वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सक (पीजी) का कारण शैक्षिक तथा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै उनीहरूलाई कलेजबाट फिर्ता बोलाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) समक्ष अनुरोध गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा कलेजले आवासीय चिकित्सकले उठाएका स्टाइपेन्ड तथा प्रोत्साहन भत्ता, बिदा र २४ घण्टे ड्युटीपछि पोस्ट–ड्युटी विश्रामलगायत प्रारम्भिक माग सम्बोधन गर्न पटक–पटक वार्ता गरिएको जनाएको छ। कलेजका अनुसार पछि थप मागसहित पेन–डाउन कार्यक्रम सुरु भएपछि शैक्षिक तथा क्लिनिकल सेवा प्रभावित भएको हो।
विवाद समाधानका लागि १८ सेप्टेम्बरमा वार्ता र २० सेप्टेम्बरमा लिखित समाधान प्रस्ताव अघि सारिएको कलेजले जनाएको छ। प्रस्तावमा स्त्री तथा प्रसूति विषयमा छानबिन समिति गठन, ड्युटी तथा विश्राम, स्टाइपेन्ड, हाजिरी र बिदासम्बन्धी विषय समाधान गर्ने उल्लेख थियो। तर आन्दोलनरत चिकित्सकले प्रस्तावमा हस्ताक्षर नगरेको कलेजको दाबी छ।
आन्दोलनका क्रममा चिकित्सक तथा संकाय सदस्यमाथि दबाब सिर्जना गरिएको र कलेज परिसरको गतिविधिले पेशागत मर्यादा तथा शिक्षण वातावरण प्रभावित भएको कलेजले आरोप लगाएको छ।
पटक–पटकको वार्ता तथा समाधान प्रयासपछि पनि सहमति कायम हुन नसकेको भन्दै शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन आईओएमसमक्ष अनुरोध गरिएको कलेज प्रशासन प्रमुख विश्वनाथ कंठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


