किएभ । अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिङ्क सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ ।
युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले बुधबार टेलिग्राममार्फत स्पेसएक्सले युक्रेनमा प्रयोग भइरहेका स्टारलिङ्क टर्मिनलको गति सीमित गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार उक्त निर्णयबारे युक्रेनी रक्षाबललाई पूर्वसूचना प्राप्त नभएकाले केही सैन्य अभियान प्रभावित भएका थिए । उनले यस निर्णयको सम्भावित कारणबारे थप स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै यसको सम्बन्ध तत्कालीन राजनीतिक परिस्थितिसँग हुन सक्ने आशङका व्यक्त गरे ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिङ्कको सैन्य सेवामा लगाइएको सीमाप्रति चिन्ता व्यक्त गर्दै यसले सैन्य गतिविधि सञ्चालनमा कठिनाइ उत्पन्न गर्न सक्ने र मानवीय क्षतिको जोखिम बढाउन सक्ने बताए ।
स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले स्टारलिङ्क सञ्चार प्रणालीको गति तथा प्रयोगसम्बन्धी सीमा अमेरिकी सरकारको निर्णयअनुसार निर्धारण हुने बताए । (रासस/सिन्ह्वा)





