• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तीन महिनाको लकडाउन अनुभव


  •   बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
  • (२०७६ चैत्र ११–२०७७ असार १० गते)

    Advertisement

    रामबहादुर बुढा

    जीवनको हिसाब महिनामा

    जीवन धेरै मूल्यवान छ । जीवनको मूल्य नाप्ने केले ? धनले, मनले, समयले अरू धेरैले नाप्न सकिएला । यो लकडाउनको बेला मैले जीवनलाई समयले नाप्न खोजे । सेकेन्ड–सेकेन्डको महत्त्व छ । तर मैले महिनामा जीवनको हिसाब गरेँ । वर्षमा १२ महिना हुन्छ । ५० वर्ष बाँच्ने व्यक्ति ६०० महिना बाँच्छ । ८० वर्ष बाँच्ने व्यक्ति ९६० महिना र १०० वर्ष बाँच्ने व्यक्ति १,२०० महिना बाँच्छ । नेपालीहरू धेरै ६०–८० कै उमेरमा मर्दछन् । केही सीमित व्यक्तिहरू मात्र सय काट्ने हुन सत्यमोहन जोशी, माधव घिमिरे, खगुलाल गुरुङजस्ता । तीन महिना जीवनकालको लामो समय हो । यदि हामी कुखुराले पारेको अण्डा भएको भए २२ दिनमा चल्ला निस्किएर पनि यति बेलासम्म सानो सानो कुखुरा भइसक्ने थियौँ । लकडाउन सुरु हुनुभन्दा पहिले म नेपालको सुदूरपश्चिम कञ्चनपुरबाट काठमाडौँ हिड्ने बेला विभिन्न ठाउँमा मकै छर्दै थिए । ती मकै उम्रिएर पनि घोगा हालेर पनि खान मिल्ने भए । बास्तवमा मान्छेको जीवनका लागि तीन महिना थोरै समय हैन । यत्रो लामो तीन महिना बन्दी जीवनजस्तै थुनिएर बस्नुपर्यो । जस्तो स्थिति आउँछ, त्यसलाई अवसरमा ढाल्न सक्नु जीवनको सार्थकता हो ।

    अधुरा काम पूरा गर्ने अवसर

    “अन्तरजातीय विवाह” मैले लेख्दै गरेको पुस्तक हो । पूरा गर्न बाँकी थियो । लकडाउनको अवसर पारेर करिब पूरा गरियो । यदि लकडाउन नभएको भए यो पुस्तक लेखन कार्य अझ ढिलो हुन्थ्यो होला । यही मेसोमा रामशरण शर्माको “शूद्रों का प्राचीन इतिहास”, रजनीकान्त शास्त्रीको “हिन्दू जाति का उत्थान और पतन” लगायतका पुस्तक पढ्ने अवसर मिल्यो । रामशरण शर्माले शूद्रों का प्राचीन इतिहासमा पिएचडी गरेका थिए । पटना युनिभर्सिटीका प्राध्यापक थिए । उनले ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा थुप्रै पुस्तक लेखेका छन् ।

    अखिल नेपाल जनजाति सम्मेलनले गत २०७६ माघमा मुक्तकमैयाको समस्यालाई उठाएर कञ्चनपुर–दाङ अभियान सञ्चालन गरेको थियो । त्यस अभियानको सिलसिलामा बोलेका व्यक्तिका मन्तव्यलाई सङ्कलन गर्ने काम करिब पूरा भएको छ । त्यसलाई प्रकाशन गर्ने निर्णय भएको छ । अखिल नेपाल जनजाति सम्मेलनको प्रकाशन “जनजाति दृष्टिकोण” अङ्क ३ का लागि रचनाहरू जम्मा गरिएका छन् । त्यसको पनि प्रकाशनको पर्खाइमा छौँ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव एवम् युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापाले “नेपाली राज्यसत्ताको चरित्र ः एक बहस” शीर्षकमा पुस्तक लेख्नुभएको छ । यो तीनमहिने कोरोना कालमा थापाजीको उक्त प्रकाशोन्मुख पुस्तक पनि पढियो । यही कालमा मनु विकले लेखी सिध्याएको दुई खण्डकाव्य “रेल” र “मान्छे” लाई हेर्न पाइयो । “रेल” ले मान्छेको जीवनयात्रा बोकेको छ र “मान्छे” ले उत्पीडित मान्छेको कहानी उजागर गर्दै मुक्तिका लागि सङ्घर्षको बाटोमा हिड्न भनेको छ ।

    लकडाउनमा लेख

    लकडाउनमा लेख लेख्नु फरक–फरक कर्ममध्ये एउटा कर्म रह्यो । लेखहरू विभिन्न अनलाइन पत्रिकामा प्रकाशित भए । कोरोना भाइरस र राजनीति (इमिसन खबर डट कम, अप्रैल ९, २०२०), लकडाउनका बेला के गर्ने (रक्तन्युज डट कम, अप्रैल १६, २०२०, नेकपा स्थापनाका दिन पुष्पलालको सम्झना (दैनिक अनलाइन डट कम, अप्रैल २२, २०२०), सरुवा रोग र अन्धविश्वास (युगदर्शन डट कम, अप्रैल ३०, २०२०, अन्तरजातीय विवाह र कथित उच्चजातिको भ्रम (दैनिक अनलाइन डट कम, जुन १, २०२०), एमसिसी सम्झौता खारेजीको प्रश्न (युगदर्शन डट कम, जुन ३, २०२०), भारतले लिम्पियाधुरासम्म नेपालको भूभाग स्वीकार गर्ने दिन आउँछ (दैनिक अनलाइन डट कम, जुन २८, २०२०) ।

    कोरोना साहित्य

    यो तीनमहिने कोरोना कालमा विभिन्न साहित्यिक मनले विभिन्न विधामा साहित्य सृजना गरे । साहित्यमा दुई कविता वाचक दीपा भट्टराई र सरु गुरागाईको शार्दूलविक्रिदित छन्द कविता वाचनले म पनि धेरै आकर्षित भए । ती कविता धेरै पटक दोहोराई तेहेराई सुनेँ । दीपा भट्टराईको वाचनमा रहेको कविताको एक अंश :

