काठमाडौं । महात्मा गान्धीको एउटा चस्मा चार करोड रुपैयाँभन्दा बढी बढीमा बिक्री भएको छ । ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको हो ।
एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन् । आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताए ।
ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो ।
उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्च्छित भएको उनी बताउँछन् । चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।
स्टोका अनुसार खामभित्र हालेर शुक्रवार राति पत्रमन्जूषामा कसैले खसालिदिएका थिए र सोमवारसम्म चस्मा त्यहीँ थियो । खाममा चस्मा फेला परेपछि उनले आफ्ना मालिकसँग सम्पर्क गरी चस्माको महत्त्वबारे बताए।
अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन् ।
ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए । त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ। बीबीसी