काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मंगलबार काठमाडौं, काभ्रे र बाँकेमा गरी तीन जनाको मृत्यु भएको हो ।
पाटन अस्पतालमा नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
३७ वर्षीय सुवास गिरि नेपाली कांग्रेसका जिल्ला उपसभापति रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
माफ गर मित्र,तिम्रो लासमा फुलसम्म चढाउन पाइएन,हृदयले श्रद्धाञ्जली !
गत असार २९ मा पश्चिम् नवलपरासीको विवाद समाधानपछि पार्टी केन्द्रीय कार्यालयमा लिइएको तस्वीर l त्यही दिनको बैठकबाट जिल्ला उपसभापति बनाइएका युवा सुवास गिरि (अगाडि हात बांधेर उभिएका)को आज कोरोनाका कारण निधन भएको छ l pic.twitter.com/0KgHDKSJEr
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 18, 2020
यसअघि गिरिको पथ्थरीको अप्रेसन गरिएको थियो । ‘छातीमा समस्या भएपछि ३० साउनमा अस्पतालमा भर्ना भएका उनको कोरोना पोजिटिभ देखिएको थियो ।
यसअघि गएराति काभ्रे र बाँकेमा पनि कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको थियो। उनीहरु दुबै पुरुष हुन्।
कोरोना संक्रमणको कारण काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । उनमा २७ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको आइसियुमा राखेर उपचार हुँदै आएको थियो ।
यस्तै, बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।