    कोरोना अति कष्ट कारक भयो बढ्दै छ आगो भई
    सारा विश्व विषाणुकै बस भयो बल्दै छ डढ्दै छ नि
    एक्लो यो परदेशमा छु अहिले आधार के भेट्छु र ?
    प्यारो राष्ट्र त्यही छ आश्रय दिने फर्कन्छु बाचे घर ।

    कमल कोइरालाले लेखेको र सरु गुरागाईले वाचन गरेको अर्काे कविताको छोटो अंश :

    एकाएक विषाणु तीव्र गतिमा संसारमा फैलियो
    कस्तो निष्ठुर यो रहेछ नि अहो पीडा हजारौँ दियो
    यस्तो भूमि चटक्क छाड्न अहिलै चाहन्छु मैले तर
    लासैको पुलमा चढेर कसरी फर्कूं म आमा घर ।

    बाँचे भेट हुने छ आउँछु कसै मेरै प्रतीक्षा गर
    अहिले सम्भावना भएन कसरी फर्कूं म आमाघर ।

    यी साहित्यिक सृजनाले मलाई पनि जानिनजानी कलम घिसार्नतिर उत्प्रेरित गरे र कविता कोरेँ । “महामरी” शीर्षकको उक्त कविताको केही अंश :

    के आयो संसारभरि आँधीसरि त्रासदी छायो सारा
    बन्दी जीवन कस्तो आपत्ति यो महिनौँसम्म घर
    घरि घरि सुन्नुपर्छ लौ अशुभ मृत्युका ती खबर
    सडक बजार सुनसान सारा मसान घाटसरह ।

    डटेर सामना गर्नुपर्छ लौ यो छैन अर्को विकल्प
    सबै मिलिजुली सङ्कट फाल्न यो गर्नैपर्छ सङ्कल्प ।

    कोरोना कालका गीत

    कैयौँ गीतकार र सङ्गीतकारले यस कोरोना कालमा नयाँ सृजनाहरू गरेका छन् । जीवन शर्माको “लौ आयो ताजा खबर” सन्देशमूलक गीत हो । कोरोनाको पीडा, सङ्घर्ष र भविष्यको आशाजडित यो गीतका केही अंश :

    लौ आयो ताजा खबर
    छाप्दाछाप्दै आयो हजुर ताजा खबर

    ज्यालादारी गरिखाने भोकभोकै परे
    दीर्घरोगी बुढाबुढी दबाइ नपाई मरे
    जताततै बन्दाबन्दी हिँड्नु कहीँ छैन
    घरैभित्र मरे पनि गुहार पाइने हैन ।

    संसारभरि घुम्दै हिड्ने मानिसको चोला
    घरैभित्र कैदी हुँदा कस्तो भयो होला ?
    कोरोनाको कहरले सारा मानवजाति
    तड्पिएर बाँचेका छ्न सास्ती खेप्दै अति ।

    लौ आयो ताजा खबर
    टाढा टाढा बसौँ भन्ने आयो खबर
    हिम्मत हार्ने हैन भन्ने आयो खबर
    घरघरै बसौ भन्ने आयो खबर ।

    यो बिपत्तिमा आसा जगाऊ, उत्साह बढाऊ भन्ने सन्देश गायक शर्माले दिन खोज्नुभएको छ । “लौ आयो ताजा खबर” शीर्षकमा शर्माले द्वन्द्वकालमा यस्तै गन्धर्व भाकामा एउटा गीत तयार पार्नुभएको थियो । विभिन्न टिकटसोमा पनि उहाँले त्यो गीत गाउनुभएको थियो । पोखरा दीपेन्द्र सभागृहमा देखाउन खोजेको कार्यक्रम छ्दम्भेषी टेलिफोनकर्ताले टिकटसो गरेमा सभागृहलाई बमले उडाइदिने धम्की दिएपछि हलवाला डरायो । हल दिएन । सडकमा टिकटसो भयो । पोखरामा हजारौँ मानिसहरू कार्यक्रममा ओइरिए ।

    यस पालि कोरोना सङ्कटका बेला शर्माले गाएको “लौ आयो ताजा खबर” ले अहिलेको सङ्कटसित जुध्न सन्देश दिनुको साथै करिब पन्ध्र वर्षपहिलेको सङ्कटलाई स्मरण पनि गराएको छ । उसबेलाको सङ्कट र यस पालिको सङ्कटमा फरक छ । ऊ मानवनिर्मित सङ्कट थियो, तर यो प्रकृतिप्रदत्त सङ्कट हो । कोरोनाकालमा नेपालको पश्चिम कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेपछि कैयौँ गीतकारले गीत लेखे र गायककारले गाए । यसबिचमा कलाकार नारायण रायमाझी र शान्तिश्री परियारले गाएको “आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो” बेस्सरी चर्चामा रह्यो । यस्ता विभिन्न गीतसङ्गीत कोरोनाकालको पट्यारलाग्दा दिनहरू कटाउनमा सहयोगी बने ।

    नेपालको राष्ट्रियताको आन्दोलन

    कोरोना सङ्कटले सारा विश्व आक्रान्त भइरहेका बेला नेपालमा राष्ट्रियताको पक्षमा आन्दोलन भइरहेको छ । कालापानी क्षेत्रमा भारतद्वारा सडक निर्माण, राष्ट्रघाती एमसिसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्ने कोसिस र नागरिकता विधेयकको समस्याजस्ता राष्ट्रियताका समस्याहरू गम्भीर बनेर आएका छन् । २०७७ वैशाख ३० गतेको मितिमा राष्ट्रिय जममोर्चाको आयोजनामा देशव्यापी रूपमा कालापानी क्षेत्रमा भारतद्वारा नेपालको भूमि अतिक्रमण गरिएकोबारेमा विरोधको कार्यक्रम राखिएको थियो ।

