• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“अल्पमत” लाई हतियार बनाउन खोज्ने पार्टी विरोधीको दिवासपना


  •   बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा
    एउटा जीवित पार्टीभित्र फरक विचार देखा पर्ने र यस्ता फरक विचारको बिचमा सङ्घर्ष चल्ने कार्य बारम्बार भई नै रहन्छ । पार्टीभित्रै चल्ने यस प्रकारको सङ्घर्षलाई हामी अन्तरपार्टी सङ्घर्ष भन्ने गर्दछौँ । यस प्रकारको अन्तरपार्टी सङ्घर्ष चलाउने तरिका सबै पार्टी सङ्गठनमा एकै प्रकारका हुँदैनन् । विषेश गरेर बुर्जुवा पार्टीले चलाउने अन्तरपार्टी सङ्घर्षको तरिका र कम्युनिस्ट पार्टीले चलाउने अन्तरपार्टी सङ्घर्षको तरिकामा आकास–पातालको अन्तर रहेको छ ।

    Advertisement

    बुर्जुवा पार्टीमा कुनै पार्टी सदस्यको भिन्नमत वा विचार छ भने उसले आफ्नो यस प्रकारको भिन्न विचारलाई सार्वजनिक र खुल्ला रूपमा नै छलफल चलाउन सक्ने छुट रहेको हुन्छ । जहाँ, जुनस्तरका पार्टीसदस्य तथा पार्टी सङ्गठन भए पनि उनीहरूसम्म उसले आफ्ना भिन्नमतलाई निर्वाध रूपमा लैजान पाउँछ । बुर्जुवा पार्टीमा एउटै पार्टीभित्र पनि नेता कार्यकर्ताले थुप्रै गुट–उपगुटत बनाउन पाउछन् । परिणामस्वरूप बुर्जुवा पार्टीको अन्तरसङ्घर्षमा पँुजी, पाखुरा, षड्यन्त्र, चातुर्यताजस्ता गुण, जसले सबैभन्दा बढी प्रदर्शन गर्न सक्छ, पार्टी त्यसैको प्रभुत्वमा चल्ने गर्दछ । अरू बाँकी सबै गुट–उपगुट तथा भिन्न विचार, जबसम्म त्यस प्रकारको पुँजी, पाखुरा, षड्यन्त्र आदिद्वारा शक्तिसम्पन्न हुँदैनन्, तबसम्म त्यही पुँजी, पाखुरा, षड्यन्त्र आदिले अगाडि आएको गुट वा विचारको प्रभुत्व स्वीकारेर पार्टीमा काम गर्न थाल्दछन् । यसरी आफू पुँजी, पाखुरा, षड्यन्त्र आदिमा कमजोर भएका कारण पार्टीभित्र बलियो पक्ष वा विचारको प्रभुत्वमा बस्नु परेता पनि ऊ त्यो पार्टी छाडेर अन्त जाँदैन । किनकि आफ्ना भिन्नमत खुल्ला राख्न सक्ने, पुँजी, पाखुरा, षड्यन्त्र आदिमा प्रतिस्पर्धा गरेर अगाडि बढ्नसक्नेजस्ता गतिविधिलाई बुर्जुवाले लोकतन्त्र तथा जनवादको सुन्दर पक्ष र अन्तरपार्टी सङ्घर्ष सञ्चालनको विधिको रूपमा ग्रहण गर्दै आइरहेका छन् र उनीहरूले आफ्नो पार्टीको अन्तरसङ्घर्षलाई यसरी नै हल गर्दै आइरहेका छन् ।

    तर कम्युनिस्ट पार्टीमा भने यस प्रकारको अन्तरपार्टी सङ्घर्ष सञ्चालन गर्ने तरिका नितान्त भिन्न रहेको छ । कम्युनिस्ट पार्टीले पार्टीभित्रको अन्तरसङ्घर्ष सञ्चालन गर्नका लागि लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीले आफ्नो पार्टीजीवनमा लागु गरी सफलता प्राप्त गरेको अन्तरपार्टी सङ्घर्षको वैज्ञानिक तरिका अपनाउँदै आएको पाइन्छ । माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले पनि अन्तरपार्टी सङ्घर्षको यही वैज्ञानिक तरिका नै अपनाएको थियो भने संसारभरिका माक्र्सवादी–लेनिनवादी पार्टीले पनि यही तरिका नै अपनाउँदै आएका छन् । यसरी संसारभरिका कम्युनिस्ट पार्टीले आफ्नो पार्टीजीवनमा लागु गर्दै आएको यस प्रकारको अन्तरपार्टी सङ्घर्षलाई हामीले जनवादी केन्द्रीयताको सिद्धान्त भन्दै आएका छौँ । यो जनवादी केन्द्रीयताको उचित प्रयोगले नै कम्युनिस्ट पार्टीभित्र सिर्जना हुने अन्तरसङ्घर्षको जस्तोसुकै सङ्कट पनि समाधान हुने गरेको उदाहरण हामीले पाउन सक्छौँ ।

