मुकुन्द राज रोका
Advertisement
पहलवान आई कमजोरलाई ढाल्यो उसले
हेर निर्लज्ज मानवरूपी वस्त्र फाल्यो उसले
तत्काल दीर्घकालीन रणनीति छाडेर योद्धा
अभीष्ट पूर्ति गर्ने कार्यनीति अँगाल्यो उसले
फलाम पनि अर्गेलो हुने जनलाई लोभाउँदै
आजसम्म सुन भन्दै पित्तल पगाल्यो उसले
क्रान्ति जारी छ भन्दै संशोधनवाद घुम्टोमा
ती कार्यकर्तालाई झुक्याएर नै टाल्यो उसले
नारामा भौतिकवादी ऊभन्दा कोमाथि भयो ?
व्यवहारमा त अध्यात्मवाद पाल्यो उसले
निभ्नेछन् जूनतारा जति कालो बादलभित्र
अँध्यारो चिर्न खरानीमा अगुल्टो बाल्यो उसले
भन्न त युद्धमा अगाडि मै छाती थाप्छु भन्यो
तर राजा मन्त्री छेक्न सिपाही चाल्यो उसले
त्यो उडाइको सीमा नै थिएन त्यसैले त आज
स्वाभिमान टिप्न नमिल्ने ठाउँ खसाल्यो उसले