ठाकुर खनाल
आफ्नो श्रीमानको मृत्यु हँुदा उसको श्रीमती ज्युँदै उसको श्रीमानको मृत शरीरसँगै चितामा जलेर देहत्याग गर्ने वा भष्म हुने प्रथा सतिप्रथा हो । सतिप्रथा रुढीग्रस्त, अन्धविश्वासी, भेदभावपूर्ण र निन्दनीय प्रचलन हो । यो पूर्वीय संस्कृति, हिन्दु परम्पराको ठुलो कलङ्क हो ।
यो प्रथाको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा यस्तो कुरा उल्लेख गरिएको छ– महादेवकी श्रीमती सतिदेवीका बाबु दक्षप्रजापतिले महायज्ञ लगाउँदा देवगणलगायत सम्पूर्ण व्यक्तिलाई निमन्त्रणा गरे । तर महादेवलाई निमन्त्रणा नगरी उल्टै सतिदेवीको अगाडि महादेवको निन्दा गरे । त्यो निन्दा सहन नसकी आफ्नै बाबुको यज्ञकुण्डमा हाम फाली देहत्याग गरे । यो प्रसङ्गलाई जोडी यो प्रथा चलाइएको थियो ।
सति शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ पवित्र, सदाचारी पतिब्रता भन्ने हुन्छ । सतिप्रथा नेपाल र भारतमा हिन्दु धर्मावलम्बीहरूको बिचमा प्रचलित थियो । यसो भन्दा यो प्रथा हिन्दु धर्मको सुरुवातदेखि नै थियो त भन्दा त्यसको कुनै प्रमाण पाइँदैन । वेद र उपनिषद्मा समेत यसको कुनै चर्चा गरिएको छैन । अझ वेदमा त विधवा विवाहलाई समेत प्राथमिकता दिइएको पाइन्छ ।
एक्सल मेकाले का अनुसार नेपालमा सतिप्रथा ई.पू. ४६४ बाट सुरुवात भएको थियो भने भारतमा ई.पू. पाँचाँै शताब्दीमा सुरु भएको थियो । भारतमा ई.पू. ५१० मा गुप्त नरेश भानु गुप्त युद्धमा मारिएपछि उनकी महारानी सति गएको कुरा उल्लेख भएको पाइन्छ ।
तत्कालीन अवस्थामा भारतवर्षमा बारम्बार ठुलाठुला युद्ध भइरहन्थे । युद्ध जितिसकेपछि युद्धमा हार्ने राजाका पत्नीलाई युद्ध जित्ने पक्षका राजाहरूले विवाह गर्ने वा रखौटी राख्ने प्रचलन थियो । विजेता शत्रु पक्षसँग जान नचाहने महिला, बरु सति जाने गर्दथे । त्यसैबाट सतिप्रथाले प्राथमिकता पाएको पाइन्छ, जुन महिलाका लागि पीडादायक कुरा हो । त्यतिखेर महिलालाई मर्नु न बहुलाउनुको स्थितिमा पु¥याइन्थ्यो ।
सतिप्रथा प्रचलनमा आउनुको अर्को कारण जब पुरुषको मृत्यु हुन्छ, उसको बालबच्चा साना हुन्छन् वा बच्चा नै जन्मिएका हुँदैनन्, त्यस अवस्थामा त्यसको पत्नीलाई सति जान बाध्य पारे । उसको अधिकारको धनसम्पति हात पार्न सजिलो हुने भएकाले यसो गरिन्थ्यो ।
अर्को कारण राजपरिवारसँग वा राज्यसत्तासँग जोडिएको विषय थियो । जब राजाको मृत्यु हुन्छ, उसकी रानीले राज्यसत्ता अनधीकृत व्यक्तिको हातमा जान बाधा पु¥याउने भएकाले उसलाई जबरजस्ती सति पठाए सजिलै राजकाज आफ्नो हातमा पार्न सजिलो हुने भएकाले सति पठाइन्थ्यो । पछि यसले प्रथाको रूप लियो ।
त्यसैगरी, सतिप्रथाको अर्को कारण विवेकहीन पुरोहित र धनाढ्यहरूले महिलालाई उपभोग्य वस्तुसरह ठान्दथे । राजा वा कुलीन व्यक्तिको मृत्यु हँुदा उसका सामान गरगहना सँगै सेलाइन्थ्यो । त्यसैमा उसकी पत्नीलाई पनि उसको वस्तु ठानी ज्युँदै जलाइन्थ्यो ।
पुरोहितहरूको अर्को अन्धविश्वासी कुरा के थियो भने यदि कुनै महिला सति गएमा उसको सम्पूर्ण कुलको पाप नास हुन्छ र त्यो महिला आफ्नो पतिसँग स्वर्गमा करोडौँ वर्षसम्म सुखसँग बस्न पाउँछे भन्ने भ्रमका कारण यसको सुरुवात र विकास भएको पाइन्छ ।
