विमल पोखरेल
सरकारले काठमाडौँ आवत्जावत्मा पूर्णतया रोक लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा देशभरका जिल्ला प्रशासन कार्यालयहरूले सवारी पास बन्द गरेका छन् । सरकारले फेरि लकडाउनको नीति लिने गृहकार्य गरेजस्तो देखिएको छ । देशमा करिब ४ महिना पूर्णतया लकडाउन भइसकेको छ । लकडाउनको कारणले कोरोना सङ्क्रमणमा सरकारले सही नीति लिन नसक्दा र लिएका नीतिहरूको पनि सही ढङ्गले कार्यान्वयन गर्न नसक्दा सङ्क्रमण समुदायमा फैलिएको हो । सङ्क्रमण फैलिएको देखिए पनि त्यसले ठुलो मानवीय क्षति गरेको छैन । त्यो सुखद् पक्ष हो ।
गत हप्ता स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना सङ्क्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताएका थिए । नेपालमा २४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये अधिकांश भारतबाट नेपाल फर्किएका छन् । भारतबाट नेपाल फर्किएकालाई असुरक्षित तरिकाले क्वारेन्टाइनमा राखिएकाले नै तिनीहरूमा सङ्क्रमण धेरै भएको थियो । खुशीको कुरा के छ भने सङ्क्रमितमध्ये झण्डै १७ हजार सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुने र सङ्क्रमणमुक्त हुने क्रम जारी छ । कोरोना सङ्क्रमण भएको ५ महिनाको अवधिमा नेपालमा झण्डै १ सय जनाले ज्यान गुमाएका छन् ।
ज्यानमारा लकलाउन
सरकारले लकडाउन गरे पनि जनताको दुःखप्रति कुनै ध्यान दिएन । देशमा सङ्क्रमण फैलिएकै थिएन । भारतबाट आउने नाका पूर्ण रूपमा बन्द थियो । देशभित्र थुनिएका नागरिकलाई घर जान पनि दिएन । करिब १५ दिनको लकडाउनपछि जनताको घरमा खाना खर्च सकिइसकेको थियो । मजदुर बेखर्ची हुन थालेका थिए । धेरैको रोजगारी गुमेको थियो । सरकारले बाँडेको राहत केही दिनमै समाप्त भइसकेको थियो ।
लकडाउनको अवधिमा सरकारले जनताप्रति अमानवीय व्यवहार देखाएपछि ६ सय किलोमिटर खालि खुट्टा पैदल हिँडेर जनता आफ्नो घरतिर लागे । तिनीहरूमाथि पनि सरकारले दमन गर्ने नीति लियो । तिनीहरूलाई खाना र पानी पनि दिइएन । मजदुरलाई बाटोमै थुन्ने प्रयत्न गरियो । कैयौँ स्थानमा प्रहरी लगाएर दमन गरियो ।
जनता भोकभोकै पर्न थालेपछि लामो दुरी पैदल यात्रा गर्न बाध्य भएपछि लकडाउनको औचित्य सकिइसकेको थियो । उनीहरूलाई सवारी साधनको व्यवस्था गरेर घर पठाउनुपर्ने थियो । तर सरकारले कुनै मानवीय व्यवहार गरेन । सिमानामा आएका नागरिकमाथि पनि कुनै मानवीय व्यवहार गरेन । सरकार खालि नागरिकलाई घरभित्रै वा नाकामै थुन्नु मात्रै विकल्प हो भन्ने कुप्रचारमा तल्लीन रह्यो । दर्जनौँ नागरिकको क्वारेन्टाइनमै मृत्यु भएको थियो ।
नेपालले लकडाउन गरेकै समयमा पाकिस्तानले पनि लकडाउन गरेको थियो । पाकिस्तानमा पनि नेपालकै हालत भएपछि लकडाउनको एक महिनापछि लकडाउन खुकुलो बनाइयो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरिबलाई भोकै मर्न दिन नसकिने र उनीहरूको दैनिक जीवनलाई सहज बनाइदिनुपर्ने, कोरोनासँग लड्नुपर्ने भन्दै लकडाउन हटाइदिए । किसान–मजदुरलाई काम गर्न दिइयो । सवारी साधन खुले, हवाइ उडान सुरु भए । एकातिर, पाकिस्तानी जनताको जनजीवन सहज हुँदै गयो भने सँगसँगै कोरोनाको परीक्षण र उपचारलाई पनि प्राथमिकता दिइयो । अहिले पाकिस्तानले कोरोनाबाट आफूलाई क्रमशः सफलताको दिशातिर गइरहेको छ ।
