काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतको भोपालमा निधन भएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता विष्णु अर्यालको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएको छ । नेकपा (मसाल) का पार्टी सदस्य विष्णु अर्याल (का. विक्रम)को गते सड दुर्घटनामा परी निधन भएको थियो ।
मसाल प्रवक्ता रामप्रकाश पुरीले मंगलबार जारी गर्नुएको प्रेस विज्ञप्तिमा गत साउन ३० गते सिन्धुपाल्चोकको लिदी र आइतबार कालिकोटको नाग्ममा गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरिएको छ ।
यस्तै, प्रवक्ता पुरीले टर्कीकी कानुन व्यवसायी तथा मानवअधिकारवादी इबु्र तिम्तिकको आइतवार २३८ दिन लामो भोक हडतालका क्रममा भएको बलिदानीको उच्च सम्मान गर्नुभएको छ ।
यस्तो छ वक्तव्य
रोजगारीको सिलसिलामा भारतको भोपालमा रहनु भएका का. विष्णु अर्याल(का. विक्रम)को सडक दुर्घटनामा परी ३८ वर्षको उमेरमा नै मृत्यु भएको छ । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल)को सदस्य हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह एकता समाजका बिभिन्न समितिमा रहेर पनि काम गर्नुभएको थियो । उहाँ पार्टीको होनहार, इमान्दार र सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीले एक होनहार कार्यकर्ता गुमाउनु परेको छ र त्यसबाट पार्टीलाई गम्भीर क्षति पुग्न गएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।
गत साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिको लिदी तथा भाद्र १४ गते कालिकोटको तिलगुफा नगरपालिका, नाग्मामा पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । नेपालमा भिराला पाखामा रहेका वस्ती पहिरोको र तराईका वस्ती डुवानमा पर्ने समस्या र जोखिमको सामना गर्दै आउनुपरेको छ । सरकारले यस विषयमा कुनै खास योजना बनाएर जोखिमताबाट जनधनको सुरक्षा गर्ने सन्दर्भमा ध्यान दिएको पाइँदैन । जसको परिणामस्वरुप वर्षेनी व्यापक रुपले जनधनको क्षति हुँदै आएको छ । त्यसतर्फ सरकारको ध्यान आकर्षित गराउँदै अहिले लिदी र नाग्मामा भएको जनधनको क्षतिका लागि राहत उपलब्ध गराउनका साथै अप्ठेरोमा रहेका वस्तीहरुको उचित व्यवस्थापन गर्नका लागि समेत हामीले सरकारसित माग गर्दछौँ ।
टर्कीकी कानुन व्यवसायी तथा मानवअधिकारवादी इबु्र तिम्तिकको आइतवार २३८ दिन लामो भोक हडतालको क्रममा मृत्यु भएको छ । टर्कीको सत्ताद्वारा सेप्टेम्बर, २०१७ मा गिरफ्तार गरिएकी तिम्तिकले स्वच्छ र स्वतन्त्र न्यायालय, जेलभित्र मानवीय व्यवहार, गिरफ्तार राजवन्दीको रिहाइ लगायतका विषयलाई लिएर जेलभित्र नै भोक हडताल शुरु गरेकी थिइन् । उनलाई त्यहाँको सत्ताले आतंकवादी ठहर गर्दै १३ वर्ष ६ महिनाको लामो कारवासको सजाय दिएको थियो ।
राजनीतिक तथा सामाजिक परिवर्तन, न्याय र समानताका लागि संघर्षरत तिम्तिकमाथि त्यहाँको सत्ताले लगाएको आरोप प्रजातन्त्र र मानवअधिकारमाथि दमन गर्ने कुचेष्टा भएको कुरा स्पष्ट छ । तर तिम्तिकमाथि जुनसुकै आरोप लगाइएको भएपनि उनले आफ्नो परिवर्तन, न्याय र समानता प्रतिको आस्थामा अविचलित रहँदै जेलवन्दी अवस्थामा नै संघर्ष गर्ने क्रममा सहादत प्राप्त गर्न पुगेकी छिन् । उनको त्यो भोक हडताल परिवर्तन र न्यायका लागि लडिएको शान्तिपूर्ण तर साहसिक लडाई थियो, जसमा उनले साहसपूर्वक आफूलाई वलिदान गर्न उनी तयार भइन् । हामी उनको त्यो साहसिक संघर्षको सम्मान गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उनको त्यसरी हत्या गर्ने टर्की सत्ताको निरङ्कुश, अप्रजातान्त्रिक एवम् मानवअधिकारविरोधी कार्यको विरोध एवम् भ्रत्र्सना गर्दछौँ ।
यो पनिः
रहेनन् मूलप्रवाहका युवा नेता विष्णु अर्याल
युवा कार्यकर्ता गुमाउनु पर्दा मूलप्रवाहलाई गम्भीर क्षतिः अध्यक्ष केसी