहित्य, तथा संस्कृतिको निर्माण तथा सिर्जना गर्न सक्दैनौँ । स्वयम् प्रगतिशील नभएको मान्छेले जतिसुकै प्रगतिशील कला, साहित्य तथा संस्कृतिको सिर्जना गर्न खोजे पनि त्यो खोक्रो भएर प्रकट हुने गर्दछ । बारम्बार त्यसको विश्वसनीयता र सच्चाइमा प्रश्न उठिरहन्छ । यसले स्रष्टाको जीवन, व्यवहार एकातिर र उसको सिर्जना अर्काेतिर बनाएर छुट्याइदिने गर्दछ । तसर्थ प्रगतिशील साहित्य सिर्जना गर्न चाहने स्रष्टा स्वयम् साँच्चिकै प्रगतिशील चरित्रको हुनैपर्दछ ।

    यस प्रकारको प्रगतिशील बन्ने उर्जा तथा दृष्टिकोण प्राप्तिका लागि माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओजस्ता प्रगतिशील विचारका विश्वप्रसिद्ध अनुयायीको सिद्धान्तलाई निरन्तर अध्ययनको विषयवस्तु बनाउनुपर्दछ । यिनीहरूको सिद्धान्तले नै समग्र मानवजातिलाई सही गन्तव्यतर्फ पथपर्दशन गर्ने गरेको छ ।

    यी कुनै जड सिद्धान्त नभएर स्वयम्मा गतिशील सिद्धान्त हुन् । यी सिद्धान्तलाई हामीले माओत्सेतुङले भने झँै जडसूत्र नठानी कार्यको मार्गदर्शक ठान्नुपर्दछ । माओले भनेका छन्– “यसको अध्ययन गर्नु भनेको खालि यसमा भएका शब्द र वाक्यांश कण्ठ पार्नु होइन । तर क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नु हो ।” यो भनाइबाट हामीले के बुझ्नुपर्दछ भने द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका वाक्य कण्ठ गरेर मात्रै हामी प्रगतिशील बन्न सक्दैनौँ । हामी प्रगतिशील बन्न यी सिद्धान्तले दिशानिर्देश गरेबमोजिम हाम्रो जीवन पद्धति बदल्ने कुरामा अग्रसर हुनैपर्दछ ।

    यस विषयमा कार्ल माक्र्सको एउटा घतलाग्दो भनाइ रहेको छ– “अनेक दार्शनिकले संसारको व्याख्या त गरेका छन् तर मूल कुरा भनेको यसलाई बदल्नु हो ।” हामी प्रगतिशील बन्नका लागि यो भनाइको मर्मलाई पक्रनैपर्दछ ।

    प्रगतिशील कुराको विषयवस्तुबारे हामीले धेरै कुरा थाहा पाएका र बुझेका हुन सक्छौ तर हामीले जति थाह पाएका छौँ, जति बुझेका छौँ, सोहीबमोजिम हामी हाम्रो जीवन र समाजको चरित्रलाई प्रगतिशीलतातर्फ बदल्न सकिरहेका हुँदैनौ । तसर्थ हामीले द्वन्द्वात्मक भौतिकवादको आधारमा जीवन र जगत्को वैज्ञानिक अध्ययनमा निरन्तर लागिरहनुपर्दछ । माओत्सेतुङले भने झैँ यस्तो अध्ययन “सिकेर कहिल्यै तृप्त नहुने र अथक रूपले अरूलाई सिकाउने” खालको हुनुपर्दछ ।

    यसरी अध्ययनमार्फत हामीले बुझेको जीवन र जगत्को चरित्रलाई प्रगतिशील चरित्रमा बदल्न आजैदेखि र आफैदेखि सुरुवात गर्नुपर्दछ; अर्थात् हामीले हाम्रो जीवनमा सबैभन्दा ठुलो त्याग र समर्पण त अध्ययनमा नै गर्न जरुरी छ । विश्वप्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीले “हातलाई सशक्त बनाउनुभन्दा पहिला दिमागलाई सशक्त बनाउनुपर्दछ” भनेर त्यसै भनेका होइनन् ।

