दुर्गानाथ खरेल
वर्तमान समाज बुर्जुवा समाज हो । अहिलेका नागरिकले नाफाका लागि काम गर्नेभन्दा पनि नाफाका लागि काम गर्नेहरूले गरेको उत्पीडन बेहोर्नुपर्दछ । यो व्यवस्थामा धनी र सम्पन्नले कायम गरेको नैतिकता, अनुशासन र नियम–कानुनको पालना गर्नुपर्छ । वर्तमान समाजको नियमले सम्पत्ति र धनी व्यक्तिलाई बढी महत्त्व दिन्छ । ढाँटेर, ठगेर, झुक्याएर, फकाएर जसरी पनि धन आफ्नो साथमा जम्मा गर्ने र विलासी जीवन बिताउने अहिलेको व्यवस्थाको विशेषता हो ।
सर्वसाधारण जनता सचेत, सङ्गठित नभएको अवस्थामा उनीहरूले सजिलै विश्वास गर्ने र आफ्नो विश्वासमा घात भएपछि पनि बनावटी र कृतिम कुरामा झुक्किरहने गर्छन् । राजनीतिक पार्टी र नेतृत्वले जनतालाई सचेत र सङ्गठित पार्नुको बदला झन् झन् नयाँ कृतिम तरिका प्रयोग गरेर जनता झुक्याउनमा पाएको सफलतालाई आफ्नो विजय मान्दछन् ।
राजनीतिक क्रियाकलाप जनताको पक्षमा नभई फटाह, शोषकको पक्षमा हुन्छ । उत्पादन क्रियाकलापमा संलग्न भएका किसान–मजदुरको अवस्था अत्यन्त दयनीय र पिछडिएको हुन्छ । उत्पादनमा संलग्न नभएका बिचका व्यापारीको वैभव बढिरहेको हुन्छ । भनाइ र गराइमा एकरूपता हुन्न । जनताको करबाट जम्मा भएको ढुकुटीमा फटाहको हात परेको हुनाले उनका आफन्त, नातागोता र भरौटेको जीवनस्तर जनताको भन्दा माथि हुन्छ । उनीहरू सर्वसाधारण जनताभन्दा माथिल्ला दर्जाका ठहरिन्छन्; किनभने उनीहरूको पहुँच राज्यको ढुकुटीमा हुन्छ । उत्पादनमा ध्यान हुन्न ।
स्कुलकलेजजस्ता औपचारिक शिक्षा लिने ठाउँमा विदेशी साम्राज्यवादी र पुँजीवादीको दलाली गर्नैपर्ने विषय समावेश गराएर आफ्ना दलाल उत्पादन गर्ने कारखानाको रूपमा विकसित गरिन्छ । आफ्ना देशको भूगोल, संस्कृति र जनताको वास्तविक अवस्थाबारे जानकारी गराउने विषयवस्तु पाठ्यक्रमबाट हटाइएको हुन्छ ।
अस्पतालजस्ता स्वास्थ्य उपचार गर्ने संस्थामा बढीभन्दा बढी अप्ठेरोमा पारेर बाध्यतावश बढी पैसा तिर्ने वातावरण निर्माण गरी जनताको दुःखकष्ट बढाउने धन्दा हुन्छ । सामाजिक संस्थामा जनतालाई सचेत र सङ्गठित बनाउनेभन्दा उनीहरूको पिछडिएको चेतनाबाट फाइदा उठाउने उद्योग गरिन्छ । रोजगारी पाएकाको सोचाइमा ‘मैले देश र जनताका पक्षमा मेरो योग्यता, क्षमताको प्रयोग गर्नका लागि जिम्मेवारी पाएको हुँ’ भन्ने भन्दा पनि ‘नुनको सोझो गर्नुपर्छ; म कतै रोजगार हुन नसकेर मेरो मालिकले मलाई रोजगारी दिएका छन्; यो नभए भने म कतै काम लाग्दिनँ; त्यसैले जनतालाई जति सक्यो त्यति ढाँट्ने, झुक्याउने, ठग्ने, शोषण गर्ने गरेर भए पनि मालिकलाई खुशी पार्नुपर्छ’ भन्ने योग्यताको विकास गराइएको हुन्छ । त्यसबाट पनि जनता सताइएका हुन्छन् ।
उत्पादनको क्षेत्रमा राज्यको तर्फबाट भ्रष्टाचारलाई प्रोत्साहन गरिएको हुन्छ । प्रविधि, औषधि, बिउ आदि उत्पादन वृद्धि गराउने वस्तुहरू सर्वसाधारण जनताले सजिलै प्रयोग गर्ने अवस्थामा हुन्नन् । उत्पादन बढ्न सक्दैन । वितरणमा किसानका उत्पादनको उचित मूल्यमा किनिदिने, भण्डारण गर्ने र बढी मूल्य पार्नेमा राज्यको ध्यान नजाने हुनाले सिजनमा सस्तोमा बेच्न र अफ सिजनमा महङ्गोमा किन्न बाध्य हुन्छन् । पैसाको अभावबाट फाइदा उठाउन सुदखोरहरू हरेक जनताको सम्पर्कमा हुन्छन् र अप्ठेरो स्थितिबाट फाइदा उठाउन सक्रिय हुन्छन् ।
