मनोज भट्ट
नेकपा (मसाल) का विरुद्ध का. सन्तबहादुर नेपालीको भ्रमको खेती जारी नै छ । भ्रमको खेती गर्ने सिलसिलामा यही भाद्र २७ गते प्रकाशित एउटा लेखमार्फत उहाँले भ्रमित पार्न खोजेका कतिपय विषयमा स्पष्ट पार्ने प्रयत्न गरिने छ ।
निश्चित रूपले अहिले पार्टीले आन्तरिक शुद्धीकरण अभियान चलाएको छ । तर यो शुद्धीकरण अभियानको कार्यक्रम फरक विचार राख्नेहरूलाई पार्टीबाट सफाया गर्ने उद्देश्यले सञ्चालन गरिएको छैन । त्यसरी गर्न पनि मिल्दैन । पार्टीमा देखा परेको अनुशासनविहीनता, निष्क्रियता, स्वार्थपरायणतालाई सुधार गरेर मात्र आठौँ महाधिवेशन गर्ने उद्देश्यले शुद्धीकरण कार्यक्रम सञ्चालन गर्न खोजिएको थियो । तर विविध कारणले महाधिवेशनभन्दा अगाडि त्यो सम्भव हुन सकेन । यद्यपि शुद्धीकरणको आवश्यकता पहिलेको भन्दा झन बढेर गएको छ ।
२०७१ सालदेखि थाती रहेको काम अहिले अगाडि बढाउन खोजिएको छ । तर शुद्धीकरण कार्यक्रमप्रति भ्रम सृजना गर्न र पार्टीपङ्क्तिलाई आतङ्कित बनाउनका लागि का. सन्तबहादुर नेपाली आफ्नो लेखमा पूरा शक्ति लगाउनुभएको छ । लेखमा भाद्र ११ गते पार्टी महामन्त्रीद्वारा जारी वक्तब्यको सम्पूर्ण पाठमध्येको एउटा वाक्यलाई टप्पक टिपेर अगाडि सारेर यो प्रमाणित गर्न खोजिएको छ कि अब मसालभित्र घुसपैठियाको आरोप लगाएर हिजो अल्पमतको पक्षमा रहेकालाई सफाया गरिने छ । आफ्ना मनको आग्रहलाई प्रमाणित गर्नका लागि उहाँले अनाएको शैली हेर्दा दया लागेर आयो । महाधिवेशनपछि अब पार्टीभित्र अल्पमत बहुमत भन्ने कुरा रहेन ।
फरक पार्टीको आलोचना गर्न पाउने जोसुकैलाई अधिकार हुन्छ । तर त्यसरी गरिने आलोचना पनि तथ्यमाथि आधारित हुनुपर्दछ । पार्टीले हिजोको दिनमा फरक विचारको पक्षमा रहेका कुनै पनि कामरेडहरूलाई घुसपैठियाको आरोप लगाएको छैन । यहाँसम्म कि जान वा अन्जानमा कसैबाट त्यस प्रकारको गतिविधिमा सहयोग पुगेको छ भने पनि त्यसतालाई समेत घुसपैठिया भनेको छैन । अटुट रूपले पार्टीका गोपनियता र सर्कुलर निश्चित उद्देश्यअन्तर्गत सार्वजनिक गर्ने तत्त्त्वलाई नै पार्टीले घुसपैठिया र दुस्मनका एजेन्ट भनेको छ । तर लगातार पार्टीको गोपनियता र सर्कुलर सार्वजनिक गर्ने अवान्छित तत्त्वलाई सन्तबहादुरले “वामपन्थी कामरेड” देख्नुहुन्छ । ती घुसपैठिया वा “वामपन्थी कामरेड” सँग सहकार्य गरेर मसाललाई ध्वस्त पार्ने अभियानमा लाग्नुभएको छ । ती घुसपैठियालाई नियन्त्रण गरिने छ भनेर पार्टी महामन्त्रीबाट वक्तब्य आउँदा उहाँ दुखी हँुदैै “यो गौरव कुरा होइन” भन्नु हुन्छ । पार्टी गोपनियता सार्वजनिक गरेका कारण लेनिनले कामेनेभ र जिनोबियेभलेलाई गद्दार र विश्वासघातीको सङ्ज्ञा दिएका थिए । शायद यिनीहरू पनि उहाँको विचारमा “वामपन्थी कामरेड” नै होलान्, होइन त ?