    जीवनशैली

    जब हामीले आफूलाई प्रगतिशील भन्दछौँ भने सबैभन्दा पहिले हाम्रो विचार, चालचलन, बानीव्यहोरा आदिलाई समाजमा रहेका पूराना रूढीवादी तथा सामन्ती विचार, चालचलन वा बानीव्यहोरासँग तुलना गरेर हेर्नुपर्दछ । यसरी हेर्दा हामीले हाम्रो विचार, चालचलन वा बानीव्यहोरा कस्तो पायाँै ? के हाम्रो विचार रूढीवादी तथा सामन्ती विचारभन्दा माथि उठेको छ ? समाजमा रहेको पूरानो विचार, चालचलन वा बानीव्यहोराभन्दा हाम्रो विचार, चालचलन र बानीव्यहोरामा फरकपन के देखिन सक्यो ? यी प्रश्नको उत्तरले नै हाम्रो प्रगतिशीलताको मापन गरिहाल्ने छ ।

    साहित्य सिर्जनाको सन्दर्भमा आफूलाई प्रगतिशीलताको दुहाइ दिने तर व्यवहारमा उही पूराना चालचलनको आहालबाट माथि उत्रिन नसक्ने मानिस धेरै पाउन सकिन्छ । मन्दिरमा गएर कथित भगवानको मूर्ति पूजा गर्ने, मान्छे मर्दा बरखी बार्ने वा किरिया बस्ने, जन्मँदा बाहुन बोलाएर न्वारान गर्ने, विवाह गर्दा जग्गेमा बस्ने, जन्म विवाह र मृत्यु संस्कारलाई खर्चालु र अनुत्पादक बनाउने, ज्योतिषसँग हात देखाएर आफ्नो भविष्य हेर्ने, श्राद्ध गर्ने, विभिन्न किसिमका ब्रत बस्ने र आजापूजा गर्ने, बालबच्चालाई भूत र बोक्सीको त्रास पैदा गरिदिने, दसैँतिहारजस्ता चाडपर्व तथा परम्परालाई खर्चिलो र भद्दा तरिकाले मनाउने, घर, भवन, पुल, बाटोजस्ता पूर्वाधार निर्माणकार्यको शिलन्न्यास गर्दासमेत पूजाआजा गर्ने वा उक्त पूजाआजामा सामेल हुने, विभिन्न खालका मेला–महोत्सवमा सञ्चालित रूढीवादी तथा धार्मिक क्रियाकलापमा स्वयम् संलग्न भई काम गर्नेजस्ता चालचलनबाट मुक्त नहुञ्जेल मान्छे कसरी प्रगतिशील हुन सक्छ ?

    समाजबाट बहिष्कृत हुने डरले, समाजबाट एक्लै परिने डरले वा समाजबाट पाउने सम्मान, फूलमाला, दोसल्ला, प्रमाणपत्र आदि गुम्ने डरले समाजले जे जे भन्छ, त्यै त्यै गर्दै जाने हो भने प्रगतिशीलताको के अर्थ ? सम्पत्तिको लोभ गर्ने, स्वार्थी तथा अहङ्कारी बन्ने, श्रम गर्न लाज मान्ने, आफूभन्दा कमजोरलाई हेला गर्ने, आफूभन्दा बलियाको चाकडी–चाप्लुसी गर्ने, मुखमा सुर्ती राखेर जता पायो त्यतै प्याच्च प्याच्च थुक्दै हिड्ने, चुरोटको धुँवा उडाउने, मौका परे महिला र श्रमिकवर्गलाई जिस्काउने, रक्सीको गिलाससँगै बस्ने, अर्काको कुरा काटेर आनन्द लिने, नारदजस्तै यताको कुरा उता र उताको कुरा यता बनाउँदै समाजमा झगडाको बिउ रोपिदिने, गरगहना, महङ्गा फेसन, लाली लिपिस्टिक, नङपालिस, पाउडर, बासनादार चमेलीका तेल आदिले शरीरको सिँगारपटार गर्ने वा शरीरका विभिन्न अङ्गप्रत्यङ्ग सजाउने, भनसुन र घुसपैठमा संलग्न हुने, ढाँट कुरा गर्ने, ठग्नेजस्ता निन्दनीय प्रवृतिमा रुमल्लिएका मान्छेबाट हामीले प्रगतिशील साहित्यको अपेक्षा कदापि गर्न सक्दैनौँ ।