    कोरोना सङ्क्रमणले विश्वव्यापी मानवजाति आकुलव्याकुल भइरहेको बेला वैशाख २६ गते भारतीय विदेशमन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियोमार्फत नेपाली भूमि कालापानी क्षेत्रमा सडकको उद्घाटन गरेको समाचार एकाएक भाइरल भयो । आन्दोलनमा जाऊँ कोरोना सङ्क्रमणको डर, नजाऊँ देशमाथि विदेशीको बज्रपात । राष्ट्रियताको विषयलाई लिएर पूर्वी नेपालमा अखिल (छैटौँ) को आयोजनामा केही कोणसभा आदिको कार्यक्रम भइसकेका थिए । हिजो मात्र जनमोर्चाले दाङमा विरोध कार्यक्रम राखेको थियो । वैशाख २६ गतेको घटनापछि विभिन्न सङ्घसंस्था र पार्टीहरू कोरोना सङ्क्रमणको खतराको पर्वाह नगरेर सडकमा उत्रिरहेका थिए । लकडाउन उल्लङ्घन गरेको आरोपमा प्रहरीले अन्धाधुन्द दमन र गिरफ्तार गरिरहेको थियो । काठमाडौँको बालाजु, कलङ्की, सुकेधारा, वनस्थली, नयाँ बसपार्क, रत्नपार्कबाट वैशाख ३० गते २ बजे एकै चोटि विरोध कार्यक्रम गर्ने भनिएको थियो । ज्ञानेश्वरबाट मनु र म हिँड्दै गइयो रत्नपार्क । बिस दिनपछि पहिलो पटक रत्नपार्कसम्म पुगियो ।

    लकडाउनको मौका छोपेर काठमाडाँैका कतिपय ठाउँका सडक पुनः मर्मत गरिएछ । मौसम सफा । टहटह घाम लागिरहेको थियो । वर्षायामको स्पष्ट प्रमाण सडकका छेउछाउ झार उम्रिएका । कतै कतै एकदुई वटा निजी कार, खानेपानीका गाडी र बाइक चलेका थिए, त्यो पनि अनुमति लिएर । ती सडकका गाडी र हिड्ने यात्रुलाई चेक गर्न चोक चोकमा प्रहरीहरू परिचालन गरिएका थिए । पौने दुई बजे हामी रत्नपार्क शान्तिबाटिका पुगेका थियौँ । सुनसान थियो । प्रहरीहरू ड्युटीमा थिए ।

    दुई बज्नुभन्दा पहिले एक पटक वीर अस्पताल घुमेर आऊँ भनेर गइयो त्यतै । कोरोना सङ्क्रमणको डरले होला, ज्वरोका बिमारीलाई बाहिर छुट्टै पाल टाँगेर बेग्लै चेकजाँच कक्ष बनाइएको थियो । फर्केर रत्नपार्क शान्तिबाटिका पुग्दा केही साथीहरू गणेशमानको शालिकअगाडि उभिएका थिए । प्रहरीको एउटा टुकडी साथीहरूलाई घेरिरहेको थियो । हामी पुग्दा विद्यार्थी नेता विमल पोख्रेल बोल्दै हुनुहुन्थ्यो– “हाम्रो भूमिमा, कालापानी क्षेत्रमा भारतले सडक निर्माण गर्याे । हामीलाई मान्य छैन । यो नेपालको राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप हो ।”

    हिमलाल पुरीलाई मन्तव्य राख्न भन्दाबित्तिकै प्रहरीहरूले पुरीलाई समाउन आइपुगे । त्यतिञ्जेलसम्म तीन वटा प्रहरी भ्यानले हामीलाई घेरिसकेका थिए । जाऊँ जाऊँ भनेर प्रहरीले भ्यानमा हाल्न थाल्यो । पुरीजी बोल्न नपाउँदै प्रहरी भ्यानमा जानुपर्याे । राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेलगायतको टोलीलाई कलङ्कीबाट पक्राउ भएको भनेर प्रहरीको ओकेटोके बोलेको सुनिन्थ्यो । प्रहरीले भ्यानमा कोच्दाकोच्दै निमबहादुर बुढाथोकीले नारा लगाउनुभयो– “भारतीय सेना कालापानी छोड् !” हामी सबैले साथा दियौँ– “कालापानी छोड्, कालापानी छोड् !”

    हामीलाई महेन्द्र पुलिस क्लब पुर्यायो । पुलिस क्लबमा ससानो जलेसा थियो । दुईतीन दिनको नेपालबन्द आदि देखेकै हो । तर यति लामो लकडाउन हामी सबैका लागि नौलो अनुभव हो । हामीभन्दा पहिलै अन्य विभिन्न सङ्गठनका आन्दोलनकारी, जस्तै– मानवअधिकारकर्मी कृष्ण पहाडी, ज्ञानेन्द्र शाही, पुण्य गौतमहरूलाई विभिन्न ठाउँबाट गिरफ्तार गरेर त्यहाँ थुपारेको थियो । हामीभन्दा पछि विवेकशीलका रन्जु दर्शनाहरूलाई लगिएको थियो । लकडानको उल्लङ्घन भनेर लगिएको हो कि भारतलाई विरोध गर्नेलाई यसरी दमन गरिन्छ भनेर भारतलाई सन्देश दिएको हो ! खै ?

    महेन्द्र पुलिस क्लबको आँगनमा बार लगाएर आजभोलि ब्याडमिन्टन खेलमैदान बनाइएको रहेछ । त्यसैको छेउमा दुबो उमारेर आराम गर्न मिल्ने चौर पनि बनाइएको रहेछ । हामी आन्दोलनकारीलाई त्यही दुबोवाला चौरमा थुपारिएको थियो । चौर पनि गेटवाला । पक्राउ परेकालाई ल्यायो, चौरमा हुल्यो, गेट लगाइदियो । खेल खेल्दा आराम गर्न र पक्राउ गर्दा थुनेर राख्न दुबै प्रयोजनका लागि चौर बनाएजस्तो लाग्यो । करिब ६५ जना थियौँ ।

    फरक–फरक विचार बोक्नेको जमघट थियो । २०६२ सालमा बाह्र बँुदे समझदारीकै बेला कालापानी दलले बेचेका हुन् भन्ने राजावादी पनि थिए । अन्तराष्ट्रिय अदालतमा जानु सजिलो छैन, गए पनि जित्न अप्ठ्यारो हुन्छ, जिते पनि फैसला लागु हुन्छ भन्ने छैन, अमेरिका र मेक्सिकोबिचको सीमा मुद्दामा अन्तर्राष्ट्रिय अदालतले मेक्सिकोलाई जिताइदिएको थियो तर अमेरिकाले फैसला स्वीकार गरेन । कूटनैतिक दबाबबाट जमिन फिर्ता गर्नु नै सबैभन्दा उत्तम विकल्प हो भन्ने कृष्ण पहाडीहरू पनि त्यहीँ थिए ।

