डा. गोविन्दप्रसाद आचार्य
व्यापारी नगर मनपरी सङ्कटका नायक ।
संसारमा तिमी हौ घाती कोरोना गायक ।।
कोरोनालाई संसारमा डुलाउने तिमी ।
फूल फुलेका बगैँचालाई नाश गर्ने तिमी ।।
तिमीभित्र मानवताको रस सुकिसक्यो ।
तिम्रो नाफा कोरोनाले संसार दुखिसक्यो ।।
ओसारेको रोगले तिम्रो जीवन समाउने छ ।
जीवन जाओस् व्यापारीलाई नाफा कमाउनु छ ।।
कोरोनालाई बोक्नेहरू बाटो खोल् भन्छन् ।
सङ्क्रमित पार्नेहरू बन्द गर भन्छन् ।।
कोरोनाले खाए पनि नाफा गर्नैपर्ने ।
कोरोनाले जीवन खाँदा नाफा भन्दै मर्ने ।।
जीवनभन्दा नाफा प्यारो व्यापारीलाई हुने ।
व्यापारीले नाफा गर्याे संसार पार्याे रुने ।।
तिम्रो पुँजी हाउगुजीले कोही डराउँदैन ।
विचारका धनी बाँचे संसार हराउँदैन ।।
ब्यापारीले रोगमा पनि नाफा देखेको छ ।
नाफा गर्ने धनी देशलाई रोगले डसेको छ ।।
रुखको पात झरेजस्तै मान्छे मरेको छ ।
मान्छे मर्छ व्यापारीले नाफा देखेको छ ।।
विचारका मानिसले सोच्ने बेला आयो ।
होइन भने व्यापारीले सारा जीवन खायो ।।