इस्लामावाद, ९ कात्तिक । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा छ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।
सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना प्राप्त भएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही सञ्चालन गरिएको थियो । आइतबार जारी विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का छ जना सदस्य मारिएको उल्लेख छ । गोली हानाहानमा दुई सैनिकले पनि ज्यान गुमाएका थिए ।
सेनाका अनुसार कारबाहीका क्रममा हतियार र गोलाबारुदसमेत बरामद गरिएको छ । मारिएका आतङ्कवादी सुरक्षा बल तथा कानून कार्यान्वयन गर्ने निकायमाथि आक्रमण गर्नुका साथै सर्वसाधारणमाथि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।
क्षेत्रमा रहेका अन्य आतङ्कवादीलाई खोजी गरी निष्क्रिय पार्न सुरक्षा बलले थप अभियान सञ्चालन गरिरहेको आइएसपिआरले जनाएको छ ।