    गुणप्रसाद आचार्यजी साक्षी बसेर हामी राजमोका १४ जनालाई बेलुकी साँझ छुट्कारा दिएको थियो । कपनबाट आनन्द शर्मा, भैरव रेग्मीसहित, बालाजुबाट मीना पुन, नारायण सापकोटा, रमेश पौडेलसहितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

    २०७७ जेष्ठ २६ छोरी गिनिज र म रत्नपार्क पुग्दा केही साथीहरू वीर अस्पतालतिर जाने मोडमा जम्मा भइसक्नुभएको थियो । टन्टलापुर घाम लागिरहेको थियो । राष्ट्रिय जनमोर्चाको आयोजनामा एमसिसी सम्झौता विरुद्ध देशव्यापी कार्यक्रम राखिएको छ । सोही कार्यक्रमअन्तर्गत काठमाडौँमा पनि कार्यक्रम हुँदै छ । जगत्प्रसाद रेग्मी जोडले चिच्याउनुभयो । सबैले नारा भट्यएपछि छवि खनालले कार्यक्रमको सञ्चालन गर्नुभयो । नेकपा (मसाल) का प्रवक्ता ारामप्रकाश पुरी, राजमोका केन्द्रीय सचिव हिमलाल पुरी र जनवर्गीय सङ्गठनको तर्फबाट रामबहादुर बुढाले एमसिसी सम्झौता खारेजीको बारेमा बोलेका थियाँै ।

    सधैँ भिडभाड भइरहने रत्नपार्कमा मान्छेहरू हामीबाहेक थिएनन्, थिए त केवल प्रशस्त प्रहरी जवान । २०७७ असार २ गतेको मितिमा दश दलको एमसिसी सम्झौता विरुद्ध माइतिघर मण्डलामा विरोध कार्यक्रम थियो । कोरोना आतङ्कले मानिसहरू जम्मा हुनै डर, अनि यातायातको असुविधा, तैपनि दश दलका केही मानिस जम्मा भएर विरोधको कार्यक्रम भयो ।

    २०७७ असार ९ गते एघार दलको एमसिसी विरुद्धको कार्यक्रम थियो । धेरै नेताहरूले भाषण दिनुभयो । एघार दलमध्येका एक दलका नेताले भाषण गर्दा एमसिसीको अर्थ यसरी लगाउनु भयो– एम भनेको महा, सी भनेको छ्ट्टु र सी भनेको कम्पनी । यो महाछ्ट्टु कम्पनीलाई यहाँबाट लखेट्नैपर्छ । मन्चको अघि सडकपेटीमा दुई जना झोला बोकेका युवाहरू भाषण सुन्दै थिए । “ह्या यस्तो पनि भाषण” दुईमध्य एक बोलेको सुनेँ । पछि फर्केर हेरँे । ती को थिए ? मलाई थाहा भएन । “यस्तो नचाहिँदा भाषण गरेर पनि कहीँ जनताले समर्थन गर्छन् ?” भन्दै ती दुई युवा त्यहाँबाट हिँडे । ती एमसिसी सम्झौताका समर्थक थिए वा विरोधी वा तटस्थ ? मलाई थाहा भएन । त्यसबाट मलाई के अनुभूति भयो भने ती युवाहरू जोसुकै भए पनि आजको पढेलेखेका युवालाई जायज तर्क, तथ्य र प्रमाणसहितका कुराबाट प्रभावित गर्नुपर्छ । अब गफले मात्र हुन्न भन्ने लाग्यो । मुख भए मुलुक खाइन्छ भने झैँ दुखको कुरा आज व्यवहारले भन्दा पनि गफले नै देश चलिरहेको छ ।

    अनलाइन बैठक र कार्यक्रम

    अनलाइन बैठक, स्काइप मिटिङजस्ता शब्द सुनिरहेकै हो । तर अनलाइन कार्यक्रमसित परिचित हुनैपर्ने बनायो लकडाउनले । जापान नेपाली एकता समाजको टोकियो एरिया समितिको आयोजनामा मे दिवसको अवसर पारेर मजदुर अधिकार र कम्युनिस्ट आन्दोलनका बारेमा छलफल कार्यक्रम राखिएको थियो । ७५ भन्दा बढीको त्यहाँ उपस्थिति थियो । “मसिनो मिठो चाहिँदैन, पिठो भए पनि देऊ, महल हामीलाई चाहिँदैन झुप्रो बनाउन देऊ !” मजदुरको यो गीत विशेष आकर्षण बन्यो ।

    २०७७ जेष्ठ ४ गते अखिल नेपाल युवक सङ्घ केन्द्रीय समितिको आयोजनामा “भारतीय हस्तक्षेप र सीमा समस्या” विषयक अन्तक्र्रिया कार्यक्रम राखिएको थियो । रतन भण्डारीले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । प्रा.डा. सुरेन्द्र केसीले पनि मन्तव्य राख्नुभएको थियो । मलाई के लागेको थियो भने सरले आज पनि कुन कुन नेताको धज्जी उडाउनु हुने भयो । तर मैले सोचेभन्दा ठिक विपरीत शालीनतापूर्वक बोल्दै भारतसित जिम्मेवार कूटनैतिक पहलकदमी अगाडि बढाएर कालापानी क्षेत्रको भूमि फिर्ता गर्नुपर्छ भन्नुभयो ।

    अर्काे दिन मैले सरलाई फोन गरेर भनेँ– हिजोको प्रस्तुति त मैले सोचेभन्दा फरक भयो नि सर ! सरले भन्नुभयो– “बेला, अवस्था सबै हेर्नुपर्याे नि नेताजी ! लिम्पियाधुरासम्मको नेपाल फिर्ता गर्ने मामिलामा सरकारलाई सहयोग गर्नुपर्छ ।”

    २०७७ जेष्ठ २४ गते “कोरोनाले उत्पन्न सङ्कट र अबको दैनिक जीवन” विषयक अन्तक्र्रिया कार्यक्रम राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको थियो । स्वाथ्यकर्मीहरूलाई उपस्थित गराएर कार्यक्रम गर्ने उहाँहरूको चाहना थियो, तर प्रविधिले धोका दिएर त्यो सम्भव भएन । तैपनि कार्यक्रम राम्रो रह्यो । कोरोना सङ्क्रमण पनि रोक्ने र लकडाउन पनि खुकुलो बनाउँदै जानुपर्ने धेरैजसोको सुझाव थियो ।

