ठाकुर खनाल
अहिले नेपालको राष्ट्रियता झन्पछि झन् गम्भीर सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्रियताको प्रत्यक्ष खतराको रूपमा भारतीय साम्राज्यवाद अगाडि आएको छ । लामो समयदेखि भारतीय सेनाहरू नेपाली भूभाग कालापानीमा बसेका छन् । केही समयअगाडि भारतले हाम्रो भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा आदि भूभाग समेटेर भारतको नक्सा जारी ग¥यो । त्यसका साथै त्यही क्षेत्र हुँदै मानसरोबर जाने बाटो निर्माण गरी उद्घाटनसमेत भयो, जुन यसअगाडि भएका नेपाल र भारत सन्धि विपरीत कुरा हुन् र असाध्यै खेदजनक पनि छन् । त्यसको देशभित्र चर्को विरोध भएपछि नेपाल सरकारले पनि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको भूभागलाई समेटी नयाँ नक्सा जारी गरी संसदबाट समेत पास गर्यो, जुन राष्ट्रिताको पक्षमा सराहनीय कदम हो ।
अर्कोतर्फ, भारत सरकार र त्यहाँका सञ्चार माध्यमले नेपालले गरेको उक्त कार्य चीनको आडमा गरेको भनेर विषवमन गरिरहेका छन् । एउटा सार्वभौम राष्ट्रलाई त्यस प्रकारको व्यवहार र अभिव्यक्ति दिनु भत्र्सनायोग्य कुरा हो । भारतले कालापानीमा मात्र नभएर विभिन्न ठाउँमा पिल्लर सार्ने, सीमा अतिक्रमण गर्ने, अनधीकृत रूपमा सीमानजिक बाँध, सडक बनाई नेपाली भूभाग डुबानमा पर्ने कार्य गरिरहेको छ, जुन असाध्यै निन्दनीय कार्य र नेपालमाथिको गिद्देदृष्टि नै हो । गुमेको नेपाली भूमि फिर्ता ल्याउन र भारतका त्यस प्रकारका गतिविधि रोक्नका लागि कडा कदम चाल्न नसक्नु नेपाल सरकारको पनि हद दर्जाको कमजोरी हो वा भनौँ, सत्तामा बस्ने सरकारको कमारा प्रवृत्ति हो ।
कमारामा आफ्ना मालिकसँग आफ्ना कुरा खुलेर राख्न नसक्ने, आफ्नो जीवन सन्त्रासमै बिताउने प्रवृत्ति हुन्छ । त्यसै प्रकारको प्रवृत्ति नेपालको सत्तामा पुग्ने जोकोही सरकारको पनि रहँदै आएको छ । यसको कारणले नेपालको राष्ट्रियता खतरामा पर्दै गइरहेको छ । भारतले नेपाललाई भौगोलिक, राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कृषि तथा औद्योगिक उत्पादनलगायतका विविध क्षेत्रमा हस्तक्षेप गरी आफ्नो साम्राज्यवादी अभीष्ट पूरा गर्न लागिपरेको छ । त्यसलाई नेपालका सत्तामा बस्ने पार्टीहरूले त्यसको विरोध गर्नुको सट्टा भारतीय साम्राज्यवादको तावेदारी गरी सत्तामा टिकिरहने कार्य गर्दछन् । त्यो राष्ट्रियताका लागि ठुलो घातक हर्कत् हो, सरकारको नेतृत्व गर्नेहरूको कमारा प्रवृत्ति हो ।
यो कमारा प्रवृत्ति अहिलेका नेतामा मात्र होइन, नेपालका राजा र राणामा पनि प्रशस्तै पाइन्थ्यो । विपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा सानो समस्या प¥यो भने देशमै छलफल नगरी राजा त्रिभुवन तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूसँग भेट्न गइहाल्ने र आफै पनि विपी नेहरूसँग भेटन गएका घटना उल्लेख गरेका छन् । नेहरूसमक्ष लम्पसार परेर आफ्नो समर्थन गरिदिन चाकरी र चाप्लुसी