राज्यको तर्फबाट राहत र सहयोग गर्ने कार्यक्रम बनाए पनि बिचमा दलालमार्फत जनतासम्म आउने हुनाले ठुलो र कम बिचैमा भ्रष्टाचार भई जनतासमक्ष औपचारिकता पूरा गर्न मात्र आइपुग्छ । सहुलियत बिचैमा गायब हुन्छ । यो सबै व्यक्तिगत पुँजीको र धनी, सम्पन्नको पक्षमा काम गर्दा हुने असङ्गति हो । सर्वसाधारण जनताको जीवनमा अभाव, अशिक्षा र धोकाबाहेक केही हुन्न ।
समाजवादी समाजमा नागरिकहरू किसान, मजदुर र बुद्धिजीवीको हैसियतमा समाजमा काम गर्छन् । यी तीन थरि भन्दा बाहेकको मान्छे तिनीहरूको मातहतमा र तिनीहरूकै निर्देशनमा काम गर्छन् । योग्यतानुसार काम र कामअनुसार दामको हिसाब हुने हुनाले र व्यक्तिगत उत्पादनका साधन नहुने हुनाले आफूले जानेको काम गर्ने र आफ्नै चाहना र तत्परतानुसार योग्यताको विकास गर्न पाउने हुन्छ । जानेको काम गर्ने र नजानेको काम इच्छानुसार सिक्ने र सिक्दा जसले जानेको छ, उसैबाट सिक्ने; सिक्ने–सिकाउनेको बिचमा कुनै अप्ठेरोलाई हटाउन सबैको ध्यान जान्छ । मान्छे मान्छेबिच मायाप्रेम र सद्भावका साथ व्यवहार गरिन्छ । त्यो व्यवहार हुनमा बाधा पार्ने व्यक्तिगत सम्पत्तिको रक्षा गर्न आवश्यकता नहुने र नचाहने हुनाले प्रकृति विरुद्धको सङ्घर्षमा सबैको ध्यान केन्द्रित हुन्छ ।
राज्यसंयन्त्र रहँदासम्म त्यसमा काम गर्ने सर्वहारा वर्ग मात्रै हुने हुनाले सबैको काम जनतालाई सचेत र सङ्गठित गर्नेबाहेक अरू हुन्न । त्यहाँ पनि मजदुर, किसान र बुद्धिजीवीबाहेक अरू कोही हुन्नन् । कोही बुर्जुवा बन्न खोजे भने उनीहरू सबैको हिस्सीपात्र हुन्छन् । आफूले गर्न नजानेको काम सिक्छन् र गर्न जानेको काम गर्छन् । देशभर एउटै केन्द्रीय योजनाअन्तर्गत काम हुन्छ । प्रत्येक नागरिकको सोचाइ मानवजातिको हित, देश र जनताको मुक्ति, प्राकृतिक स्रोतसाधनको बढीभन्दा बढी उपयोगभन्दा बाहेक कृतिम र बनावटी विषय रहन्नन् ।
विद्यालय, स्वास्थ्य संस्था र उत्पादनका केन्द्रमा जनतालाई सचेत र सङ्गठित बनाउने उद्देश्यका साथ काम हुन्छ । सिकाउनमा आउने अवरोधलाई तुरुन्तै हटाइन्छ । उत्पादनका साधन राज्यको र सहकारी स्वामित्वमा हुने हुनाले सम्पूर्ण जनताको हित या सहकारीमा सामेल भएका जनताको हितबाहेकको कुरा सोच्ने कुरै हुन्न । उत्पादनको सबैभन्दा उच्चस्तरको साधन सिकाउने संस्थाको केन्द्र बन्दछ । जानेकालाई सिकाउने र जानेकाबाट बढीभन्दा उत्पादन लिने काम हुन्छ । समाजवादी समाज स्थापना, सञ्चालन र विस्तार गर्ने काम सम्पूर्ण सर्वहारा वर्गको भएको हुनाले संसारका अरू देशमा समेत समाजवादी समाज निर्माण गर्नमा वर्गीय प्रयत्नमा जोडतोडका साथ अघि बढ्छ ।
समाजवादी समाज स्थापना गर्ने काम बुर्जुवा समाज विरुद्धको काम हो । वर्तमान समाजलाई निषेध नगरेसम्म समाजवादी समाज स्थापना हुन्न । त्यसैले समाजवादी समाजको निर्माताहरूले वर्तमान अवस्थामा एकैसाथ दुई वटा काम गर्नुपर्छ ः एउटा, काम बुर्जुवा समाजको अन्त्य गर्ने र अर्को, समाजवादी समाज निर्माण गर्ने । बुर्जुवा समाजलाई निषेध नगरिकन समाजवादी समाज निर्माण गर्न नसकिने भएको हुनाले पहिलो प्राथमिकता बुर्जुवा समाजलाई अस्तित्वहीन बनाएर समाजवादी समाज निर्माणलाई अगाडि बढाउनुपर्छ । यी दुई वटा समाज परस्पर विरोधी समाज हुन् । एउटाको अस्तित्व रहेसम्म अर्काको विकास सम्भव नहुने हुनाले सचेत र सङ्गठित ढङ्गले सङ्घर्ष गर्नुपर्छ ।