    “नेपालको राष्ट्रिय स्वाधीनता र एमसिसी सम्झौता खारेजीको प्रश्न” विषयक अन्तक्र्रिया कार्यक्रम जेष्ठ ३२ गते राष्ट्रिय जनमोर्चा काठमाडौँले आयोजना गरेको थियो । राजमो अध्यक्ष चित्रबहादुर केसी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जलश्रोतविद् दीपक ज्ञवाली र जलस्रोतसम्बन्धी जानकार रत्नसंसार श्रेष्ठलाई पनि बोलाइएको थियो । उहाँहरूको राम्रै प्रस्तुति रह्यो ।

    जनजाति सम्मेलनको गतिविधि

    नेपालमा अनलाइन बैठक वा कार्यक्रमका आफ्नै प्रकारका समस्या छन् । अनलाइन कार्यक्रममा जोडिन पहिलो कुरा कम्पुटर, ल्यापटप, स्क्रिनटच वाला मोबाइलको पहुच नहुने, भएमा नेटको समस्या हुने, बिजुलीको समस्याले नेटलाई प्रभाव पार्ने, साधन र नेट भए पनि चलाउन नजान्नेजस्ता समस्या छन् । तैपनि जनजाति सम्मेलनको केन्द्रीय समितिका साथीहरूसित केहीसित फेसबुकको गु्रप च्याटमा कुरा गरेर र केहीसित फोनमै कुरा गरेर भए पनि केही सहमति कायम गरियो । जेष्ठ १० गते जसोतसो सल्लाह मिलाएर आगामी कार्यक्रम बनाइयो । जेष्ठ १५ गते गर्ने भनिएको थियो तर विशेष कारणबस जेष्ठ १६ गते “गणतन्त्र स्थापनापछि जनजाति अधिकारको अवस्था” विषयक अन्तक्र्रिया कार्यक्रम राखियो । राजमो अध्यक्ष चित्रबहादुर केसी प्रमुख अतिथि रहेको त्यस कार्यक्रममा वक्ता साथीहरूले विगतको जनान्दोलनका भर्भराउँदा दिनको सम्झना गर्नुभयो । धेरैजसो वक्ताले गणतन्त्र आए पनि जनताको सत्ता आइनसकेकाले अझै सङ्घर्ष गर्न बाकी छ भन्नुभयो ।
    जेष्ठ १९ गते राष्ट्रियता र कोरोना सङ्कट–यी दुई विषयमा साहित्यिक रचना वाचन गरिएको थियो । २५ जना सर्जकले कविता, गीत, मुक्तक, लघुकथा वाचन गर्नुभएको थियो । कोरोनाकालको साहित्यको सम्झना रहिरहने गरी वाचित रचनालाई प्रकाशन गर्ने सल्लाह भएको छ ।

    महाभारतसित साक्षात्कार

    महाभारत हिन्दु धर्ममा उत्तरवैदिक कालको मुख्य ग्रन्थ हो । २०६१ सालमा पाल्पा जेलमा बस्दा पाल्पाली काङ्ग्रेसहरू कृष्णप्रसाद अधिकारी र देवराज ढकालले महाभारत पढिरहनुहुन्थ्यो । एमालेका लेखनाथ पोख्रेलले पुष्पलालका रचनाहरू पढिरहनुहुन्थ्यो । “कम्युनिस्टहरूले महाभारत पढ्दैनौँ । राजनीति थाहा पाउन महाभारत पढ्नुपर्छ । खास राजनीति त्यहाँ छ । माक्र्स, लेनिन, पुष्पलाल मात्र पढेर हुँदैन” (यस्तै हुन्थ्यो काङ्ग्रेसी अर्ति) । त्यो कुरा मलाई मनमा लागिरहेको थियो । तर उतिबेला पढिएन । हुन त कक्षा छ र सातमा सामाजिक शिक्षामा पनि केही हदसम्म रामायण र महाभारतको कथा पढिएको हो । आज कृष्णले अर्जुनलाई यस्तो अर्ती दिए उस्तो अर्ती दिए, सन्जयले धृतराष्ट्रलाई यस्तो कुरा सुनाए, उस्तो सुनाए भनेर पढेका कुराहरू काङ्ग्रेसहरू सुनाउनु हुन्थ्यो । यस पालि लकडाउनको बेला महाभारतसित थप साक्षात्कार हुने अवसर प्राप्त भयो ।

    पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क र उडन्ते कथालाई छाडेर कतिपय व्यावहारिक जीवनका लागि काम लाग्ने कुराहरू पनि महाभारतमा पाइन्छ । महाभारत युद्ध मुख्य रूपले दुई जना षड्यन्त्रकारीहरू श्रीकृष्ण र सकुनीको छलकपटको खेलले भरिएको छ । महाभारत युद्ध एक प्रकारले उस जमानाको विश्वयुद्धजस्तै हो । किनभने दशभन्दा बढी राज्यका राजाहरू कौरबको तर्फबाट र सात÷आठभन्दा बढी राज्यका राजाहरू पाण्डबको तर्फबाट भाग लिएका थिए ।

    महाभारतका केही भनाइ

    • श्रीकृष्णले हस्तिनापुरको युद्ध रोक्ने प्रयत्नस्वरूप आयोजित एक राजसभामा भन्छन्– “अन्यायको विरोध गर्ने हरेक व्यक्तिको अधिकार हुन्छ । सत्यलाई त्यो व्यक्तिले नै असत्य मान्दछ, जुन व्यक्तिले असत्यबाट लाभ लिइरहेको हुन्छ ।”
    • सोही सभामा भीष्मपितामह भन्छन– “सूर्यास्त नभएकाले हैरान भएर उल्लुले आफै आँखा बन्द गरेर सूर्यास्त भइसक्यो भन्ने सोच्दछ ।”
    • हस्तिनापुरका महामन्त्री विदुर भन्छन्– “शरीरमा श्वास आउनु र जानुलाई मात्र जीवन भनिँदैन, जीवनमा सारा आशा नष्ट भयो भने त्यो पनि मृत्यु नै हो ।”
    • कृष्णले अभीमन्युलाई भन्छन्– “भयभन्दा ठुलो शत्रु संसारमा केही हुदैन । भयले मनुष्यको मन कमजोर बनाउँछ । भयका कारण मानिसले प्रगति गर्न सक्दैन ।”

