ठाकुर खनाल
आत्महत्या आजको अवस्थाको कहालीलाग्दो समस्या हो । आफूले आफैलाई हत्या गर्नु आत्महत्या हो, जुन विभिन्न तौरतरिकाले गर्ने गर्दछन्; जस्तै– झुण्डिएर, विषसेवन गरेर, खोलामा बगेर, भिरपाखाबाट हाम फालेर, आगोमा जलेर, करेन्ट लगाएर, मोटरगाडीमा ठोक्किएर वा जुन ठाउँमा जस्तो भौगोलिक वा मानव निर्मित संरचना छ, तिनै चिजहरूलाई प्रयोगमा लिएर आत्महत्या गर्ने गरेको पाइन्छ । आत्महत्या मानिसले आवेगमा आएर गर्ने गर्दछ । त्यसको दुष्परिणाम उसका परिवार, आफन्त र समाज आदिलाई पर्ने गर्दछ ।
आत्महत्या एक सामाजिक विकृति एवम् सामाजिक अपराध हो । मानिसलाई उसको जीवनकालमा अनेक थरिका समस्या परिरहन्छन् । मानिसलाई सधैँ सुखैसुख मात्र पनि पर्दैनन् र दुखैदुःख पनि पर्दैनन् । जीवन एक सङ्घर्ष हो, यस सङ्घर्षमय जीवनमा अनगिन्ति विभिन्न किसिमका समस्या परिरहन्छन् भन्ने दृष्टिकोण जसले बनाउँछ, त्यसले आत्महत्याजस्तो कदम कहिल्यै उठाउँदैन । यो जीवनप्रतिको दृष्टिकोण बुझ्न नसक्ने व्यक्तिले जीवन जिउने कुनै विकल्प देख्दैन र उसले आत्महत्याको विकल्प रोज्ने गर्दछ, जसले समाजमा ठुलो नकारात्मक प्रभाव छाड्ने गर्दछ ।
नेपालको सन्दर्भमा कुरा गर्दा यो समस्या झन्पछि झन् विकराल बन्दै गएको छ । लकडाउनको अवधिभित्र ८७५ जनाभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेको डाटा पाउन सकिन्छ । तर यो आत्महत्या गर्ने घटना नयाँ होइन । कान्तिपुरका राजा विश्वजित मल्ल, प्रथम प्रधानमन्त्री भिमसेन थापा, सर्वोच्च अदालतका न्यायाधीश भरतराज उपे्रती, महिला अधिकारकर्मी योगमाया न्यौपाने, नेपाल चलचित्र बोर्डका डाइरेक्टर अशोक नेम्वाङ आदि चर्चित व्यक्तिहरूले पनि आत्महत्या गरेको इतिहास पाइन्छ ।
पछिल्लो समयमा यो समस्या झन् विकराल बन्दै गइरहेको छ । कतै सपरिवार खोलामा हाम फालेर, कतै झुण्डिएर, कतै विषसेवनलगायतका तरिका अपनाएर आत्महत्या गरिरहेको पाइन्छ । पछिल्ला दिनमा त अझ भिडियो लाइभ गरी आत्महत्या गर्ने प्रवृत्ति बढेको छ । प्रायः दैनिक रूपमै यस्ता घटना घट्ने गरेका समाचार सञ्चार माध्यमबाट थाहा पाउन सकिन्छ, जुन यो देश र समाजका लागि ठुलो चुनौती भएको छ । यो भयावह स्थितिलाई कसरी रोक्ने भनेर सम्बन्धित पक्षको चासो हुनु आवश्यक छ, तर यो सम्भव छैन; किनभने यो पुँजीवादउन्मुख सरकार हो ।
आत्महत्या किन गरेको रहेछ भन्ने प्रश्नको उत्तरमा उमेर र जिम्मेवारीअनुसारको उत्तर आउने गर्दछ । घरको सक्रिय मूली मान्छे रहेछ भने ऋण लागेर, वृद्धवृद्धा भए छोराबुहारीले अपहेलना गरेर, नवविवाहित महिला भए श्रीमान वा उसका परिवारजनको उत्पीडनमा परेर, उद्योगी–व्यापारी प्रतिस्पर्धा गर्न नसकी वा व्यापारघाटा सहन नसकेर, सञ्चारकर्मी आफ्नो आत्मसम्मान गुमेर वा आर्थिक कारणले, राजनीतिकर्मी वा समाजसेवी