काठमाडौँ । नेपाली काङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार २०८३ असोज २० गते सम्पन्न उम्मेदवारी दर्ताका क्रममा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।
काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला) तथा समीरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागत) तर्फ उम्मेदवारी दिएका छन् । कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएकी छन् ।
उम्मेदवारी दिने सबै जना काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध छन् । राणा युनियनका केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्व अध्यक्ष, लम्साल बहालवाला अध्यक्ष, अधिकारी पूर्व अध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन् । यसअघि विशेष महाधिवेशनबाट अधिकारी काङ्ग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।