    वर्तमानमा हामी आफूलाई सामन्ती तथा वुर्जुवा चरित्रबाट पखालेर सफा बनाउन सक्यौँ भने मात्रै हामीमा प्रगतिशील चरित्रको निर्माण हुन सक्दछ । तसर्थ हरेक पल सामन्ती तथा वुर्जुवा चरित्रमा नमुछिनका लागि सतर्क रहन जरुरी छ । सामन्ती तथा बुर्जुवा चरित्रबाट अरूलाई बदल्न नसके पनि कम्तिमा हामी आफूलाई मात्रै पनि बदलिन सक्यौँ भने यो नै सबैभन्दा ठुलो उपलब्धि हुने छ । तसर्थ हामी हाम्रो जीवनमा प्रगतिशील चरित्र निर्माणका लागि कठोर आत्मसङ्घर्ष गर्न तयार बन्नुपर्दछ । यसका लागि हामीमा समाजबाट बहिष्कृत बन्नुुुुपर्दाको पीडा सहन गर्नसक्ने सामथ्र्य बोक्नु जरुरी छ । सच्चाइको लागि सबैतिरबाट एक्लिन पनि तयार हुनुपर्दछ । यसरी हाम्रो जीवनशैलीलाई सरल, सुबोध गतिशील र अनुशासित बनाउनुपर्दछ ।

    वर्गसङ्घर्षमा सहभागिता

    समाजको प्रगति हुनु, देशको प्रगति हुनु, समाजका मानिसको प्रगति हुनु र समग्रमा विश्व र विश्वभरिका मानवजातिको प्रगति हुनुलाई नै सरल अर्थमा हामीले प्रगतिशील भनेर बुझ्न सक्छौँ । यस प्रकारको समाज र मानवजातिको प्रगति विभिन्न प्रकारका सङ्घर्षद्वारा नै अगाडि बढ्दै आएको छ । खासगरि वर्गसङ्घर्सको रापले नै विश्व र विश्वभरिका मानवजातिलाई प्रगतिपथमा अगाडि बढाएको इतिहास हामीले देख्दै आएका छौँ ।

    दास र मालिकबिचको सङ्घर्षले दासयुगभन्दा प्रगतिशील सामन्ती युग खडा गरिदियो । किसान र सामन्तबिचको सङ्घर्षले सामन्तीयुगभन्दा गतिशील पुँजीवादी युगको जन्म दियो । फेरि मजदुर र पुँजीपतिबिचको सङ्घर्षले समाजवाद तथा साम्यवादको तस्बिर अगाडि ल्याइदियो, जुन अहिलेसम्मकै सबैभन्दा गतिशील सामाजिक व्यवस्थाको रूपमा रहेको छ ।

    प्रगतिशील स्रष्टाहरूको मुख्य उद्देश्य यस्तै गतिशील सामाजिक व्यवस्थाका निम्ति चल्ने सङ्घर्षको सौन्दर्यबोध मानवजातिमा स्थापित गर्ने हुनुपर्दछ । यसका निम्ति प्रगतिशील स्रष्टा स्वयम् वर्गसङ्घर्षको भट्टीमा खारिन जरुरी छ । नेपाली उखान “आफू नमरी स्वर्ग देखिन्न” भने झैँ हामी प्रत्यक्ष रूपमा वर्गसङ्घर्षमा सहभागी नहुने हो भने वर्गसङ्घर्षको वास्तविक सच्चाइ हाम्रो दिमागमा कसरी प्रतिबिम्बित हुन सक्ला र ? यदि वर्गसङ्घर्षको वास्तविक आकृतिले हाम्रो दिमागमा बास गरेको छैन भने हाम्रो हातले समाएको कलमले प्रगतिशील साहित्य सिर्जना गर्ने उर्जा कसरी प्राप्त गर्न सक्ला र ? हामीले विश्वप्रसिद्ध साहित्यकारहरू लुसुन, म्याक्सिम गोर्की र नेपालकै पनि इच्छुकजस्ता साहित्यकारलाई हे¥याँै भने यिनीहरूको जीवन वर्गसङ्घर्षकै बिचबाट अगाडि लम्केको पाउन सक्छौँ ।

    यसरी समाजको प्रगतिशील रूपान्तरणका लागि वर्गसङ्घर्षको मुख्य भूमिका रहने भएको हुँदा आफूलाई प्रगतिशील ठान्ने हरेक स्रष्टाले प्रत्यक्ष रूपमा वर्गसङ्घर्षमा भाग लिन जरुरी छ; अन्यथा कोठे तथा ओठे साहित्यले मात्रै हामी र हाम्रो सिर्जनमा वास्तविक प्रगतिशीलता प्रतिबिम्बित हुन सक्ने छैन ।

