काठमाडौँ । यातायात व्यवसायीहरूले विदेशबाट आउने नेपालीलाई जिल्लासम्म पुर्याउन सार्वजनिक यातायात नै सञ्चालन गर्न माग गरेका छन् ।
सरकारले माफियाको दबाबमा उनीहरूलाई महङ्गो भाडा तिराएको भन्दै व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए अहिलेको भन्दा कम भाडामा जिल्ला पुर्याउन सकिने दाबी गरेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले होल्डिङ सेन्टरमा रहेका मानिसहरूलाई महङ्गो भाडादरमा यातायात व्यवसायीबाहेकका सवारी साधनमार्फत लग्ने व्यवस्था गरिएको बताउनुभयो । सार्वजनिक यातायात व्यवसायीका सवारीसाधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्न सक्ने भए पनि सिसिएमसीले माफियाहरूको प्रभावमा यात्रुहरूलाई महङ्गो भाडादर तिर्न बाध्य पारेको रिजालको भनाइ छ ।
व्यवसायीहरूले विदेशबाट आउनेहरूलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी सधानको प्रयोग नगरेको भन्दै आज यातायात व्यवस्था विभाग अगाडि धर्नासमेत दिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालमा आबद्ध व्यवसायीहरूले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पुर्याउन सस्तो भाडा दर प्रस्ताव गरे पनि बेबास्ता गरिएको भन्दै धर्नामा बसेका हुन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरू बबरमहलस्थित विभागको कार्यालयअगाडि धर्नामा बसेका हुन् ।
व्यवसायीहरूले सम्बन्धित प्रदेशका सवारीहरू सम्बन्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेका छन् । कार्यक्षेत्रमा अनुचित ढङ्गले सङ्कलन गरिएको व्यवस्थापकीयबाहेकका आर्थिक क्रियाकलाप बन्द गर्नसमेत माग गरेका छन् ।