गणेश आचार्य
अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) ले मानव समुदायमा ठुलो सङ्कट उत्पन्न गरेको छ । विश्वका ठुला ठुला आर्थिक गतिविधिमा उथलपुथल नै भएको छ । मान्छेको दैनिकी ज्यादै कष्टपूर्ण भएका छन् । यो रोग मान्छे मान्छेबिचको सम्पर्कबाट सर्ने भएकाले मान्छे मान्छेबिचको सम्पर्क तोड्नका लागि गरिएको बन्दाबन्दीले रोगले भन्दा पनि ठुलो समस्या उत्पन्न गरेको छ ।
जब कोभिडको प्रारम्भ चीनको वुहानबाट भयो, त्यो बेला आउने समाचारले मान्छेलाई आतङ्कित र त्रसित पारिरहेको थियोे । सङ्क्रमण जब क्रमशः विश्वका अन्य देशमा पनि देखिन थाल्यो, त्यसपछि विश्व स्वास्थ्य सङ्गठनले अन्य देशलाई पनि सावधानीका लागि अनुरोध गरेको थियोे । तर हाम्रो देशले त्यो सावधानीमा कत्ति पनि ख्याल गरेन । हाम्रोजस्तो विश्वका हरेकजसो देशमा मजदुर पुगेको देशले पहिले त्यहाँबाट रोग आउन नसकोस् भन्नका लागि ठोस योजना बनाउनुपर्ने थियोे । त्यसो गर्नका लागि विश्वका हरेक देशमा भएका नेपाली नागरिकको सुरक्षा र परिवारको सम्पर्कमा आउन चाहनेलाई केही समय निश्चित गरेर स्वदेशमा आउन अनुरोध गर्नुपर्ने थियोे । त्यसो गर्दा देशबाहिर भएका असुरक्षित र तत्काल आउन चाहने नागरिक स्वदेश आउने थिए । यसले गर्दा हामी दुई थरि समस्याबाट मुक्त हुने थियौँ ः एक– विदेशबाट सङ्क्रमित आउने र त्यसैले सङ्क्रमण फैलाउने समस्या टर्ने थियो; दुई– विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार यस्तो बिपत्को बेला पनि सम्झना गरेन भन्ने समस्या हुने थिएन । तर सरकार यो विषयमा गम्भीर भएन, बरु उल्टै भारतमा काम गर्ने नेपालीलाई घरमा आउन नदिएर उतै बाटोमा अलपत्र रोक्ने र कोभिड सङ्क्रमित गराउने काम भयो । जब उनीहरू त्यहाँ सङ्क्रमित भए, तब मात्र स्वदेश ल्याउने काम भयो ।
रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा विशेष योगदान गर्ने नेपालीप्रति सरकारले सौतेलो व्यवहार ग¥यो । त्यति मात्र होइन, अहिले पछिल्लो समयमा उद्धार गर्ने बेला चर्काे शुल्क तिरेर नेपाल आउन आफ्ना लगेजसहित एयरपोर्ट आएका नेपाली नागरिकलाई समेत त्यहीँ अलपत्र छोडेर नेपाली जहाज खाली फिर्ता आयो । आफ्ना नागरिकप्रति यो भन्दा भद्दा मजाकको तरिका अरू के हुन्छ ?
कोभिडको सङ्कटबाट जोगिन वा सङ्क्रमणबाट बच्नका लागि व्यक्ति व्यक्तिबिचको सम्पर्क तोडनु नै सबैभन्दा सजिलो उपाय हो भन्ने कुरा चीनको वुहानमा गरेको अभ्यासले करिब करिब एउटा प्रकारको सिकाइ भइसकेको थियोे । तर यसलाई कसरी व्यवस्थित गर्ने र मान्छेको दैनिक जनजीवन कसरी चलाउने भन्ने विषयमा खास अनुभव र सिकाइ थिएनन् । तर यसलाई अनुशासित ढङ्गले चलाउन सक्ने आधार प्रशस्त थिए ।
कोभिडको सर्वत्र चर्चा हुन थालेपछि दाङमा एउटा कार्यक्रम आयोजना भएको थियोे । त्यसमा म पनि सहभागी भएको थिएँ । त्यसमा सहभागी एक डाक्टरले “हाम्रो देशमा कोभिडको सङ्क्रमण भयो भने पहिला भाग्ने हामी स्वास्थ्यकर्मी हो” भने । त्यही कार्यक्रममा मैले कम्तीमा डाक्टरले यस्तो कुरा सार्वजनिक रूपमा नबोलौँ र हामीले पहिले कम्तीमा डाक्टर तथा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु¥याऔँ भन्ने धारणा राखेको