    पक्षधरता

    वर्तमानमा हामीहरू सामन्ती तथा बुर्जुवा समाजमा बाँचिरहेका छौँ, जहाँ उत्पादनका साधनमाथि व्यक्तिगत स्वामित्व कायम रहेको छ; अर्थात् ठुला जमिन, कारखाना, मिल, मेसिन आदि केवल मुट्ठीभर सामन्त तथा दलाल पुँजीपतिको हातमा रहेको छ । तर रातदिन पसिना बगाएर समाजका लागि चाहिने सम्पूर्ण चिज उत्पादन गर्ने किसान, मजदुरको भने यी जमिन, कारखाना, मिल, मेसिन आदिमा कुनै हक छैन । यसै कारणले हामी बसेको समाजमा सामन्त तथा पुँजीपतिको शोषण, दमन तथा अन्याय, अत्याचार व्याप्त छन् । किसान, मजदुर तथा गरिब जनता बारम्बार ठगीमा पर्दै आएका छन् । उनीहरूमा शोषण, दमन र अन्याय अत्याचारको असह्य पीडा थुपारिएको छ । साना जमिन, साना घर, एकदुई वटा गाईबाख्रा पालेका साना किसानको अवस्था हे¥यौँ भने उनीहरू घरनघाटको अवस्थामा रहेका छन् । साना पसल, साना व्यवसाय गरेर बस्ने साना व्यापारी, साना उद्यमी, साना व्यवसायी, आदिलाई हे¥यौँ भने उनीहरू पनि वित्त तथा बैङ्कका ऋणमा दुबेर किस्ता तिर्नमा हैरान छन् । तल्लो तहका कर्मचारी, शिक्षकलाई हे¥याँै भने पनि उनीहरूको तलबले पारिवारिक खर्च चलाउन मुस्किल छ । अर्कातिर, केही मुट्ठीभर मानिसलाई हे¥यौँ भने उनीहरू अर्बौंखर्बौंको मालिक छन् ।

    एउटै समाजमा यति गहिरो वर्गविभेद भएको यो सामन्ती तथा बुर्जुवा समाज हो । हाम्रो प्रगतिशील कला तथा साहित्यले यस्तो समाजको पक्ष कदापि लिनुहुँदैन । हाम्रो कला र साहित्यले यस्तो बुर्जुवा समाज र यो समाजका बुर्जुवा तथा पुँजीपति वर्गलाई नाङ्गेझार बनाउनुपर्दछ । हामी त योभन्दा प्रगतिशील समाजको खोजीमा अगाडि बढ्नुपर्दछ । यो भन्दा गतिशील समाजको पक्षमा खरो उत्रिनुपर्दछ । त्यो गतिशील समाज भनेको समाजवाद हो, साम्यवाद हो, जुन समाजमा उत्पादनमा साधनमाथिको निजी स्वामित्व खत्तम भएको हुन्छ । जमिन, मिल, कारखाना, मेसिन, स्कुल, अस्पताल, बैङ्क जम्मै सामूहिक स्वामित्वमा हुन्छन्; अर्थात सबै जनता उत्पादनका साधनको मालिक हुन्छन् । उत्पादनका सम्पूर्ण साधन सरकारी हुन्छन् । लफङ्गा र बुद्धु नै भए पनि ठुलाबडाको सन्तान अफिसर हुने तर सुयोग्य नै भए पनि गरिबको सन्तानले कुनै पनि काम नपाउने घिनलाग्दो पुँजीवादी समाजजस्तो समाजवादी समाज हुँदैन । यो समाजमा त हरेक मानिसले आफ्नो सिप र शक्तिअनुसार काम पाउछ । बुहसङ्ख्यक जनताको कमाइमा मोज गर्ने मुट्ठिभर लुटेराको अस्तित्व यो समाजमा हुँदैन । शोषण, दमन, अन्यया, अत्याचार सबै हराएर जान्छ । तसर्थ हामी प्रगतिशील लेखक, स्रष्टाहरू त्यही सुन्दर, उच्च र गतिशील समाजको पक्षमा उभिनुपर्दछ ।