सतिप्रथाको सामाजिक कारणको प्रभावस्वरूप विधवा महिलाले पुनर्विवाह गर्न पनि नपाइने, कुनै पनि प्रकारको रङ्गिन शृङ्गार गर्न नपाइने, परिवार र समाजले श्रीमानको मृत्युको कारकको रूपमा हेर्ने, कुनै व्यक्ति कतै जान निस्कदा विधवा महिला देखे साइत बिग्रन्छ भन्ने, बोक्सीको आरोपमा प्रताडित गर्ने, विधुवा महिलालाई अत्यन्तै अपहेलना गरी बाँच्न मुस्किल बनाउने भएकाले महिलाहरू बाध्य भएर सति जाने गर्दथे । पछि गएर यी कृयाकलाप प्रथाको रूपमा समाजमा प्रचलित हुँदै गए ।
यस्ता कुप्रथाहरू नेपालमा मात्र होइन, अमेरिका र युरोपमा समेत चलेका थिए । युरोपमा सतिप्रथाजत्तिकै खतरनाक प्रथा थियो । त्यसलाई “विच हन्टिङ” भन्ने गरिन्थ्यो । महिलाहरूले तन्त्रमन्त्र गरेको आरोपमा फलामको सिक्रीले हातखुट्टा र घाँटीमा बाँधी ज्युँदै गाड्ने गरिन्थ्यो । यस्तो प्रथाबाट सन् १४५० देखि १७५० सम्म लगभग एक लाखभन्दा बढी महिलालाई ज्युँदै गाडियो । यस्ता महिलामाथिका दर्दनाक घटनाहरू धर्म र अन्धविश्वासका नाममा बढी भएका छन् ।
आमाबाबुहरूले आफू मरेपछि स्वर्ग जान पाइन्छ भन्ने अन्धविश्वासमा परेर वा धनको लोभमा परेर आफ्नी रजस्वला नहुँदैकी छ÷सात वर्षकी अबोध बालिकालाई ६०÷७० वर्षका वृद्ध पुरुषसँग विवाह गरिदिन्थे । उमेरको कारणले ती वृद्ध पुरुषको मृत्यु भयो भने भर्खर लाऊँ लाऊँ र खाऊँ खाऊँको उमेरमा पुगेका युवतीहरू जबर्जस्ती सति जानुपर्ने कहालीलाग्दो प्रथा थियो, सतिप्रथा ।
यो प्रथा कुलघरानियाबाट बढ्दै गएर पछि आम मानिसमा फैलिएको थियो । सुरुमा जे जसरी सति गए पनि पछिल्ला दिनमा सति जान बाध्य पारिन्थ्यो । सति जाँदा चितामा आगोले डढाउँदा महिलाको चित्कार सुनिन्छ भनेर बाजा बजाउने गरिन्थ्यो । कुनै कुनै महिला चिताबाटै भाग्न खोज्दथे । ती भागेर ज्यान बचाउन खोज्नेलाई मलामीले भालाले घोचेर, ढुङ्गैढुङ्गाले हानेर विभत्स हत्या गरी जलाएरै छाड्थे ।
नेपालमा सतिप्रथा व्यापक रूपमा लिच्छवी कालीन अवस्थाबाट भएको देखिन्छ । राजा यक्ष मल्लले वि.सं. १५३२ मा आफ्नो शिलापत्रमा सति जाने महिलाको विवरण उल्लेख गरेका थिए । १७४४ मा काठमाडौँका राजा महिन्द्र मल्लको मृत्यु हुँदा उनका २४ वटा रानी सति गएका थिए । १७६२ पाटनका राजा योग नरेन्द्रको मृत्यु हँुदा उनका १६ वटा रानी सति गएका थिए । १७९९ मा गोरखाका राजा नरभुपाल शाहको मृत्यु हुँदा उनकी रानी सति गएकी थिइन् । १८३१ मा पृथ्वीनारायण शाहको मृत्यु हँुदा रानी नरेन्द्रलक्ष्मीसहित धेरै रानी सति गएका थिए । १८३४ मा राजा प्रतापसिंह शाहको मृत्यु हँुदा आठ वटी रानी सति गए । स्वामी महाराज रणबहादुर शाहको १८६३ मा हत्या हँुदा उनकी कान्छी महारानीबाहेक अरू ठुलो सङ्ख्यामा रानीहरू सति गए ।
यी राजपरिवारभित्रका केही उदाहरण मात्र हुन् । राजाहरूले ठुलो सङ्ख्यामा विवाह गरी भोगविलासमा जीवन बिताउने गर्दथे । उनको मृत्यु हँुदा ठुलो सङ्ख्यामा रानीहरू सति जान बाध्य हुन्थे, जुन सतिप्रथाको नाममा हत्या नै थियो ।