संसारमा समाजवादी राज्यसत्ता कहीँ पनि छैन । समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा छ । समाजवादी समाज स्थापना गर्नेहरू रक्षात्मक अवस्थामा भएको र समाजवादी आन्दोलनभित्रका संशोधनवादीको वर्चस्व रहेको वर्तमान अवस्थामा समाजवादी विश्वदृष्टिकोणका लागि आफ्नोतर्फबाट बढी प्रयत्न गर्ने र सङ्गठनको अधिनमा रहेर सङ्घर्ष गर्ने मुख्य पक्ष हो । त्यसका लागि हामीले एकैसाथ दुई वटा सङ्घर्ष गर्न जरुरी छ । एकातिर, कृषि उत्पादन, औद्योगिक उत्पादन वा बौद्धिक उत्पादनमा संलग्न हुने र अर्कातिर, वर्गसङ्घर्षमा भाग लिने ।
वर्गसङ्घर्षमा भाग लिनका लागि सङ्गठित प्रयत्न आवश्यक पर्ने हुनाले आफ्नो देशमा भएका कम्युनिस्ट पार्टीमध्ये तुलनात्मक रूपले सही नीति भएको र व्यवहारमा पनि क्रान्तिकारी पार्टीको अधिनमा रहेर आफ्नो क्रान्तिकारी चरित्रको रक्षा गर्न जरुरी छ । सिद्धान्त र व्यवहार दुवै गलत भएको अथवा सिद्धान्त र व्यवहारबिच फराकिलो अन्तर भएको पार्टीमा रहेर समाजवादी चरित्रको रक्षा गर्न सकिन्न ।
पार्टी छनोट गर्दा पूर्वाग्रहबाट ग्रस्त भएको र व्यक्तिगत हितलाई केन्द्रमा राखेर होइन, वस्तुगत अवस्था र आफ्नो भूमिकाको मूल्याङ्कन गरेर छनोट गर्नुपर्छ । पार्टी ठुलो र सानोको आधारमा भन्दा सिद्धान्त, राजनीति र सङ्गठन—तीन वटै पक्षमा तुलना गरेर सही र गलत छुट्याउने गर्नुपर्छ । त्यसका लागि अध्ययन र मूल्याङ्कन गर्ने क्षमतामा समेत स्तरवृद्धि गर्न जरुरी हुन्छ । सर्वसाधारण जनताको सही र गलत छुट्याउने क्षमता कमजोर भएका कारण कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् । त्यही अवस्था कायम राखेर कम्युनिस्ट पार्टीको सदस्य बन्न खोज्ने प्रयत्न गरियो भने दुःखदायी हुने छ । हामीले पछिल्लो पुस्तालाई दिने सही योगदान भेट्याउने छैनौँ ।
समाजवादी समाज निर्माण गर्ने काम कम्युनिस्टहरूकै हो । कम्युनिस्ट पार्टीको सदस्य आफै समाजवादी समाजबारे जानकार हुनुपर्छ । त्यो भनेको व्यक्तिगत सम्पत्ति थप्ने हो । त्यो भनेको धेरैको श्रम आफ्नो नाममा जम्मा गर्ने र बुर्जुवा बन्ने तरिका हो । त्यसैले त्यो काम कम्युनिस्ट पार्टीको विरुद्धमा छ भन्ने जान्नुपर्छ ।
सामान्य समर्थक भएर बेला बेलामा कम्युनिस्ट पार्टीलाई आर्थिक सहयोग गर्ने र भोट दिने सामान्य नागरिकले पनि गर्न सक्दछन् । कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर समाजवादी समाज बनाउन लाग्ने भनेको उच्चस्तरको काम हो । उसको क्रियाकलाप र अध्ययन उच्चस्तरको हुन जरुरी हुन्छ । ऊ उच्च नैतिक आचरणसहित सक्रिय हुने र वर्तमान व्यवस्था भत्काउने काममा अघिल्लो पङ्क्तिमा लामबद्ध हुनुपर्छ ।
वर्तमान व्यवस्था भत्काएर समाजवादी समाज निर्माण गर्ने धेरै पुस्ताको काम हो, एकै पुस्तामा सम्पन्न हुने काम होइन । वर्तमान पुँजीवादी व्यवस्थाको नेता बनेर कम्युनिस्ट पार्टीको सदस्य बन्ने हावादारी काम गर्ने मान्छे अवसरवादी हो । त्यसले समाजवादी समाज निर्माण गर्न सक्दैन; न त बुर्जुवा समाजलाई भत्काउन नै सक्छ । ऊ बुर्जुवा नै हो । उसले बुर्जुवा समाज कायम राख्ने र कम्युनिस्टलाई भ्रम फिजाउने नाटक मात्र गर्न सक्छ । त्यसैले हामी समाजवादी समाजको नागरिकको जिम्मा पूरा गर्ने कामको थालनी अहिलेदेखि नै गर्नुपर्छ ।