    तर यस्तो गतिशील समाज आफै आउनेवाला छैन । यो समाज आउनको लागि मजदुर वर्ग र पुँजीपति वर्गको बिचमा लडाइँ अनिवार्य छ । यो लडाइँमा मजदुर वर्गले विजय प्राप्त गरेमा मात्रै पुँजीवादी समाज ढल्ने छ र समाजवाद उडाउने छ । तसर्थ हामी प्रगतिशील स्रष्टा पनि तिनै मजदुर वर्गको पक्षमा उभिएर विचारधारात्मक लडाइँ लडिरहनुपर्दछ; अर्थात हाम्रो सिर्जना केका लागि र कसका लागि भन्ने सवालमा हाम्रो दृष्टिकोण स्पष्ट हुनुपर्दछ । शोषक र उत्पीडक वर्गलाई फाइदा पुग्ने, साम्राज्यवादको सेवा गर्ने, रूढीवाद तथा पाश्चात्य संस्कृतिलाई मलजल पुग्ने गरी हाम्रो कला र साहित्य रचना गरिनुहुन्न । हाम्रो कला, साहित्य र संस्कृति केवल मनोरञ्जनको साधन मात्रै बन्नुहुँदैन । यसको साथसाथै हाम्रो कला, साहित्य र संस्कृतिले जीवन र जगत्को परिवर्तनका लागि सर्वहारा र शोषितवर्गको हितका लागि सधैँ उज्यालो र रक्तिम ज्वाला बालिरहनुपर्दछ । यही नै हामी प्रगतिशील स्रष्टाको पक्षधरता हुनुपर्दछ ।

    हाम्रो नैतिकता

    जीवनमा प्रगतिशील चरित्र निर्माण गर्ने अर्काे महत्त्वपूर्ण विषयमध्य नैतिकता पनि एक हो । हामी आफूलाई प्रगतिशील स्रष्टा ठान्दछौँ भने निश्चित रूपले हामीमा क्रान्तिकारी नैतिकता हुनैपर्दछ । हामी हाम्रोअगाडि देखा पर्ने कुनै पनि कठिनाइँबाट पछाडि हट्नुहुँदैन । जस्तोसुकै दुःखकष्ट वा असफलतादेखि डराउनु हुँदैन । सर्वहारा वर्गको पार्टीको हितका लागि, सर्वहारा वर्गीय राजनीतिको पक्षमा काम गर्न वा कलम चलाउन आनाकानी गर्नु हुँदैन ।

    हामी जहिले पनि सादा जीवन र उच्च विचार अपनाउनुपर्दछ । होचिमिन्हले भनेजस्तै “अरूले भन्दा पहिले कामको चिन्ता गर्ने र अरूले भन्दा पछि आनन्दको विचार गर्ने” हुनुपर्दछ ।

    हामीले आफ्नो अभिभारा पूरा गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । तर कसरी ठुलो पुरस्कार पाउन सकिन्छ ? कसरी पद, सम्मान, धन्यवाद र कुर्सी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा लोभ गर्नुहुँदैन ।

    हामी इमान्दार, साधारण, विनम्र र दुःखकष्ट सामना गर्न तयार हुनुपर्दछ । तर कहिल्यै नोकरशाही, घमण्डी, भ्रष्टाचारी र दुष्ट बन्नुहुँदैन ।
    काम गर्दा भुलवश गरिएको कमी–कमजोरी वा गल्तीबाट सुध्रिन अरूको आलोचना धैर्यतापुर्वक सुन्ने र इमान्दारपूर्वक आत्मआलोचित हुने तथा अरूलाई सही बाटोमा हिँडाउने उद्देश्य राखी अर्काको पनि मैत्रीपूर्ण आलोचना गर्ने गर्नुपर्दछ; अर्थात हामी प्रगतिशील स्रष्टाहरू आलोचनात्मक चेतको भावनाले सुसज्जित हुनुपर्दछ ।

    प्रगतिशील जीवन र प्रगतिशील समाजको बाधक तत्त्वहरू पुँजीवादी, साम्राज्यवाद, हाम्रो आफ्नै पिछडिएका बानी र परम्परा, रूढीवाद, पाश्चात्य संस्कृति, व्यक्तिवाद आदि हाम्रा खतरनाक शत्रु हुन् । यिनै शत्रुको विरुद्ध हामीले जीवनभर सङ्घर्ष गर्ने अठोट बोक्नुपर्दछ । यस प्रकारको सङ्घर्षबाट मात्रै हामीमा क्रान्तिकारी नैतिकताको विकास हुन सक्दछ । होचिमिन्हले भनेजस्तै “क्रान्तिकारी नैतिकता आकासबाट त्यसै खस्दैन । दिनदिनै सङ्घर्ष र प्रयत्न गरेर नै यो विकसित र दरिलो बन्छ । निलो पत्थर झै जति जति पालिस लगायो, उति उति यो चम्किन्छ । सुनजस्तै जति पगाल्यो, उति यो शुद्ध हुन्छ ।”