गर्दथे, जुन राजा त्रिभुवन र विपीको कमारा प्रवृत्ति प्रष्टै देखिन्छ । अझ भारतसँग विभिन्न समयमा विपीले राखेका प्रस्तावको अध्ययन हामी सबैले गरेका छौँ, जुन कति धेरै राष्ट्रघाती छन् ? यो कुरा उनको कमारा प्रवृत्तिको पराकाष्ठा नै हो । राष्ट्रपिता भनिएका राजा र महामानव भनिएका विपीको त त्यो गति थियो भने अरूको के हालत होला ? अर्का राजा महेन्द्र, जसलाई देशभक्त र विकासप्रेमी भनिन्छ, उनैले भारतीय सेनालाई कालापानीमा बस्न दिएकाले अहिले जुन अवस्थाबाट देश गुज्रिरहेको छ, त्यो राजा महेन्द्रको कमारा प्रवृत्तिको परिणाम हो ।
अर्को गम्भीर समस्या एमसिसी हो, जुन अमेरिकाले नेपाललाई ५५ अर्व रुपैयाँ सहयोगको नाममा दिएर सम्झौता गर्दै छ । त्यो नेपालको लागि ठुलो घातक छ । किनभने त्यो अमेरिकी साम्राज्यवादको नेपाललाई उपनिवेश बनाउने दीर्घकालीन रणनीति हो । एमसिसी इन्डो–प्यासिफिक रणनीतिसँग सम्बन्धित छ, जुन आफ्नो परियोजनाको सुरक्षाको नाममा अमेरिकी सेना नेपाल भित्राउने खेल हो । ती अमेरिकी सेनाहरू नेपालमा रहँदासम्म उनीहरूका लागि चाहिने सम्पूर्ण आर्थिक भार नेपालले गर्नुपर्दछ । यो कुरा नेपालजस्तो राष्ट्रका लागि सेतो हात्ती पाल्नुसरह हो ।
नेपालमा एमसिसी आउन खोज्नुको उसको आन्तरिक कारण अमेरिकाले चीनलाई घेर्ने रणनीति हो । नेपालमा बसेर चीनको जासुसी गर्ने र चीन विरोधी गतिविधि अगाडि बढाउने रणनीति हो, जुन नेपालको परराष्ट्र नीति विपरीत कुरा हो, जसको कारणले नेपाल र चीनबिचको सम्बन्ध बिग्रँदै जान्छ । अमेरिका नेपालमा आउन चाहनुको अर्को कारण नेपालको मुस्ताङलगायतका विभिन्न ठाउँमा प्रचूर मात्रामा पाइएको बहुमूल्य खनिज तत्त्व युरेनियम, जसबाट ठुलो मात्रामा उर्जा उत्पादन गर्न सकिन्छ, त्यसलाई हात पार्ने दाउ हो । अमेरिकाको अर्को रणनीति नेपालका सम्पूर्ण सामरिक क्षेत्र आफ्नो कब्जामा पार्नु हो । नेपालका सम्पूर्ण सूचना अमेरिकाले आफ्नो हातमा पारेपछि नेपाल उसको उपनिवेश हुने कुरा सुनिश्चित छ ।
एमसिसी लागु गर्नुको अमेरिकाको अर्को उद्देश्य आतङ्कवादको नियन्त्रण गर्नु भन्ने हो । झट्ट हेर्दा आतङ्कवाद नियन्त्रण गर्ने कुरा राम्रो हो । तर अमेरिकाले कसलाई आतङ्कवादी भन्छ भन्दा सच्चा कम्युनिस्टलाई, मुस्लिम धर्मावलम्बीलाई, उसको अर्थनीति, राजनीति आदि विषयमा फरक मत राख्नेहरू आतङ्कवादी हुन् । अर्को कुरा जहाँ जहाँ अमेरिकी सेना पुग्छ, त्यहाँ त्यहाँ विश्वका नामुद आतङ्कवादी पुग्छन् नै । त्यसैले आतङ्कवादको नाममा नेपालका गाउँबस्तीमा अमेरिकन सेनाले बमवर्षा गर्ने कुरा सुनिश्चित छ । नेपालको चीनसँगको पारबहन सम्बन्धलाई निस्तेज पार्नु, चीनदेखि काठमाडौँ हुँदै लुम्बिनी जोड्ने रेलमार्ग रद्द गराउनु हो । अन्य राष्ट्रघाती कदममा एमसिसीको नाममा आएका सामानमा भन्सार चेकिङ नहुनु, उसका आर्थिक कार्यमा नेपालले अडिट गर्न नपाउनु, बौद्धिक सम्पत्ति अमेरिकाको हुनु, अमेरिकाको संविधान नेपालले मान्नुपर्ने, एमसिसीका कुनै धारासँग नेपालको संविधानको धारा बाझिन गएमा उक्त धारा स्वतः खारेज हुने, यो सम्झौताको स्वीकृति भारतले दिनुपर्ने आदि तमाम कुराका कारणले एमसिसी राष्ट्रघाती छ, जसले हाम्रो राष्ट्रियता गम्भीर खतरामा छ । त्यसैले एमसिसीको विरोधको विकल्प छैन ।
