महेश रिजाल, भालुबाङ ।
दाङको लालमटियामा ज्येष्ठ नागरिकको बृहत् भेला सम्पन्न भएको छ । २०८३ असोज २१ गते बुधबार ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उदघाट्न प्रमुख अतिथि तथा संविधानसभाका सभासद रश्मिराज नेपालीले ब्यानर वाचन गरेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्यमा राख्दै उहाँले देश कहालीलाग्दो अवस्थामा गुज्रिरहेको स्पष्ट पार्नुभयो ।
‘युवाशक्तिजति विदेश पलायन हुनु र स्वदेशमा रोजगारी सृजना नहुनु राज्यको ठुलो लापर्बाही हो’ उहाँको भनाइ थियो ।
उहाँले जीवनको उतराद्र्धमा सङ्गीतको धुन सुरिलो हुने भएतापनि सबै नागरिकले देशको बेहाल अवस्थाका बारेमा सोच्नुपर्ने बेला आएको जिकिर गर्नुभयो ।
सभासद नेपालीले भजनकीर्तनले मात्र ज्येष्ठ नागरिकको कर्तव्य पूरा नहुने बरु देशप्रतिको राष्ट्रिय भावनाले ओतप्रोत हुनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता आयोजक ज्येष्ठ नागरिक तथा साविक बाङ्गेसाल गाउँ विकास समिति प्युठानका अध्यक्ष हाल राप्ती गाउँपालिका वडा नं. ३ खुरुरिया दाङ निवासी लालमणि शर्माले गर्नुभएको थियो ।
भेलामा स्वागत मन्तव्य साविक लालमटिया गाविसका निवर्तमान अध्यक्ष द्रोण भुसालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आयोजकका तर्पmबाट अध्यक्षता गर्नुभएका शर्माले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
सन्दीप अधिकारीको सञ्चालनबाट सुरु भएको सो भेलालाई चैतन्य पाठशालाका एमडी डा युवराज आचार्य, ऐरावती क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, पूर्व शिक्षक कपिलदेव खनाल, नेकपा (एमाले) का प्रतिनिधि धर्मराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी दाङका अध्यक्ष द्रोणबहादुर घर्तीक्षेत्री, राप्रपाका प्रतिनिधि मोहम्मद सलिम शाह, ज्येष्ठ नागरिक पदम रिजाल, समाजसेवी किरण भण्डारीलगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले देउखुरी उपत्यका, राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाभित्रका ज्येष्ठ नागरिकको बृहत् भेला गराउने तथा त्यसलाई कानुनी मान्यता दिलाउन आवश्यक पहलकदमी गर्न सात सदस्यीय सम्पर्क समिति चयन गरेको छ ।
समितिमा संयोजक लालमणि शर्मा तथा सदस्यमा द्रोणप्रसाद भुसाल, धर्मराज अधिकारी, कपिलदेव खनाल, जोहरमान मिया र विकास अधिकारी रहनुभएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।
भेलापूर्व सहिदप्रति एक मिनेट मौनधारण गरी राष्ट्रियगान गाइएको थियो ।
