सान एन्टोनियो डे लस अल्टोस (भेनेजुएला), २३ असोज । भेनेजुएलाकी पूर्वन्यायाधीश बार्बरा सेजर सिएरोले विपक्षी नेता मारिया कोरिना मचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णयमा सरकारी धम्कीका कारण हस्ताक्षर गरेको खुलासा गर्नुभएको छ । यसपछि मचाडोमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग पुनः उठेको छ ।
सन् २०१४ देखि २०२४ सम्म सर्वोच्च अदालतमा न्यायाधीश रहनुभएकी ५१ वर्षीया सेजरका अनुसार निर्णयमा हस्ताक्षर गराउन सरकारले उहाँका दुई भाइ र एक बहिनीलाई पक्राउ गरेको थियो । तीनै जना सैनिक सेवामा कार्यरत थिए । “हस्ताक्षर गरे उनीहरूलाई रिहा गर्लान् भन्ने सोचेँ । तर, हस्ताक्षर गरेपछि पनि उनीहरू हिरासतमै रहे”, उहाँले एएफपीलाई भन्नुभयो ।
मचाडोले सन् २०२३ मा विपक्षी दलको प्राथमिक निर्वाचन जित्नुभएको थियो । तर, चुनाव लड्न अयोग्य ठहरिएपछि उहाँले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुभएन । उहाँको पार्टीले कूटनीतिज्ञ एडमन्डो गोन्जालेज उरुटियालाई उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा निकोलस मादुरो विजयी घोषित भए पनि विपक्षीले धाँधली भएको दाबी गरेका थिए ।
सेजरको खुलासापछि मचाडोको पार्टी भेन्टेले प्रतिबन्ध गैरकानूनी भएको भन्दै तत्काल हटाउन र घटनाको अनुसन्धान गर्न माग गरेको छ । सेजरले आफन्त पक्राउ परेपछि मचाडोमाथिको प्रतिबन्धसहित नौवटा आदेशमा हस्ताक्षर गर्न दबाब दिइएको बताउनुभयो ।
आफन्तमाथि मादुरो र ताचिरा राज्यका गभर्नरको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाइएको थियो । सेजरका एक भाइ अझै नजरबन्दमा छन् भने अर्का भाइ र बहिनी न्यायिक निगरानीमा रिहा भएका छन् ।
सन् २०२४ को निर्वाचन परिणाम कानूनसम्मत नभएको बताउँदै सेजरले भेनेजुएलामा न्यायपालिकाको स्वतन्त्रता नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले घोषणा गरेको न्यायिक सुधारप्रति पनि आशङ्का व्यक्त गर्दै कानून कार्यपालिकाको हस्तक्षेपबिना लागू हुनुपर्नेमा जोड दिनुभयो ।