काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा थेराङखोलासहित आएको बाढीले दुई पुल, दुई जलविद्युत् आयोजना र चार घर बगाएको छ। बाढीपहिरोका कारण चुमनुब्रीको आवतजावत, विद्युत् र सञ्चार सेवा प्रभावित भएको छ।
स्थानीय लाक्पा डुण्डुप लामाका अनुसार बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल र बूढीगण्डकीको बहाव बढेपछि नाम्रुङभन्दा तल जङ्गलस्थित अर्को पुलसमेत बगाएको हो।
‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो। कतै जान पनि नमिल्ने भयो,’ उनले भने।
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुई लघुजलविद्युत् आयोजना पनि बगाएको छ। त्यसमध्ये सात करोड रुपैयाँ खर्चेर हालै निर्माण सम्पन्न गरी परीक्षण प्रसारण गरिएको १०० किलोवाटको आयोजना र लामो समयदेखि सञ्चालनमा रहेको २२ किलोवाटको आयोजना रहेको लामाले बताए।
विद्युत् अवरुद्ध भएपछि बत्ती, सञ्चार तथा विद्युत्बाट सञ्चालन हुने सेवा ठप्प भएका छन्। पुल बगेपछि मनास्लु क्षेत्रको पर्यटक आवागमनसमेत प्रभावित भएको छ। लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगेपछि समस्यामा परेका छन्।
बाढीले राति स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार बाढी आएको थाहा पाएपछि घरधनीहरू भागेर ज्यान जोगाउन सफल भएका थिए।
‘भूकम्प आएजस्तो गरी गाउँ थर्काएर बाढी आउँदा सबै बिउँझिएछन्। बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,’ उनले भने।
बाढीपीडित चार परिवारलाई तत्काल खाद्यान्न र लुगाकपडाका लागि रु २० हजारका दरले राहत दिने वडाध्यक्ष लामाले बताए। उनका अनुसार केही दिनभित्र गाउँपालिकाले प्रतिपरिवार रु एक लाख बराबरको राहत उपलब्ध गराउनेछ।
अन्यत्रबाट आउने राहतका लागि समेत पहल गरिने उनले बताए।