यस्तो जघन्य राष्ट्रघाती एमसिसीलाई नेपाल सरकारले किन लागु गर्दै छ त भन्दा यो वर्तमान नेपाल सरकारको अमेरिकाप्रतिको गुलामी हो र सरकारमा बस्नेहरूको कमारा प्रवृत्ति नै हो । केपी सरकारलाई यसो किन गर्नुप¥यो त भन्दा प्रमुख दुई वटा कारण छन् । प्रथम एमसिसीबाट प्राप्त रकमबाट नेपालको सङ्घीयतालाई चलाउनु हो भने दोस्रो कारण अमेरिकाको गुलामी गरी अमेरिकाको र भारतको समर्थन प्राप्त गरी सरकारमा टिकिरहने महत्त्वाकाङ्क्षा हो । केपी ओलीले जतिसुकै राष्ट्रवादका कुरा गरे पनि एमसिसीजस्तो सम्झौता पारित गरी लागु गर्न खोज्नु कमारा प्रवृत्ति नै हो । यही प्रवृत्तिकै कारण तत्कालीन माओवादी नेताबाट एमसिसी सम्झौताका लागि समर्थन गर्दै फाइल अगाडि बढाउने काम भयो ।
अहिलेको प्रतिपक्षको त के कुरा, नेका प्रतिपक्षमा रहेर पनि जोडदार रूपमा एमसिसीको पारितको माग गरिरहेको छ । अमेरिकालाई खुशी पार्न सके कतै सरकारको कुर्सी हात पार्न सकिन्छ कि भन्ने ताकमा छ । नेकापक्षीय नेता तथा सरकारको सधैँ एउटै प्रवृत्ति देखा प¥यो, जुन भारत, अमेरिकालगायतका विदेशी शक्तिकेन्द्रसामु लम्पसार पर्ने, उनीहरूको चाकरी गर्ने र सत्तामा रही ब्रह्मलुट मच्चाउने राष्ट्र, राष्ट्रियता र जनताका लागि सधैँ उदासिन रहने—यो प्रवृत्ति कमारा प्रवृत्ति नै हो भन्नका लागि कुनै द्विविधा रहँदैन । मधेशवादी नेता र दलहरूको त के कुरा ? उनीहरू त झन् भारतको सधैँ दलाली गर्दछन् । भारतले नाकाबन्दी गर्दा भारतले गरेको होइन, हामीहरूले तराई बन्द गरेका हौँ भन्दै भारतको दलाली गर्ने काम भयो । नेपालले आफ्नो नक्सा जारी गर्दा सरिता गिरीलगायतका नेताले त्यसको विरोध र संशोधन प्रस्ताव संसदमा दर्ता गराउनु उनीहरूको भारतप्रतिको कमारा प्रवृत्ति नै हो ।
नेपाली जनता स्वाभिमानी छन् तर सरकारको नेतृत्व गर्ने पृथ्वीनारायण शाहदेखि वर्तमानसम्मका सबैमा कमारा प्रवृत्ति धेरै वा थोरै रूपमा देखा प¥यो, जुन राष्ट्रका लागि अति दुर्भाग्यपूर्ण कुरा हो । विश्व मानचित्रमा यसले सकारात्मक छवि छाड्न सक्दैन । अहिलेको नेपाल र नेपाली जनताको जुन प्रकारको हविगति छ । त्यो नेपालका सत्तामा बस्नेकै कमारा प्रवृत्तिकै कारण भएको हो । जबसम्म सत्तामा बस्नेहरूको कमारा प्रवृत्तिको अन्त्य हुँदैन, तबसम्म देश स्वाभिमानी, आत्मनिर्भर, समुन्नत विकास हुन सक्दैन । नेपाली जनताका दिनदशा झन्पछि झन् बिग्रँदै गएर कहालीलाग्दो अवस्था आउन सक्दछ । त्यसैले सम्पूर्ण जनता सचेत र एकगठ भएर सत्तामा बस्नेहरूको कमारा प्रवृत्तिको विरोध गर्नु आजका सम्पूर्ण सचेत नागरिकको कर्तव्य हुन जान्छ ।