थिएँ । जिल्ला प्रशासन कार्यालयमा भएको पहिलो बैठकमा पनि मैले मान्छेको जीवनभन्दा ठुलो विकास निर्माणको काम होइन, त्यसैले विकास निर्माणमा छुट्याइएको बजेटसमेत यतै लगानी गरेर नागरिकको जीवनरक्षा गरौँ, नागरिकको कुनै गुनासो हँुदैन भन्ने धारणा राखेको थिएँ । तर त्यसमा पनि सरकारको त्यति चासो भएन । जिल्लाको दुर्गम र असुरक्षित ठाउँका भारतदेखि आएका नागरिकलाई सुगम र सुरक्षित ठाउमा राखौँ भन्दा पनि पालिका–पालिकाबिचको क्षेत्रीय भावनाले त्यो हुन सकेन ।
जब नेपालमा लकडाउन प्रारम्भ भयो, त्यसको तीनचार दिनपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका छाक रोकिन थाल्यो । उनीहरूलाई सहयोग गर्नका लागि वास्तविक समस्यामा भएका नागरिक पहिचान गर्न र उनीहरूलाई सहयोग गर्न भनेर वडास्तरमा सर्वदलीय संयन्त्र बनाउने योजना बन्यो । तर त्यसो नभएर कतिपय वडा र पालिकाले आफ्ना पार्टीका मान्छे हेरेर समस्या नहँुदानहँुदै पनि चामलका बोरा र तेलका ग्यालेन पु¥याउने काम गर्यो; तर वास्तविक मजदुर र समस्यामा भएका कतिपय नागरिक तत् तत् पार्टीको सदस्य नभएका कारण भोकै बस्नुपर्ने अवस्था पनि भयो । यो भन्दा अमानवीयता केही हुन सक्दैन ।
नेपालमा अहिले पनि कतिपय जिल्लामा बन्दाबन्दीको अवस्था छ । कतिपय जिल्ला खुल्ला पनि छ्न । तर सरकार र जिम्मेवार निकायमा बस्नेहरू समस्या समाधान गर्नेभन्दा पनि कसैको निर्देशन मान्ने र आफूलाई सजिलो जसरी हुन्छ, त्यही गर्ने गरेको देखिन्छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गर्ने र पिसिआर परीक्षण गर्ने कुरामा पुरै उपेक्षा छ, तर बन्दाबन्दी भने भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ पनि गरिन्न, गम्भीरतापूर्वक सम्भावित ठाउँ पनि खोजिन्न भने बन्दाबन्दीको खास अर्थ नै छैन । कन्ट्याक्ट ट्रेसिङमा विशेष ध्यान दिने र सम्भावित मान्छेलाई तुरुन्तै सामुदायिक आइसोलेसन लैजाने हो भने बाँकी ठाउँमा सबै खुल्ला गराउँदा पनि केही फरक पर्दैन । किनकि बन्दाबन्दीले मान्छे घरबाहिर निस्कन नपाएको समस्या मात्र होइन, यसले देशको विकास र नागरिकको जीविकोपार्जनदेखि धेरै कुरामा क्षति पुराइराखेको छ ।
बन्दाबन्दीकै कारण आत्महत्या गर्नेको सङ्ख्या धेरै डरलाग्दो छ । दीर्घरोगीले औषधि खान नपाएका कारण ठुलो समस्या छ । मजदुरहरू खान नपाएका कारण तड्पिनुपरेको छ । व्यवसायीहरू लगानी र ऋणका कारण चौपट भएका छन् । ऋणमा व्यापार–व्यवसाय गरेर कमाएर ऋण तिराँैला भन्ने योजना बनाएकाहरू ऋण, ब्याज र किस्ताले जीवनमा कहिल्यै उठ्न नसक्ने गरी थचारिँदै छ्न । होटल व्यवसायी, सार्वजनिक गाडी सञ्चालक र त्यसमा काम गर्ने मजदुरको साझबिहानको छाक रोकिएको छ । बिरामीले उपचार गर्ने अस्पताल नपाएर ज्यान गुमाउनुपरेको छ । उपचारमा जानका लागि सवारीपास नपाएर आफ्नो परिवारको सदस्य गुमाउनुपरेको छ ।
यस प्रकारका अनगिन्ति समस्यामा नागरिकहरू तडपिरहेको अबस्था छ । निर्णय गर्नेहरू नागरिकका समस्या के छनु ? यसले कुन क्षेत्रमा कसरी प्रभावित गर्छ र नागरिकलाई के कठिनाइँ छ भन्ने कुराको ख्याल नै नगरेर साम्राज्यवादीले बनाएको मापदण्डका नाममा नागरिकलाई दुःख दिने काम मात्र गरिरहेका छन् ।