    सङ्तले पनि मान्छेको व्यक्तित्व निर्माणमा खास अर्थ राख्छ । मामा सकुनीको युवराज दुर्याेधनलाई बच्चादेखि नै पीडक, निष्ठुरी, कपटी बन्न प्रशिक्षित गरेबाट उनको त्यस्तै व्यक्तित्व निर्माण भयो ।

    जुवा हारेपछि पाण्डवलाई १२ वर्ष वनबास र एक वर्ष गुप्तबास पठाइएको थियो । एक वर्षको गुप्तबासको बेला कतै मुख देखाएमा पुनः १२ वर्ष वनबास र एक वर्ष गुप्तबास जानुपर्ने भनिएको थियो । कौरबले नदेखुन् भनेर एक वर्षको गुप्तबासका बेला पाण्डबहरू विराट राज्यमा आई लुकी बसेका थिए । विराट राजाको दरबारमा राजा विराटकी छोरी उत्तरासित त्यति बेला नै पाण्डबहरूमध्ये एक अर्जुनका छोरा अभीमन्युसित विवाह भएको थियो । विराट राज्यबाटै पाण्डवले महभारत युद्धको मुख्य तयारी गरेका थिए ।

    अहिले विराट दरबार नेपालको विराटनगर भन्सारभन्दा पूर्वतिर खुट्टाले करिब डेढ घण्टा हिडेर पुग्न सकिन्छ । २०६८ सालतिर सुरेन्द्र भण्डारी, योगेन्द्र ढकाल र म भएर विराटनगरबाट हिँड्दै हिँड्दै विराट राजाको दरबारको भग्नावशेस भएको ठाउँमा पुगेका थियौँ । राजा विराटको सेनापति किचक मारिएको ठाउँ किचनाबध अहिले झापामा पर्दछ । त्यहाँबाट फर्केपछि हाँक साप्ताहिकमा विराट राज्यबारे मैले लेखेको एउटा लेख छापिएको थियो । विराटनगर महानगरपालिकाले प्राचीन विराट राज्यबारे एउटा सङ्ग्रहालय बनाउने र विराट राज्यबारे लेखिएका सम्पूर्ण सामग्री सङ्कलन गरेर ठुलो पुस्तक निकाल्ने योजना बनाएको छ । त्यस पुस्तकका लागि हाँकमा छापिएको मेरो लेख पनि उपलब्ध गराएको छु ।

    सङ्ग्रहालय निर्माण, पुस्तक प्रकाशन, विराट क्षेत्रको उत्खननका कार्यमा विराटनगर महानगरपालिका कहिलेसम्म कति सफल हुने हो ? त्यो त व्यवहारमा हेर्न बाँकी नै छ । विराट राज्यबारे यदि राम्रोसँग पुरातात्विक अध्ययन हुने हो भने विराट राज्य र महाभारतबारेमा थप नयाँ तथ्यहरू आउन सक्ला कि ?

    कर्ण महाभारतको एउटा पीडित पात्र हुन् । पाण्डबहरूकी आमा कुन्ती र माद्रीमध्ये कुन्तीले पाण्डुसित विवाह गर्नुभन्दा पहिले नै छोरा कर्ण जन्माएर नदीमा बगाएकी हुन्छिन् । उनीलाई कसैले भेटाएर पाल्छिन, हुर्काउँछिन् । कालान्तरमा उनी एक महान् धनुर्धारी कहलिन्छन् । तर जीवनभरि शूद्रपुत्र भनेर समाजमा उनले अपमान मात्र खेप्छन् । एक मात्र दुर्याेधनले उनलाई समाजमा सम्मान दिलाउँछन् । त्यसबापत् उनी जीवनभरि दुर्याेधनप्रति ऋणि नै रहन्छन् ।

    महाभारत युद्ध नगर्नका लागि श्रीकृष्णले कौरबकहाँ एउटा शान्ति प्रस्ताव लिएर गएका थिए । अन्तिममा कृष्णले एउटा मात्र प्रस्ताव राखेका थिए । उनले भनेका थिए– “भइगयो, कुनै कुरामा पनि सहमति हुन्न भने पाण्डवलाई बस्नका लागि पाँच गाउँ मात्र दिनू, युद्ध रोकौँ । द्रौपदी र पाण्डवलाई मनाउने काम मेरो भयो ।”

    अहँ । दुर्याेधनले त्यो कुरा मान्दैनन् र भन्छन्– “पाँच गाउँ त के, पाण्डवको यो धर्तीमा स्वास रहँदासम्म मेरो हृदयले शान्ति पाउने छैन ।” सम्पूर्ण कुरा छाडेर जम्मा पाँच गाउँ दिन पनि दुर्याेधन तयार नभएपछि आखिर विनासकारी महाभारत युद्ध भयो । कौरबको वंश विनास भयो, पाण्डव सत्तामा आए । कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने सानो कुरा त्याग्न नसकेर सहमतिमा आउन नमान्दा सम्पूर्ण रूपले समाप्त पनि हुनुपर्दाे रहेछ ।

    अम्बेडकरको जीवनीसित साक्षात्कार

    भारतीय संविधानका मस्यौदाकार, भारतमा दलित आन्दोलनका अगुवा र एक चिन्तकका रूपमा भीमराव अम्बेडकरको परिचय निर्माण भएको छ । जातीय समता समाजका पूर्व केन्द्रीय सचिव सूर्य विकको कोठामा प्युठान बिजुवार बजारमा कुनै बेला मैले भीम अम्बेडकरको लेखको सङ्कलन करिब १४ भोल्युममा भेटेको थिएँ । केही वर्षपहिले सूर्यजीको गाडी दुर्घटनामा मृत्यु भयो । अहिले ती किताब कहाँ होलान् भन्ने लाग्छ । केही वर्षपहिले अखिल भारत नेपाली विद्यार्थी सङ्घको एक कार्यक्रममा दिल्ली गएका बेला कार्यक्रम सकिएपछि मेरी छोरी गिनिज, एकता समाजका साथी नारायण शर्मा र मैले दिल्लीको भीमराव अम्बेडकरको एक विशाल प्रतिमाका अगाडि फोटो खिचाएका थियौँ ।