जटिल बन्दै जनताको स्वास्थ्य
कोरोनाको बहानामा जनताको स्वास्थ्य जटिल बन्दै गएको छ । दीर्घरोगीहरूले नियमित उपचार र औषधि पाएका छैनन् । सर्पदंसका बिरामीले उपचार पाएका छैनन् । डेङ्गु, झाडापखालाजस्ता रोग बढेका छन् । वीरगञ्ज, विराटनगर, काठमाडौँ, बुटवल, धनगढीमा बिरामीले उपचार नपाएर ज्यान गएका समाचार लगातार आइरहेका छन् । कोरोनाको बहानामा अन्य रोगको उपचार नगरिँदा सयौँ व्यक्तिको उपचार नपाएरै ज्यान गएको छ । लकडाउनको अवधिमा मातृ मृत्युदर बढेको छ । शिशु मृत्युदर बढेको छ । कर्णालीलगायत दुर्गम तथा सुगम जिल्लामा समेत कुपोषणले विकराल रूप लिँदै गइरहेको छ । आत्महत्या दोब्बर बनेको छ । मान्छेहरू मानसिक रोगी बन्दै गएका छन् ।
जनताका जनस्वास्थ्यका बारेमा सरकार गम्भीर देखिएको छैन । कोरोनाको बहानामा अन्य रोगप्रति बेपर्वाह हुँदा जनताले निकै सास्ती ब्यहोरेका छन् । एम्बुलेन्सको कालोबजारी बढेको छ । सरकारले यी विषयमा पूरै नजरअन्दाज गरेको छ । जनताको स्वास्थ्यलाई जतिजति जटिल बनाइँदै लगिन्छ र अस्पतालले पनि उपचार गर्दैनन्, त्यसले भविष्यमा भयावहको रूप लिन सक्ने भनेर जनस्वास्थ्यका विज्ञले भनिरहेका छन् । सरकारले अस्पताल सुचारु गर्नुपर्दछ र अन्य सबै रोगको उपचार गरिनुपर्दछ । कोरोनाको बहानामा अन्य रोगको उपचार नगरिँदा दीर्घरोगीले ठुलो सास्ती पाएका छन् । सरकारले त्यस विषयमा तत्काल सम्बोधन गर्नुपर्दछ ।
कोरोनाको कम तर अन्य मृत्यु डरलाग्दो
नेपालमा कोरोनाले त्यति ठुलो क्षति पुराएको छैन । २४ हजारभन्दा धेरै सङ्क्रमित हुँदा करिब १ सय जनाको मृत्यु भनेको निकै थोरै सङ्ख्या हो । ५ महिनाको अवधिमा १ सय जनाभन्दा धेरै त अन्य रोगको कारण मृत्यु भइसकेको छ । लकडाउनकै अवधिमा कैयौँ व्यक्तिको दुर्घटनाका कारण मृत्यु भएको छ । मुटु, मृगौला, क्यान्सरलगायत धेरै रोगबाट हरेक दिन सयौँ जनाको मृत्यु हुने गर्दछ ।
लकडाउनको कारण अन्य रोगबाट मान्छेको घरमै मृत्यु भएको छ । उपचारको अभावमा नागरिकको अकालमा ज्यान जाने क्रम बढ्दो छ । आत्महत्या दर बढ्नु धेरै नै दुखद कुरा हो । दीर्घरोगीले समयमा उपचार नपाउनु अर्काे पीडादायी पक्ष हो । वृद्ध, बालबालिका र रोगीहरूले उपचार नपाउँदा तिनीहरूको अकालमै मृत्यु भइरहेको छ । सरकार यसप्रति गम्भीर र संवेदनशील हुनुपर्दछ ।
कोरोनाले मृत्यु भएका भनिएका व्यक्तिमध्ये धेरै अन्य रोगबाट ग्रसित दीर्घरोगी छन् । धेरैको त मृत्यु भएपछि कोरोना पुष्टि भएको छ । यसको अर्थ के हो भने अन्य रोगको कारणले मृत्यु भए पनि उसलाई कोरोना सङ्क्रमण भएकाले कोरोनाको सङ्ख्यामा गणना गरिएको थियो ।