आफ्नो मर्यादामा आँच आएको कारणले, युवायुवती प्रेममा धोका पाएर वा आफ्नो इच्छानुसारको कार्य गर्न नपाएर, विद्यार्थी परीक्षामा कम अङ्क प्राप्त भएर, प्रतिस्पर्धा गर्न नसकेर वा शिक्षक अभिभावकको नजरमा प्रगति गर्न नसकेको महसुस गरेर, कर्मचारी एवम् सेनापुलिस माथिल्ला हाकिमको दबावमा परेर, रोगी उपचार गर्ने आर्थिक अभावमा फसेरलगायत—यी र यस्तै कारण जनाएर आत्महत्या गर्ने गर्छन् ।
उल्लिखित सबै सतही कारण हुन्, यसको अन्तिम कारण पुँजीवाद नै हो । झट्ट हेर्दा कारण अनेक देखिन्छन् । तर प्रत्येक आत्महत्याको पछाडि पुँजीवादी प्रवृत्ति लुकेको हुन्छ । पश्चिमा मुलुकमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक २० सेकेन्डमा विश्वमा एक जनाले आत्महत्या गर्दछन् । त्यो विश्वमा फैलिएको पुँजीवादकै कारण हो ।
पुँजीवादी व्यवस्था यस्तो जहर हो, जसले समाजका सम्पूर्ण क्षेत्रमा प्रभाव पार्दछ जसका कारण समाजका परम्परागत मूल्यमान्यता ध्वस्त हुन्छन् । यसले देशको शिक्षा, स्वास्थ्य, संस्कृति, मनोविज्ञान, राजनीति, भेषभुषा, रीतिरिवाज, लवाइखुवाइ, शासन व्यवस्था, मानवीय सम्बन्धलगायतका विषयमा नकारात्मक प्रभाव पार्दछ । सबैभन्दा ठुलो कुरा मानिसको दृष्टिकोणमा प्रभाव पर्दछ, जसले व्यक्तिलाई व्यक्तिवादी सोचमा परिणत गराइदिन्छ र ‘मै खाऊँ मै लाऊँ’ को स्थितिमा पु¥याउँछ । व्यक्तिका महत्त्वाकाङ्क्षा बढाइदिन्छ, त्यो पूरा नभए मानिसले आत्महत्याजस्तो खराब विकल्प रोज्न पुग्दछ । त्यसै कारणले समाजमा आत्महत्याका घटना घट्ने गर्दछन् ।
केही वर्षपहिले एक जना २० वर्षकी किशोरीले आत्महत्या गरिन् । त्यसको दुईतीन वर्षअगाडि उनका बाबुको औषधि उपचारको क्रममा मृत्यु भएको थियो । सामान्य अवस्थामा चलेको उनको परिवारमा आर्थिक समस्या पर्न लागे । उनका धेरै इच्छाचाहना थिए होलान् । ती पूरा हुन नसक्ने देखेर उनले त्यसो गरिन् ।
अर्को व्यक्ति, जुन पुलिसको राम्रै पोस्टमा जागिर खान्थे; छोराछोरीहरू रामै्र स्कुलमा पढ्दै थिए; श्रीमतीले घरव्यवहार चलाइरहेकी थिइन् । एक्कासी उनलाई ठुलो रोग लागेको कुरा थाहा भयो । औषधि उपचार गर्दा उनको सम्पूर्ण धनसम्पत्ति सकिने सम्भावना थियो । उनले पनि आत्महत्याको विकल्प रोजे ।
अर्को घटना । एक जना व्यक्ति, जसको उमेर छँदै श्रीमतीको मृत्यु भयो । बाध्यतावश उनले अर्को विवाह गरे । दुवैतिरबाट सन्तान भए । उनी बुढा हुँदै गए । परिवारमा मेल भएन । त्यसै कारणले आयआर्जन भएन । घरमा ऋण थपिँदै गयो । ऋण तिर्न नसकी उनले आत्महत्या गरे ।
अर्का व्यक्ति राजनीतिकर्मी थिए । तत्कालीन माओवादी पार्टी संरचनानुसार थरुहट राज्यस्तरमा काम गर्दथे । उनले लामो समय भूमिगत जीवन पनि बिताए । शान्तिवार्तापछि पार्टीले पुँजीवादी लाइन लियो र सरकारमा पनि गयो । अन्य नेताहरूले अकूत सम्पत्ति कमाउँदै गए । त्यसमा उनको फरक मत रह्यो । जागिरलगायत अन्य पेशाको सम्भावना रहेन र अन्तिममा उनले पनि आत्महत्या रोजे ।