घुसपैठियाको सञ्जाल बनाएर, छद्म रूपमा तथा खुल्ला रूपमा पार्टीमाथि हमला गर्नेहरूले लगातार यो आरोप लगाइरहेका छन् कि अल्पमतको पक्षमा लागेका कारण मतको आधारमा कारबाही हुने गरेको छ । पार्टी विधानले सदस्यको आस्था वा मत चिन्दैन । पार्टीसदस्यले गर्ने गल्ती–कमजोरीको आधारमा निजलाई कारबाही हुने गरेको वा भएको छ । उदाहरणका लागि पार्टीको पत्रिका कानुनको त्यान्द्रो समातेर कब्जा गर्ने काम भयो ।
पत्रिका पार्टीको सम्पत्ति हो । त्यसमा पार्टीले श्रम, सिप, पसिना तथा पत्रिकालाई स्थायित्व दिन आर्थिक लगानीसमेत गर्दै आएको सम्पूर्ण पार्टीपङ्क्तिलाई थाहा छ । पत्रिकालाई कब्जा गरेपछि पार्टीले पत्रिकालाई बन्द गर्ने र त्यसमा आफ्ना सदस्यहरू कुनै पनि प्रकारले संलग्न नहुने निर्णय गर्नु स्वाभाविकै थियो । पार्टीले गरेको निर्णयलाई सबैले पालना गरेर त्यसबारे भएका आफ्ना मतभेद पार्टीभित्र सञ्चालन गर्नुपर्दथ्यो । तर का. सन्तबहादुरले पार्टी निर्णयका विरुद्ध पत्रिकाको सञ्चालक समितिको अध्यक्ष हुनुभयो । अध्यक्षबाट हट्न पार्टीले दिएको निर्देशनलाई अवज्ञा गर्नुभयो । उचित सफाइको मौका दिएर र आफनो निर्णय पुनर्विचार गर्न पार्टीले गरेको आग्रहलाई अस्वीकार गरेपछि मात्र पार्टी कारबाही गर्ने दुखद निणर्यमा पुग्नुपरेको हो । उहाँमाथि कारवाहीको आधार मत हो वा पार्टी निर्णयको अवज्ञा हो ? निश्चित रूपले पार्टी निर्णयको उल्लङ्घन गरेका कारण दुखद निर्णय लिनुपरेको हो । यदि बहुमत पक्षका कामरेडहरूले पनि यस प्रकारको गल्तीमा सामेल भएर पनि यदि मतको आधारमा कारबाही नगरेर पक्षपात गरिएको छ भने सन्तबहादुरलगायतकाले उठाएको कुरालाई जायज मान्न सकिन्थ्यो । स्थिति त्यस्तो पनि छैन ।
सन्तबहादुरजीले “जसको नीति उसको नेतृत्व” लाई सैद्धान्तिक दृष्टिकोणबाट गलत बताउनुहुन्छ । अझ यो विश्वव्यापी परम्परा नभएको दाबी गर्न पनि पछाडि पर्नु भएको छैन । त्यति मात्र नभएर सोझा कार्यकर्तालाई “उल्लु” बनाउने कार्य हो भन्नसम्म भ्याउनुभएको छ । त्यो कुरा पुष्टि गर्नका लागि पाँचौँ महाधिवेशनमा रणबहादुर र मोहनविक्रमले प्रस्तुत गरेका दस्तावेज पारित भए तर किरण नेतृत्वमा चुनिएको उदाहरण दिएर आफनो भनाइको वजन बढाउने प्रयत्न गर्नुभएको छ । तर त्यो उदाहरण दिँदा का. मोहन वैद्य कसरी निर्वाचित हुनुभएको हो ? नीतिअनुरूपको नेतृत्व र केन्द्रीय समितिमा बहुमत नहुँदा त्यसको परिणाम के भयो ? सबैअगाडि झर्लङ्ग छ । दोश्रो महाधिवेशनले गणतन्त्रको लाइन पारित गरेको थियो । तर नेतृत्व राजावादी चयन भएका कारण केशरजङ्ग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा पुर्याएको इतिहास सबैको अगाडि छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशनले छनतुस्यूको आत्मसमर्णवादी कार्यदिशाको आलोचना गरे पनि छनतुस्यू नै नेतृत्वमा निर्वाचित भएका कारण पार्टी त्यो समस्याबाट मुक्त हुन सकेन, जसको परिणाम सन १९२९ मा छनतुस्यूलाई पार्टीबाट निस्कासन गर्नुप¥यो । २६ जुलाईदेखि अगस्त ३, १९१७ मा बोल्सेभिक कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनले सशस्त्र विद्रोहको कार्यनीति पारित गरेको थियो । तर नेतृत्वमा लेनिनको नभएर ट्राटस्कीपन्थीहरूको बहुमत भएकोे भए सशस्त्र विद्रोहको कार्यनीति कार्यान्वयन हुँदैन्थ्यो । त्यसैले यो अपवादबाहेक विश्वव्यापी प्रचलन नै हो । यसबारेमा उहाँको विरोध यो विश्वव्यापी प्रचलनको बारेमा अनभिज्ञ भएर हो वा जसरी पनि मसालको विरोध गर्ने मनोग्रन्थीको परिणाम हो ? बुझन् सकिएन ।
आठौँ महाधिवेशनमा नीतिको प्रश्नमा हाम्राबिचमा गम्भीर प्रकारका मतभेद थिए । ती मदभेदलाई प्रजातान्त्रिक प्रक्रियाबाट हल गरिएका थिए । तर जहाँसम्म नेतृत्व चयनको प्रश्नमा कुनै पनि प्रकारको मतभेद वा दावीविरोध भएको थिएन । हाउसबाट कसैले उम्मेदवारीसम्म पनि दर्ता गराएका थिएनन् । विचारको टुङ्गो लागिसकेपछि नेतृत्व सर्वसम्मत तरिकाबाट निर्वाचित भएको थियो । त्यसको हेक्का रहोस् ।
लेखमा पार्टीमाथि यो गम्भीर आरोप लगाइएको छ कि पार्टीमा कसैले मतभेद वा अन्तरविरोध राख्नेबित्तिकै त्यसलाई लखेट्न सुरु भइहाल्छ, अर्थात् पार्टीभित्र जनवाद छैन । नेतृत्व फरक मतप्रति हमेशा असहिष्णु रहँदै आएको छ । अन्तरविरोधका बाबजुद पनि लेनिनले ट्राटस्कीलाई विभिन्न जिम्मा दिएर सँगै हिँडाए । माओले लिलिसान, वाङमिङ, चाउ एनलाई र देङ स्याओपिङलाई अन्तरविरोधका बाबजुद साथमा हिँडाएको उदाहरण दिनुभएको छ । पार्टीभित्रका दक्षिणपन्थी तथा उग्रवामपन्थीलाई सँगै हिडाएको उदाहरण पेस गरेर तर त्यस प्रकारको कार्यकुशलता हाम्रो नेतृत्वसँग नभएको जिकिर गर्नुभएको छ । भावनात्मक कुरा गरेर सर्वसाधारण कार्यकर्ताको भावनालाई क्यास गर्न खोज्नुभएको छ । कुनै विषयको एउटा पक्षलाई मात्र प्रस्तुत गरेर सोचाइ बनाउनु सही हँुदैन र हुन सक्दैन । यस प्रकारको सोचाइँलाई अधिभूतवादी सोचाइ भनिन्छ ।
का. सन्तबहादुरमा त्यस प्रकारको सोचाइले काम गरिरहेको छ । उहाँले लेनिनले ट्राटस्कीलाई कैयौँ जिम्मा दिएको उदाहरण पेस गर्नुभएको छ । तर यो कुरा बिर्सनुभयो कि सन १९१२ मा बोल्सेभिक कम्युनिस्ट पार्टीको प्राग सम्मेलनले ट्राटस्कीलाई निष्कासन गरेको थियो । यो बताइरहनुपर्ने आवश्यकता छैन कि ट्राटस्की दक्षिणपन्थी अवसरवादी थिए । पार्टीभित्र सधैँ गुटबन्दी गरिरहन्थ्ये । १९१७ मा भएको बोल्सेभिक कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनले ट्राटस्कीको पार्टीमा भर्ती हुन पाऊँ भन्ने आग्रहलाई स्वीकार गरे पनि पन्ध्रौँ महाधिवेशनले उनलाई पुनः पार्टीबाट निस्कासन गर्नुका साथै रुसबाट निस्कासित गर्यो र उनको रुसी नागरिकतासमेत खारेज गरेको थियो । तर कामरेडले ट्राटस्कीलाई लेनिनले जिम्मा दिएको मात्र लेखे । पार्टी विरोधी तथा पछिल्लो अवस्थामा समाजवाद विरोधी हर्कत्का कारण ट्राटस्कीलाई देशनिकाला र नागरिकता खारेजीसम्मको माथिल्लो स्तरको कारबाही भएको कुरा बिर्सनुभयो ।