    अम्बेडकर हिन्दु धार्मिक रूढीबाट आजित भएर बौद्ध धर्म ग्रहण गर्न पुगेका थिए । अम्बेडकरका बुबा रामजी सख्पाल बृटिस आर्मीका सुबेदार थिए । जातीयताकै कारण उनलाई कथित उच्चजातिका मानिसले सेनाबाट निकाल्न षड्यन्त्र गरेका थिए । सेनाबाट निस्किएपछि उनीहरूको परिवारको निकै कष्टपूर्ण जीवन बित्यो । समाजमा भीम र उनका एक दाजु, एक भाइ, अनि बहिनीहरूलाई पढ्न नदिन ठुलो षड्यन्त्र गरिए । अनेकौँ कष्ट सहेर सख्पालले भीमलाई पढाउने काम गरे । समाजका कथित उच्चजातका मानिस, प्रशासन, विद्यालयका शिक्षकसमेत उनीहरूको परिवारको विपक्षमा थिए । तर त्यहाँ केही सकारात्मक सोच राख्ने मानिस पनि थिए । अम्बेडकर शब्द भीमको नाममा एक जना शिक्षकले माया गरेर आफ्नो नामबाट जोडिदिएका थिए । उनलाई घृणा गर्ने जमात समाजमा भए पनि उनलाई माया गर्ने र पढ्ने वातावरण दिने उनको परिवार, केही सकारात्मक सोच राख्ने शिक्षक र समाजका अन्य असल मान्छेको साथ पाएर नै उनी अध्ययनमा सफल भए र देश र पिछडिएका समुदायका लागि एक महत्त्वपूर्ण व्यक्ति बन्न पुगे ।

    भ्रष्टाचार

    मानिसहरू अप्ठ्यारोमा परेको बेला सकभर सक्दो सहयोग गर्नु मानवीय दायित्व हो । तर समाजमा यस्ता मानिसहरू पनि छन्, जसले अरूलाई अप्ठ्यारो परेका बेला सकभर लुट्न खोज्छन्, घाँटी अँठ्याउन खोज्छन्न । कालाबजारी र भ्रष्टाचारमा लाग्दछन् । सरकारले सेना र ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबिसिआई) लाई स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा दिएको थियो । जी टू जी (गभन्र्मेन्ट टू गभन्र्मेन्ट) विधिबाट खरिद गर्दा सेनालाई जिम्मा लगाइएको थियोे । ओम्नीले खरिद गरेकोभन्दा सेनाले खरिद गरेको सस्तो र सेनाले खरिद गरेकोभन्दा बजार मूल्य सस्तो भएको कुरा प्रचारमा आएको थियो । उदाहरणका निम्ति ओम्नीले खरिद गरेको एउटा मास्कलाई ८३७, सेनाले खरिद गरेको त्यही मास्कलाई ३६० र बजारमूल्य १५० देखिएको छ । किट्सको खरिद मूल्य ओम्नीबाट ४,५४३, सेनाबाट २,१६० र बजारमूल्य २,१६० देखिएको छ (स्रोत– कान्तिपुर, २०७६ असार ६ गते) ।

    कोरोना धेरैलाई पीडा बनेर आयो तर केही कलुषित मन भएकाका लागि अवसर बनेर पनि आयो । लकडाउनको प्रारम्भमै एक व्यापारीले ज्वरो नाप्ने हट गन डबल मूल्यभन्दा ज्यादा मूल्यमा बिक्री गरेको पाइएपछि काठमाडौँमा पक्राउ परेका थिए । काठमाडाँैमै एउटा वडाले एक व्यापारीलाई राहतका लागि पाँच÷पाँच किलो चामलको पोका बनाउन भनेको थियो । ती व्यापारीले चार चार किलोको पोका बनाएर पाँच किलोको दरले बिल दिएछन् । राहत वितरण भइसकेपछि थाहा भयो कि ती पोका चार किलोका थिए । छलीको नालीबेली खुलेपछि उनी पक्राउ परे । कोरोनाको नाममा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार भयो, भइरहेको छ ।

    दुःखका कुरा

    कोरोना सङ्कटले धेरैलाई रुवायो । खासगरी गरिखाने गरिब दुखी मजदुर, किसानलाई कोरोनाले प्रताडित बनायो । अकालमा ज्यान खायो । भारतमा रेल बन्द छ भनेर रेलको लिक हुँदै कार्यस्थलबाट घर फर्किरहेका १२÷१५ जना मजदुरलाई अचानक रेल आएर टुक्राटुक्रा पार्यो । झोलाका रोटी र अचार रेलका लिक वरपर छरपस्टिएका थिए । एक जोडी मजदुर बच्चा बोकेर साइकलमा घर फर्कदै थिए । ती दुबैलाई गाडीले हानेर मारिदियो तर नाबालक बच्चा रोइरहेको थियो । भोकैप्यासै लाखौँ मजदुरहरू हजारौँ किलोमिटरसम्म पैदलयात्रा गर्न विवश भए । सरकारले वा मालिकले कार्यस्थलमा खाना बस्नको व्यवस्था गर्न नसकेको र घर फर्कन व्यवस्था पनि गर्न नसकेको अवस्थामा मुम्बैको बान्द्रा रेलवे स्टेसनमा र दिल्लीको आनन्द विहार बस स्टेसनमा भएको हङ्गामा स्मरणीय छ ।

    यस्ता कैयौँ कारुणिक दृश्य भारतीय टिभी च्यानलमा देखिएका थिए । कैयौँ नेपालीले पनि असाध्य पीडा भोगे । एक जना नेपाली युवा मुम्बईदेखि करिब दुई हप्ता पैदल यात्रा गरेर नेपालको बर्दिया आइपुगे । त्यो गर्मीमा तातो सडकमा हिड्दा–हिड्दा उनको शरीरको पानी सिद्धिएको थियो होला । उनी नेपाल आएर बर्दियाको एउटा विद्यालयको क्वारेन्टाइनमा बसे । राम्रोसँग खानपिन र स्याहारसुसार पाएनन् । उनको मृत्यु भयो । कोरोनाबाट मृत्यु भएको भनी डाक्टरले लास छुन दिएनन् । मेरो देश प्रवेश गर्न देऊ भनेर चिच्याइरहेका नेपालीको रोदन र नेपाल सरकारले डब्लुएचओको प्रोटोकलको हवाला दिएर आफ्ना नागरिकलाई डण्डाका भरमा नेपाल प्रवेश गर्न नदिएको घटना अथाह पीडादायी घटना हो ।