केही समय अगाडि एक जना व्यक्तिले आफ्ना सपरिवारसहित त्रिशुली नदीमा हाम फाली आत्महत्या गरे । कलिला निर्दोष बालबच्चाको मृत्यु भयो ।
त्यो कहालीलाग्दो घटना हामी सबैको मनमष्तिस्कमा ताजै छ ।
एक जना पत्रकारले अर्का प्रतिष्ठित पत्रकारलाई आरोप लगाउँदै भिडियो खिचेर आत्महत्या गरे । त्यसले देशमा ठुलो चर्चा पायो । अनेक निर्दोष व्यक्तिले समेत दुख पाए ।
यसरी आत्महत्याका घटना घटी नै रहेका छन् । यी त केही उदाहरण मात्र हुन् । यस्ता घटनाहरू हाम्रो देशको विभिन्न भागमा भइरहेका छन्, जसबाट हामी पीडित र प्रत्यक्षदर्शी पनि बन्न बाध्य छौँ ।
उपर्युक्त जे जति आत्महत्याका घटना भएका छन्, ती सबैको एउटै विश्वव्यापी कारण हो– पुँजीवाद र पुँजीवादी शासन व्यवस्था । पुँजीवादी शासन व्यवस्थामा सरकार कहिल्यै पनि लोक–कल्याणकारी हँुदैन । यो सेवामुखीभन्दा नाफामुखी हुन्छ । शासकहरू निमुखा जनताबाट कर असुलउपर गरी शासनसत्ता सञ्चालन गर्ने, देशको ढुकुटीको दुरूपयोग गरी बिलासी जीवनशैली अपनाउने, भ्रष्टाचार गरी राज्यको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाउने, भ्रष्टाचार गरेको कालो धन ऐसआराम गर्न आफ्ना सन्तानलाई पुग्ने गरी थुपार्ने, अर्को चुनावमा खर्च गरी पुनः सत्तामा पुग्ने गर्दछन् । नोकरशाही पुँजीपतिहरू पनि पुँजीवादी भ्रष्ट सत्ताको चाकरी गरी जनताबाट घुस खाने र जनतालाई सेवामा बेवास्ता गर्ने गर्दछन् ।
उल्लिखित वास्तविक आत्महत्याका घटनालाई थोरै विचार गरौँ । घटनाक्रममा चर्चा गरिएकी ती किशोरीको आत्महत्यालाई केलाउँदा उनका बाबुको उपचार, उनको पालनपोषण, शिक्षादिक्षा, रोजगारको ग्यारेन्टी र उनका अन्य समस्या राज्य सरकारले गरिदिएको भए के उनले त्यसो गर्थिन् ? कदापि गर्ने थिइनन् ।
अर्का पात्र, जुन प्रहरीमा जागिर पनि खान्थे, उनको औषधिउपचार र छोराछोरीको शिक्षादिक्षा राज्यले ग्यारेन्टी गरिदिएको भए उनले पनि आत्महत्या गर्ने थिएनन् ।
अर्का पात्र, जसका दुई गुणका सन्तानहरू थिए, उनीहरूलाई शिक्षादिक्षा र रोजगार दिएर उनलाई पनि योग्यतानुसारको काम र आवश्यकतानुसारको दाम दिएको भए उनलाई ऋण पनि लाग्ने थिएन र उनले आत्महत्या पनि गर्नुपर्ने थिएन ।
अर्का राजनीति गर्ने पात्र, उनका परिवारले उनीसँगै राजनीति गरेका व्यक्तिहरूले जस्तै सांसद, मन्त्री भएको भए, अरूले जस्तै गाडी चढेको भए, घरघडेरी, धनसम्पत्ति जोडेको भए वाह ! क्या बात् ! भन्ने थिए र उनले सोचेकोजस्तो देशमा जनवाद आएको भए उनले कदापि आत्महत्या गर्नुपर्ने थिएन ।
यीलगायत अन्य घटनाहरू, जुन त्रिशुली नदीमा सपरिवार हाम फाल्ने, भिडियो लाइभ गरी आत्महत्या गर्ने—सबै पुँजीवादकै कारण भएका हुन् ।
