काठमाडौं, २१ भदौ । रसुवा बाढीमा बेपत्ता भएका ४० वर्षीय हरिप्रसाद मैनालीको शव नभेटिएपछि परिवारले कुशको प्रतीक बनाएर अन्तिम संस्कार गरेको छ। अन्तिम संस्कारपछि किरियाकर्मका लागि ठाउँ खोज्दा भने परिवारले थप समस्या भोग्नुपरेको छ।
बाढीका कारण रसुवा–नुवाकोट तथा भोटेकोशी क्षेत्रमा ठूलो संख्यामा मानिसको मृत्यु र बेपत्ता भएपछि काठमाडौंका किरियापुत्री भवनमा चाप बढेको छ। पशुपति क्षेत्रको ४२ कोठे किरियापुत्री सेवा केन्द्र भरिएपछि वनकाली क्षेत्रमा रहेको करिब ८० कोठे भवनलाई समेत अस्थायी रूपमा प्रयोगमा ल्याइएको छ। तारकेश्वर नगरपालिकाले पनि निर्माणाधीन किरियापुत्री भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएको छ।
विपद्मा आफन्त गुमाएका परिवारले शव खोजी, अन्तिम संस्कार र किरियाकर्मसँगै बस्ने ठाउँ, खाना, पानी, शौचालय तथा आर्थिक व्यवस्थापनको समस्या पनि झेल्नुपरेको छ। मनोविद्का अनुसार यस्तो अवस्थामा थप व्यवस्थापनको तनावले परिवारको शोक र मनोसामाजिक पीडा बढाउन सक्छ।
विज्ञहरूले ठूलो विपद्का बेला शव व्यवस्थापनसँगै मृतकका परिवारको शोक व्यवस्थापनलाई पनि विपद् व्यवस्थापनकै हिस्सा बनाउनुपर्ने बताएका छन्। त्यसका लागि वैकल्पिक किरियाकर्म स्थल, अस्थायी संरचना, खानेपानी–सरसफाइ, खाना, सुरक्षा तथा आवश्यक सूचना र परामर्शको पूर्वव्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।