    महाकालीपारि कैयौँ दिनसम्म नेपालीहरू भोकभोकै बसे, नेपाली सुरक्षाकर्मीले वारि आउन नदिएपछि । कति नेपाली महाकालीमा हाम फालेर नेपाल प्रवेश गरे । कोरोना लिएर आयो भन्ने शङ्कामा कति जना प्रहरीको कुटपिटमा परे । भरिया सूर्य तामाङ लकडाउनमा खाना खान नपाएर कीर्तिपुरको सडकपेटीमा भोकै मरेको खबर कम्ति दुःखपूर्ण छैन । मजदुरी गर्न हिँडेका थारूका छोराछोरी सोलुखुम्बुबाट बर्दिया र कैलाली घरैसम्म हिँडे ।

    देउखुरीबाट एक दिन हनुमान चौधरीले सुनाउनुभएको थियो, जीवनमा यस्तो अनुभव कहिल्यै भएको थिएन । रातदिन जुत्ताचप्पलको आवाज मात्र सडकमा सुनिन्छ, गड्पगड्प । १०, १५, २०, ५० जनाको हुल बाधेर मानिसहरू रातदिन हिँडिरहेका थिए । कतिपय ठाउँमा त्यस्ता यात्रुहरूका लागि स्थानीयले पानी र खानाको व्यवस्था गरेका थिए । कतै कतै गाउँपालिका र नगरपालिकाले पनि ती उद्दारका काम गरेका थिए । लकडाउनमा यातायातका साधन नभएपछि सुरुका दिनमा ती दृष्य देखिएका थिए । कैलालीको एक क्वारेन्टाइनमै एक स्त्रीको बलात्कार अर्काे दुखद घटना थियो ।

    रुकुम पश्चिमको जातीय हिंसा

    जेष्ठ १० गते भेरी नगरपालिका–५ राना गाउँका नवराज विकले रुकुम चौरझारी नगरपालिका सोतीकी ठकुरी जातकी आफ्नी प्रेमिकालाई दुलही बनाउन साथीहरू लिएर जाँदा कुटी कुटी सामूहिक हत्या गरियो । तत्कालै कसैले सडक सङ्घर्ष गरेको पनि थाहा भएन । यो जातीय नरसंहारको विरोध नगरी चुप लागेर बस्न मनले मानेन । जातीय हिंसा र मानवता विरुद्धको अपराधको घटनाको विरुद्धमा आवाज दिनुपर्छ भन्ने ठानेर जेष्ठ १३ गते हाम्रो परिवार, मेरी बहिनी तिर्सनाको परिवार, काठमाडौँमा हाम्रो कोठाका छिमेकी साथीहरू अछाम, पाँचथर, दाङ, सुनसरीका समेत भाइबहिनी सबैलाई जम्मा गरेर रुकुम घटनाका विरुद्ध प्लेकार्ड बनाएर प्रदर्शन गरी सबैले फेसबुकमा प्रचार गयौ । त्यो पनि एउटा सानो र सामान्य कामजस्तो भए पनि अन्यायका विरुद्धको एउटा महत्त्वपूर्ण काम नै होजस्तो लाग्छ । किनकि सन्देश के दिन खोजेको हो भन्ने कुरा मुख्य हो । त्यसपछिका दिनमा रुकुमको जातीय नरसंहार विरुद्धको कार्यक्रममा हामी सहभागी भयौँ ।

    हाँसोलाग्दा कुरा

    पूर्वीतराईमा दिनभरि क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रातभरि घरमा सुत्न गएको समाचार हाँसोलाग्दो छ । त्यही कुरा पश्चिम तराईका साथीहरूलाई सुनाएँ । रातभरि घरमा सुत्ने, बिहान आँखा मिच्दै क्वारेन्टाइनमा चियानास्ता खान पुग्ने, यो के ताल हो ? पश्चिम तराईका साथीहरूले हाँस्दै सुनाउनुभा’थ्यो । यताको पनि कथा त्यस्तै छ । कोरोनाले गर्दा कतिपय मानिसमा मास्क लगाउने बानीको रूपमा विकास भएको छ । घरभित्र बस्दा पनि मास्क लगाइरहने । यो पनि हाँसोलाग्दो कुरा हो । मुखमा बाधेको टालोले झट्ट मान्छे चिन्न मुस्किल । एकले अर्काेलाई चिनेपछि ओहो भनेर एक पटक हास्नुपर्ने घटना धेरैले बेहोरेका छन् ।

    अप्ठ्यारोमा सहयोगी

    जब मानिसलाई अप्ठ्यारो पर्छ, उसलाई आफन्त, इष्टमित्र, साथी आदिको आवश्यकता महसुस हुन्छ । यो आम मानवीय स्वभाव हो । बिपत्तिको बेलामा सबै काम छाडेर पनि सहयोगका लागि मैदानमा जानुपर्ने हो । तर अहिले त्यो सम्भव भएन ।

    २०७२ सालमा भूकम्प जाँदा हामी टहरा बनाउन, राहत बाँड्न र कतिपय उद्दारका काममा लागेका थियौँ । अन्य प्राकृतिक प्रकोपका बेला पनि हामी जनताका बिचमा जाने र राहत तथा उद्दारका काममा लाग्ने गरेका थियौँ । यस पटक जनप्रतिनिधि र स्थानीय साथीहरू स्वयम्सेवकका रूपमा खटिनुभयो तर व्यवस्थित र योजनाबद्ध तरिकाले फिल्डमा धेरै साथीहरू परिचालित हुन सम्भव भएन । नेपालमा अहिले पनि कोरोना सङ्क्रमण बढिरहेको छ । सरकारी निकायलाई जिम्मेवार बन्न दबाब दिएर र एकर्कामा सहयोगको भावना विकास गरेर यो सङ्कटलाई हामीले सामना गर्नुपर्दछ ।

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.