कोभिड–१९ को लक्षण, सङ्क्रमण र मृत्युदरलाई हेर्दा यो खास ठुलो समस्याजस्तो देखिदैन । कोभिड–१९ का कारणभन्दा यहीबिचमा अन्य रोगका कारण धेरै मानिस मरिरहेका छन् । यसैका कारण पैदा भएका विभिन्न समस्यालाई हल गर्न नसक्दा उत्पन्न समस्याले आत्महत्या गर्ने सङ्ख्याभन्दा पनि कम छ, कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ।
अब त्यसो हो भने के यो महासङ्कट नै हो त ? यसरी हेर्दा यो महासङ्कटजस्तो लाग्दैन । हामीले वर्षमा एकदुई पटक रुघाखोकी र भाइरल जोरोको समस्या झेल्दै आएका छौँ । यसैका कारण कैयौँ मान्छेको ज्यान जाने पनि गरेको छ । शरीरको इम्युनिटी पावर (रोग प्रतिरोधक शक्ति) कमजोर भएको र एन्टिबडी निर्माण नहुने मान्छेको त सामान्य रोगका कारण पनि ज्यान गइराखेको छ । कोभिडका कारण पनि त्यस्तै मान्छेको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन भन्छ, धेरै मान्छेलाई त सङ्क्रमण भएको थाहा नै नभएर निको हुन्छ । यसको खास औषधि पनि छैन ।
यस्तै नै हो भने किन हामीले यति धेरै तमाशा गर्ने ? कति बेला त लाग्छ, यी चिनियाँ र युरोपियनलाई कहिले रुघाखोकी नै लागेको थिएन कि के हो ? सामान्य रुघाखोकीलाई नै यति ठुलो विषय बनाएर विश्वभरिका मानवजातिको दैनिक जीवन नै खल्बलाउने काम भयो ।
कोरोनाका कारण जुन समस्या छ, यसको समाधानका लागि पनि तत्काल एकै प्रकारको बुझाइ बनाउन जरुरी छ । कतिपय देशहरू यसैलाई आधार बनाएर आफ्नो अर्थराजनीति अगाडि बढाउन खोजिरहेका छन् । यस प्रकारका सङ्कटमा ठुला ठुला आर्थिककेन्द्र र अर्थराजनीति उथलपुथल भएको इतिहास पनि हाम्रा अगाडि जहजाहेर नै छ । त्यसैले मानवीय संवेदनामाथि आफ्नो अर्थराजनीतिक रणनीति अगाडि बढाउने कसैले दाउ खोजेको हो भने यो ज्यादै नै निकृष्ट कार्य हुने छ । यसमा विश्व स्वास्थ्य सङ्गठन विशेष चनाखो हुन जरुरी छ ।
साम्राज्यवादीको स्वार्थमा चल्ने विश्व स्वास्थ्य सङ्गठनले पनि यस्ता सङ्कटले साम्राज्यवादीलाई झनै बलियो बनाउने र उत्पीडित राष्ट्रलाई झनै उत्पीडित बनाउने भएकाले सजगता अपनाउला भनेर विश्वास गर्न सकिँदैन । एउटा गजबको संयोजन के भएको छ भने अहिलेको कोभिड–१९ ले साम्राज्यवादी र अर्थराजनीतिका केन्द्रलाई नै ज्यादा थङ्थिलो पारेको छ । अहिलेको ग्लोबलाइजेसनका कारण कुनै देश मात्र जोगिन सक्ने अवस्था छैन । त्यो बाध्यताका कारण उत्पीडित राष्ट्रलाई पनि केही सहज भएको छ । यो हिसाबले प्राकृतिक सन्तुलन मिलेको छ भन्दा पनि अत्युक्ति नहोला ।
जसरी अहिले लकडाउन, निषेधाज्ञा र नाका सिल भएका छन् । यसबारे सरकारसित स्पष्ट कार्ययोजना नै छैन । पहँुच पुग्नेलाई केही भएको छैन । कतिलाई त भ्रष्टाचार गर्ने र धनआर्जन गर्ने माध्यम पनि भएको छ । तर आम नागरिक सामान्यभन्दा सामान्य र सुरक्षित रूपमा गर्न मिल्ने काम पनि गर्न पाएका छैनन । सरकार अव्यावहारिक निर्णय गर्दै बसेको छ । निर्णय गर्नेलाई व्यवहार थाह छैन । व्यवहार थाह हुने निर्णय गर्ने ठाउँमा छैनन् । यसले गर्दा सुरक्षित रूपमा गर्न सकिने काम पनि नभएर सङ्कट भएको छ । त्यसैले यो सन्तुलन मिलाउन जरुरी छ ।
(लेखक राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष हुनुहुन्छ)