सत्रौँ शताब्दीमा विश्व वैज्ञानिक युगमा प्रवेश गरेर शिक्षा लगायत विज्ञान र प्रविधिमा ठुलो फड्को मारेको पाइन्छ तर नेपालमा राजाहरू भोगविलासमा रम्ने र मृत्युपछि महिलालाई सति जान बाध्य पर्ने गरेको पाइन्छ ।
१९१० मा जङ्गबहादुर बेलायतबाट फर्केपछि मुलुकी ऐन लेखेर सतिप्रथालाई रोक्ने कोसिस गरे । उनले ऐनमा १६ वर्षभन्दा कम उमेरका महिला र जसका आठ वर्षमुनिका छोराछोरी छन्, उनी सति नजानू भनेका थिए । तर उनको मृत्यु हुँदा उनकी माहिली महारानीसहित ४२ जना महिला सति गए ।
माथि उल्लेखित कुरा राजपरिवार र राणासँग सम्बन्धित छन् । यसका अलावा देशका कुनाकुनामा सतिप्रथाको कहालीलाग्दो रूप मौलाइरहेको थियो । नेपालको इतिहासमा उल्लेख नभएता पनि गाउँबस्तीमा विभिन्न वंशावलीलगायतका अभिलेखमा ठुलो सङ्ख्यामा सति गएको कुरा उल्लेख गरेको पाइन्छ । नेपालमा शिक्षाको खासै विकास नभएकाले यति नै सङ्ख्यामा महिला सति गए भन्न गाह्रो छ । तर ठुलै सङ्ख्यामा सति गएको हुन सक्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालमा जस्तै सतिप्रथा भारतमा पनि अझ अगाडिबाटै थियो । तर नेपालका राजाले जस्तो धेरै सङ्ख्यामा विवाह गरी एकै पटकमा ठुलो सङ्ख्यामा महिला सति गएको पाइँदैन । पश्चिम बङ्गालका राजा राजमोहन राय देशभक्त, साहसी, महिलावादी र मानवतावादी व्यक्ति थिए । उनी आफ्नै देशमा भएको सतिप्रथाको कारण चिन्तित र मर्माहत थिए । भारतमा जबर्जस्ती सति जान बाध्य पारिन्थ्यो । कतिपय महिलाहरू आफ्नो ज्यान बचाउन ब्रिटिस क्याम्पमा गएर लुक्ने गर्दथे । महिलाको दयनीय स्थिति थियो । सन् १९२९ मा राजा राजमोहन रायका जेठो दाजुको मृत्यु हँुदा भाउजूलाई जबर्जस्ती सति जान बाध्य पारेको कारुणिक दृश्य देखेका उनले सतिप्रथाको उन्मूलन गर्ने अठोट लिए । उनले तत्कालीन गभर्नर जनरल विलिएम बेन्टिनकसँग कुरो राखे । बेन्टिनक पनि उनका कुरासँग सहमत भए र सतिप्रथाको अन्त्यको प्रक्रिया सुरु भयो । १९३१ मा भारतमा सतिप्रथाको विधिवत अन्त्य भयो ।
नेपालमा १९७७ असार १५ गते चन्द्रशमशेर राणाले यो प्रथाको विधिवत अन्त्य गरे । अहिले सति जाने कुरालाई कानुनतः अपराध मानिन्छ । सतिप्रथाको अन्त्य भए पनि महिलाका समस्या यथावतै छन् । विधवाको पुनर्विवाहको समस्या छ । दाइजोप्रथाको रूप झन् विकराल छ । बालविवाह, बहुविवाह समूल अन्त्य भएको छैन । महिलामाथि हुने हिंसा, हत्या, बलात्कारका घटना दिनानुदिन घटिरहेका छन् । पँुजीपतिहरूले महिलालाई उपभोगको साधनको रूपमा प्रयोग गर्ने चलन झन् बढेको छ । महिला बेचबिखन र विवशतावश वेश्यावृत्तिमा लगाउने कार्य यथावतै छ ।
आज पनि महिलामुक्तिको प्रश्न गम्भीर नै छ । केही आइएनजिओ र एनजिओको भरमा भएका आन्दोलनले महिलामुक्ति सम्भव छैन । जबसम्म पुँजीवादी शासन व्यवस्था रहिरहन्छ, महिलाहरू भोग्य वस्तुको रूपमा प्रयोग भइरहन्छन् । केही टाँठाबाठा महिलाले फाइदा उठाउन सक्लान् तर आम महिला मुक्त हुन सक्दैनन् । जबसम्म वर्गीय समाज रहन्छ, तबसम्म महिलामुक्तिको प्रश्न यथावतै रहन्छ । वर्गीय लडाइँपश्चात् वर्गीय मुक्तिपछाडि महिलालगायत सम्पूर्ण तहतप्काको मुिक्त हुनु सम्भव छ ।