    निष्कर्ष

    आज हाम्रो समाजका मानिसमा निम्न पुँजीवादी वर्गचरित्रको प्रभाव व्याप्त रहेको छ, जसका कारण प्रगतिशील सिद्धान्त र राजनीतिबाट दिक्षित नाम चलेका नेता पनि व्यक्तिवादको दलदलमा भासिँदै गइरहेको अवस्था छ । उनीहरूले राजनीतिलाई सेवाको क्षेत्र होइन, कमाइखाने भाँडोको रूपमा परिणत गरिरहेका छन् । चुनाव जितेर भविष्यमा कालो धन थुपार्ने योजनाका साथ चुनावको बेला अथाह पैसाको खोला बगाउने कुसंस्कार आजका राजनीतिक दल र नेतामा मौलाइरहेको छ । आफ्नो निहित स्वार्थ परिपूर्तिकै लागि जनतालाई अथाह ऋणको बोझ बोकाउने तथा राष्ट्रलाई नै बन्दकी राख्न पछि नपर्ने घातक स्वभाव नेताहरूमा विकसित हुँदै गइरहेको छ । आफ्नो निच स्वार्थका लागि साम्राज्यवादको दलाली गर्न पछि नपर्ने, जनतालाई ठग्ने, लुट्ने र भष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गर्ने, तस्करी गर्ने, कालाबजारिया धन्दा गर्ने—यी सारा विकृति चारैतिर बढ्दै गइरहेको छ ।

    त्यति मात्रै होइन, आज हाम्रो समाज जातीयता र धार्मिक भावनामा कुण्ठित हुँदै गइरहेको छ । दलित, जनजाति र गरिब जनता इसाईकरण हुँदै छन् । गरिब जनतालाई चुस्न च्याउ उम्रेजस्तै अनेकौँ वित्तीय बैङ्क, बिमा कम्पनी आधुनिक साहुको रूपमा विस्तार भइरहेका छन् । व्यक्तिगत स्वार्थका लागि हत्या, लुटपाट, बलात्कारजस्ता जघन्य अपराधका घटना दिन–प्रतिदिन घटिरहेको हामीले देख्ने र सुन्ने गरेका छौँ।

    यस्तै संस्कारको हतियारमार्फत बुर्जुवा समाजले प्रगतिशील विचारलाई बारम्बार हत्या गर्दै आइरहेको छ । बुर्जवा समाजको यस्तै आक्रमणका कारण कैयौँ व्यक्तित्व प्रगतिशील समाजका लागि लामो समयसम्म सङ्घर्षमा जीवन ब्यतित गर्ने तर अन्तमा हार खाएर प्रगतिशील जीवनबाटै पलायन हुने गरेका थुप्रै उदाहरण पनि हामीले देख्ने गरेका छौँ । प्रगतिशील आन्दोलनमा यातना भोगेका, जेलनेल खाएका मान्छेसमेत आफ्नो प्रगतिशील मूल्यमान्यताबाट च्यूत भएर उही पुरानै समाजसँग सम्झौता गर्न पुुगेका दुःखद परिणति पनि हामीले भोग्दै आएका छौँ ।

    बुर्जुवा समाजभित्रका यस्ता असङ्ख्य विकृति र विसङ्गतिको बिचमा कुनै पनि मानिस इमान्दार र सिधा भएर टिक्न गाह्रो हुनु स्वाभाविक छ । आस्था र निष्ठामा प्रगतिशील चरित्र निर्माण गरेर बाँच्न मुस्किल हुनु स्वाभाविक छ । तैपनि हामी प्रगतिशील लेखक, कलाकार, तथा साहित्यकारले कठिनाइँदेखि तर्सेर आफ्नो विवेक र सिर्जनालाई बुर्जुवा समाजको अगाडि कदापि बन्धक बनाउनुहुँदैन । जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्दै हामीले समाजमा प्रगतिशील चरित्र निर्माण गर्ने महाअभियानमा निरन्तर अगाडि बढिरहनुपर्दछ । प्रगतिशील कला, साहित्य र संस्कृति निर्माणका लागि पुरानो समाजसँग कदापि सम्झौता नगरौँ, कदापि आत्मसमर्पण नगरौँ ।

    (लेखक प्रगतिशील लेखक सङ्घको केन्द्रीय सचिवालय सदस्य तथा प्रलेस कर्णाली प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ)

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.