हाम्रो पार्टीभित्र पनि प्रक्रियागत ढङ्गबाट आफ्ना मतभेद चलाउने कामरेडलाई कारबाही गरिएको कुनै एउटा उदाहरण छैन । स्वयम् कामरेड सन्तजीले नै विगतमा कैयौँ पटक फरक मत राख्दै आउनुभएको थियो । ती मतका विषयमा देशव्यापी फोरम पनि चलेका थिए । पार्टीले पुष्पलाललाई गद्दार भनेर मूल्याङकन गरेको हुनाले त्यस आधारमा तत्कालीन एमालेलाई पनि गद्दार भन्नुपर्छ भन्ने उहाँको मतको सवालमा देशव्यापी फोरम नै चलेको थियो । देशमा गणतन्त्र आइसकेपछि पनि उहाँले कैयौँ पटक प्रक्रियागत ढङ्गबाट आफ्ना मतभेद चलाउनुभएको थियो । उहाँले त्यो गरेबापत् पार्टीबाट कुनै कारबाही भएको थिएन । मतभेद राख्नेप्रति नेतृत्व असहिष्णु हुने भए उहाँ पार्टीको पिबिएम, बैधानिक मोर्चाको महासचिव, समानुपातिकतर्फबाट संविधान सभाको सदस्यमा निर्वाचित, अर्घाखाँचीजस्तो जनाधार भएको जिल्लाबाट संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बन्न कसरी सम्भव हुन सक्दथ्यो ? उहाँले मतभेद राखेका कारण होइन, अनुशासनको उल्लङ्घन गरेका कारण नै कारबाही गर्नुपरेको तथ्य जगजाहेर छ । अन्य कामरेडको हकमा पनि त्यही कुरा लागु हुन्छ ।
छनतुस्यूलाई आत्मसमपर्णवादी नीतिका कारण चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्वबाट हटाउनुपर्याे । तर छनतुस्यूले पार्टीभित्र बेग्लै गुट खडा गरेर पार्टीलाई फुटाउन खोजेपछि उनलाई पार्टीबाट निस्कासित गर्नुपर्याे । तर लिलिसानको उग्रवामपन्थी कमजोरीका कारण पार्टीमा क्षति पुगेको हुनाले उनले स्वेच्छाले नेतृत्वबाट राजीनामा दिए । नेतृत्वबाट हटेर पनि इमान्दारीपूर्वक पार्टीमा काम गरे । पार्टी विरोधी क्रियाकलाप नगरेका कारण उनलाई पहिले अपनाएको विचारको कारण कारबाही गर्नुपर्ने आवश्यकता परेन । तर त्यस प्रकारको आरोप लगाउने कामरेडले त्यो स्प्रिट देखाउन सक्नुभएको छ ? छैन । तर अनुशासन नमाने पनि लिलिसानको दृष्तान्त दिन त के गाह«ो भयो र ?
माओले सयौँ फूललाई फुल्न देऊ, हजारौँ विचारका बिच प्रतिस्पर्धा हुन देऊ भन्नुभएको छ । तर माओले भनेजस्तो वातावरण नेकपा (मसाल) भित्र छैन । विचारमाथि दमन हुने गरेको आरोप सन्तजीले आफनो लेखमा लगाउनुभएको छ । नेकपा (मसाल) भित्र हजारौँ विचारका बिच कसरी प्रतिस्पर्धा हुन्छ भन्ने कुरा थाहा पाउन धेरै टाढा जानु पर्दैन, आठौँ महाधिवेशनको दौरान चलेको छलफललाई हेरे पुग्छ ।
आठौँ महाधिवेशनमा बहुमत र अल्पमतका विचारबाहेक थुप्रै कामरेडका व्यक्तिगत मत वा प्रस्तावका बारेमा समेत छलफल भएका थिए । कतिपय प्रस्तावउपर मतदानसमेत भएको थियो । त्यसैले पार्टीमा विचारमाथि अङ्कुश लगाइन्छ भन्ने कुरामा कुनै सत्यता छैन । त्यो निराधार आरोप मात्र हो । तर पार्टीले एकैचोटि हजारौँ विचारलाई समातेर आफ्नो बाटो निर्धारण गर्न सक्दैन । त्यसो गर्न खोज्दा एकैचोटि पार्टीलाई कैयौँ बाटोमा हिडाउनुपर्ने हुन्छ । त्यसो गर्नु न सम्भव हुन्छ, न त त्यसले कुनै व्यावहारिक परिणाम नै दिन सक्छ । त्यस्तो अवस्थामा हजारौँ विचारका बिच प्रतिस्पर्धा हुन दिएर प्रक्रियागत ढङ्गबाट विजयी भएको विचारको आधारमा नै पार्टीलाई जनवादी केन्द्रीयताको आधारमा डोर्याउनुपर्ने हुन्छ । त्यसैले आठौँ महाधिवेशनले एउटा बाटो निर्धारण गरिसकेको छ । त्यसलाई पक्रेर अगाडि बढौँ ।