नेपालमा कोरोनाको कारण मृत्युदर थोरै हुनु धेरै सकारात्मक कुरा हो । विज्ञहरूले कोरोना सङ्क्रमणको प्रभाव घट्दै गएको हुन सक्ने बताएका छन् । भाइरसको प्रभाव कम भएको हुन सक्ने औंल्याएका छन् । एकातिर सङ्क्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण नदेखिनु, अर्कातिर मृत्युदर अत्यन्तै कम हुनु धेरै नै सकारात्मक हो ।
लकडाउन खोल्नुपर्छ
सरकारले सबै जिल्ला प्रशासनबाट सवारी पास पनि बन्द गरिएपछि लकडाउनकै अवस्था सिर्जना भएको छ । सरकारले यसरी सवारी पास बन्द गर्नुपर्ने कारण पुष्टि गर्न सकेको छैन । सङ्क्रमण कसरी बढेको हो भन्ने कुनै जानकारी दिइएको छैन । निजी सवारी साधनलाई खुल्ला गर्ने, तर सार्वजनिक सवारीमाथि पूर्ण नियन्त्रण रहेको अवस्थामा सङ्क्रमण कसरी बढ्यो ? सरकारले यसको बारेमा कुनै अध्ययन गर्न सकेको छैन । भाटभटेनीजस्ता ठुल्ठुला डिपार्टमेन्टल स्टोर खुला गरेको छ । निजी गाडीहरू निर्बाध सञ्चालन गर्न दिइएको छ । ठुला साहुका पसल खुलेका छन् । तर सरकारले नाङ्लो पसले, साइकलमा तरकारी बेच्ने व्यक्तिलाई प्रतिबन्ध गरेको छ ।
धनी व्यवसायीका व्यवसायलाई खुल्ला गर्ने तर गरिबले गर्ने सानातिना व्यवसाय बन्द गर्ने, मजदुरलाई काम गर्न नदिने कार्यले सरकार जनताको कठिन जीवनप्रति संवेदनहीन बनेको छ । उनीहरूको जनजीवन सहज बनाउनेतिर कुनै कार्यक्रम र राहत ल्याउन सकेको छैन । तिनीहरूलाई काम गर्न नदिने र घरमै थुन्ने नीतिले गरिब भोकभोकै मर्ने स्थिति पैदा भएको छ । गरिबको दैनिकी झन्पछि झन् कठिन बन्दै गएको छ ।
कोरोना सङ्क्रमण हुन नदिनका लागि आवश्यकता सतर्कता अपनाउनका लागि जनतालाई आह्वान गर्ने, जनतालाई मजदुरी गर्न दिने र लकडाउन खोलिनुपर्दछ । सरकारले बिरामीको उपचारका लागि सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा राख्नुपर्दछ । औषधिको व्यवस्था गर्नुपर्दछ । सङ्क्रमित मात्रै देखिएका तर कुनै लक्षण नदेखिएकालाई घरमै बस्ने व्यवस्था गर्नुपर्छ भने लक्षण देखिएका व्यक्तिलाई आइसोलेसनमा राख्नुपर्दछ ।
सरकारले सङ्क्रमितजति सबैलाई व्यवस्थापन गर्न सक्दैन । सङ्क्रमित सबैलाई अस्पतालमा राख्दा अन्य बिरामीको उपचारमा धेरै नै कठिनाइँ उत्पन्न भएको छ । कुनै पनि लक्षण नदेखिएका सङ्क्रमितलाई सचेतना अपनाउन भन्ने, नियमन गर्ने काम गर्नुपर्दछ ।
अब देशले लामो समयको लकडाउन थेग्न सक्दैन । अब कोरोनासँगै जिउन सिक्नुपर्दछ । शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानेकुरा खाने, गरिबलाई राहत उपलब्ध गराउने, मजदुरलाई काममा लगाएर तिनीहरूको दैनिक व्यवहारलाई सहज बनाइदिनुपर्दछ । लकडाउन वा त्यस्तै जनतालाई असहज पार्ने खालका कुनै पनि गतिविधिले जनतालाई झनै असुरक्षित बनाउने र अन्य रोग तथा भोकमरीका कारण मृत्युको मुखमा पुग्ने स्थिति पैदा हुने छ । कोरोनाको सङ्क्रमित भेटिएमा तिनीहरूको सहज उपचारको व्यवस्था मिलाउनुपर्दछ । त्यही नै अबको विकल्प हो ।