जेरुसेलम । अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुन : सत्तामा फर्कने प्रयास गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलबीचको मत विभाजन ठूलो चुनौती बनेको छ ।
निर्वाचनमा नेतान्याहु समर्थक साना दलहरूको सङ्ख्या बढेसँगै उहाँको आधारभूत मत विभाजित हुने जोखिम बढेको हो ।
सरकारका कट्टरपन्थी मन्त्री इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले नेतृत्व गरेका दलसमेत अलगअलग चुनावी प्रतिस्पर्धामा छन् । नेतान्याहुले वैचारिक रूपमा निकट दलहरूलाई एकीकृत हुन आग्रह गर्दै ‘हामी एकजुट हुँदा जित्छौँ, विभाजित हुँदा हार्छौं’ भन्नुभएको छ ।
इजरायलको निर्वाचन प्रणालीअनुसार संसद्को १२० मध्ये सिट जित्न कुनै दलले कम्तीमा ३.२५ प्रतिशत मत ल्याउनुपर्छ । कुनै दल उक्त सीमाभन्दा तल रहेमा उसका मत सिटमा परिणत हुँदैनन् । त्यसैले साना दलको मत विभाजनले नेतान्याहु नेतृत्वको गठबन्धनलाई आवश्यक ६१ सिटको बहुमत जुटाउन कठिन बनाउन सक्छ ।
नेतान्याहुले करिब १७ वर्ष इजरायली राजनीतिमा प्रभाव राख्नुभएको छ । उहाँको पछिल्लो कार्यकाल हमासको अक्टोबर ७, २०२३ को आक्रमण, त्यसपछि गाजा, लेबनान र इरानमा भएका सैन्य सङ्घर्ष तथा सरकारविरुद्धका प्रदर्शनले प्रभावित बनेको छ । यी घटनाका कारण सरकारप्रति जनअसन्तुष्टि बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
सन् २०२२ मा एउटै सूचीबाट चुनाव लडेका स्मोट्रिचको ‘रिलिजियस जियोनिज्म’ र बेन–गभिरको ‘यहुदी पावर’ यसपटक अलग प्रतिस्पर्धामा छन् । लिकुड पार्टीका पूर्वसदस्यहरूको नेतृत्वमा रहेका साना दल र पूर्व सैन्य जनरलको नेतृत्वमा बनेको राजनीतिक सूचीले पनि उही मतदातालाई आकर्षित गरिरहेका छन् ।
सन् २०२१ मा साना दलले आवश्यक मतसीमा पार गर्न नसक्दा भएको मत विभाजनले नेतान्याहुको पराजयमा योगदान गरेको थियो भने सन् २०२२ मा विपक्षीबीचको प्रतिस्पर्धाले उहाँलाई पुन : सत्तामा फर्कन सहज बनाएको थियो । त्यसैले यसपटक पनि साना दलको प्रदर्शन उहाँका लागि निर्णायक बन्न सक्नेछ ।
निर्वाचनअघि दलहरूलाई सेप्टेम्बर ८ सम्म एकीकरण गर्ने, प्रतिस्पर्धाबाट बाहिरिने वा अलगै चुनाव लड्ने निर्णय गर्नुपर्नेछ । बुधबार एउटा सानो दल स्मोट्रिचको सूचीमा सहभागी हुन सहमत भएको छ ।
निर्वाचन नजिकिँदै जाँदा नेतान्याहुले आफ्ना समर्थकलाई एकताबद्ध हुन आग्रह गर्दै आफूले मात्र हमासलाई पराजित गर्न र प्यालेस्टिनी राज्य स्थापना रोक्न सक्ने दाबी गर्नुभएको छ । उहाँले विपक्षीलाई ‘वामपन्थी’ भन्दै उनीहरू सत्तामा आए देशका लागि गम्भीर परिणाम आउने चेतावनी दिनुभएको छ ।
यसपटक नेतान्याहुका लागि विपक्षीलाई पराजित गर्नुजत्तिकै आफ्नै राजनीतिक आधारलाई विभाजित हुनबाट जोगाउनु महत्त्वपूर्ण बनेको छ । साना दलबीचको एकता वा विभाजनले उहाँको पुनः सत्तारोहणको सम्भावनामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ ।