समाजवादी व्यवस्थामा शिक्षा, सिपमूलक, वैज्ञानिक र प्रयोगात्मक हुने गर्दछ । शिक्षा दिने, योग्यतानुसारको रोजगारी दिने श्रमलाई समान र सम्मानको दृष्टिले हेर्ने हुँदा त्यहाँ आत्महत्या गर्नुपर्ने कुनै कारण नै हुँदैन तर पुँजीवादमा सैद्धान्तिक घोकन्ते पुँजीवादी शिक्षा हुन्छ । त्यही पनि सबै व्यक्तिले आर्थिक अभावका कारण प्राप्त गर्न सक्दैनन् । घोकन्ते शिक्षामा व्यक्तिमा सृजनशीलताको कमी हुन्छ । नातावाद, कृपावादबाट जागिर प्राप्त हुने हुनाले बेरोजगारीको ठुलो समस्या हुन्छ, जसबाट युवाहरूले आफ्नो भविष्य अन्धकार देखेर आत्महत्या गर्ने गर्दछन् । युवाहरूले भविष्य अन्धकार देख्नुपर्ने कारण पुँजीवादले नै सृजना गरिदिएको हो ।
पुँजीवादीहरूले महिलालाई भोग्यवस्तुजस्तै गरी हेर्ने हुनाले विभिन्न प्रलोभन र प्रपञ्चमा फसाई यौनशोषण गर्ने, बलात्कार गर्ने, ठुला होटल र वेश्यालयमा बेच्ने गर्दछन् । त्यसबाट उनीहरू समाजमा पुनस्र्थापित हुन नसक्दा पीडाबोधको कारण किशोरी वा महिलाहरू आत्महत्या गर्छन् । आर्थिक अभाव वा आर्थिक प्रलोभनमा परेर छोराबुहारीले आमाबुबा वा सासूससुरालाई हेला गर्ने औषधिउपचार नगर्ने गर्दछन् र त्यसको पीडा सहन गर्न नसकेर उनीहरू आत्महत्या गर्ने गर्दछन् । आत्महत्याका जुनसुकै घटनालाई सूक्ष्म रूपमा अध्ययन गर्दा प्रमुख कारकको रूपमा पुँजीवाद नै देखिन्छ ।
पुँजीवादले हामीलाई बिगार्नका लागि वा मानसिक दास बनाउनका लागि तिमी जाँडरक्सी, लागूऔषध खाऊ, वेश्यालयमा जाऊ, मोजमस्ती गर, ठुला दर्शन, इतिहास, भूगोल, मनोविज्ञान, समाजशास्त्रको अध्ययन नगर, धेरैजसो समय काममै लाग, केही पैसा कमायौ भने विलासी सामान खरिद गर, मानसिक रूपमा पुँजीवादको दास बनिराख भन्ने कुरा सिकाउँछ । पुँजीवादको दास बन्दैन भन्नेहरूले समयमै कुरा बुझेर यसको चङ्गुलबाट बच्नुपर्छ, नत्र यसले हामीलाई बर्बाद पार्छ र आत्महत्या गर्नसमेत प्रेरित गर्दछ ।
पुँजीवादी संरचनामा आर्थिक असमानता हुन्छ । धनीहरू दिनानुदिन धनी हँुदै जान्छन् । गरिबहरू गरिब हुँदै जान्छन् । अस्वस्थ प्रतिस्पर्धाले गर्दा साना कम्पनी टाट पल्टने गर्दछन् । सरकार खुल्ला बजारीकरणको नीति अवलम्बन गरी वैदेशिक लगानी र उत्पादन देश भित्राउने गर्दछ, जसको कारण साना उद्योगधन्दा धरासायी हुन्छन् । जल, जङ्गल र जमिन विदेशीको कब्जामा जान्छ । स्वदेशी उद्यमी र राष्ट्रिय पुँजीपति वर्ग धरासायी हँुदै जान्छन् । समाजमा विभिन्न प्रकारका विकृति र विसङ्गति बढदै जान्छन्, जसको सामना गर्न नसकेर मानिस आत्महत्या गर्न पुग्दछन्, जुन पुँजीवादको कारण हो ।
जबसम्म पुँजीवादलाई जरैदेखि उखेलेर फाल्ने र त्यसको ठाउँमा समाजवादी व्यवस्था स्थापना गर्न सकिँदैन, तबसम्म यस्ता आत्महत्याजस्ता समस्या यथावतै रहने छन् ।