    नेपालको सन्दर्भमा नेकपा (मसाल) नै एक मात्र यस्तो पार्टी हो, जसले सही सङ्गठनात्मक सिद्धान्त, प्रणाली वा नियम अपनाएर आफ्नो पार्टीको अन्तरसङ्घर्षलाई सुन्दर ढङ्गले हल गर्दै अगाडि बढिरहेको छ । विश्वव्यापी रूपमा कम्युनिस्ट पार्टीका निम्ति सर्वमान्य सिद्धान्तको रूपमा विकसित भएको जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित यस प्रकारका विधिविधान र नियमलाई बुझ्न नसक्दा पार्टीका कैयाँै साथीहरू बरालिने, सही मार्गबाट विचलित हुने र अन्ततः कुनै गलत स्थानमा गएर विलीन हुने वा पलायन हुने अवस्था सिर्जना हुने गर्दछ । हाम्रो पार्टी नेकपा (मसाल) को इतिहासमा यस प्रकारको घटना पटक–पटक पुनरावृत्ति हुँदै आइरहेको छ । हाल आठाँै महाधिवेशनपछि पनि हाम्रो पार्टीका कैयौँ साथीहरूमा यस प्रकारको चरित्रको पुनरावृत्ति हुने अवस्था देखा परिरहेको छ ।

    हामी सबैलाई थाहा छ कि आठौँ महाधिवेशनको सिलसिलामा पार्टी लाइन कस्तो बनाउने भन्ने विषयमा दुई लाइनका विचार आएका थिए । यी सबै विचारलाई नेकपा (मसाल) ले सम्मानका साथ दस्तावेजको रूपमा तयार पारी पार्टीको माथिदेखि तलसम्मका सबै तहमा व्यापक रूपमा दुई लाइनको अन्तरसङ्घर्ष सञ्चालन गरेको थियो । यस प्रकारको दुई लाइनको छलफललाई बहुमतीय प्रणालीको आधारमा टुङ्गो लगाई नवौँ महाधिवेशनसम्म एकताबद्ध भएर अगाडि बढ्ने प्रणका साथ आठौँ महाधिवेशन सम्पन्न गरिएको थियो । यस्तो गर्दा कुनै एउटा लाइन अल्पमतमा र अर्काे लाईन बहुमतमा पर्ने स्वाभाविक कुरा थियो । महाधिवेशनमा हामी कोही अल्पमतमा र कोही बहुमतमा भएता पनि महाधिवेशनपश्चात् भने हामी कोही अल्पमतमा र कोही बहुमतमा रहेका छैनाँै । अर्थात् हाम्रा भिन्नमत सुरक्षित राख्दै हामी आठौँ महाधिवेशनले दिशानिर्देश गरेको मार्गमा अगाडि बढ्न सबै सङ्कल्परत छौँ । यो हाम्रो सङ्कल्प माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीमा आधारित छ । वास्तवमा पार्टीलाई माया गर्ने पङ्क्ति, पार्टीको विकास र उन्नति चाहने पङ्क्ति, चाहे बहुमत पक्षधर होस्, अथवा अल्पमत पक्षधर, आजको सन्दर्भमा एकताबद्ध भएर पार्टी, क्रान्ति, देश र जनताको हितमा समर्पित हुँदै आठौँ महाधिवेशनले तय गरेको सिद्धान्त, नीति र कार्यक्रमलाई शिरमा बोकेर अहोरात्र पसिना बगाइरहेको अवस्था छ । यति हुँदाहुँदै पनि कतिपय साथीहरू यस प्रकारको सङ्कल्पबाट च्यूत हुँदै गलत बाटोमा पाइला राख्दै गरेको अवस्था छ । ती साथीहरू राष्ट्रिय जागरण अभियान नामको समूहबाट अथवा अन्य छद्मभेषको माध्यमबाट पार्टीको तेजोबध कसरी गर्न सकिन्छ भने विषयमा जन्मदाको बल खर्चिरहेको अवस्था छ ।

    उनीहरूले बारम्बार अत्यन्तै भद्दा, असङ्गतिपूर्ण र लज्जास्पद खालका विचार प्रकट गर्दै आइरहेका छन् । एकातिर, उनीहरूले नेकपा (मसाल) बिग्रियो, सिद्धियो, अब यसको भविष्य छैन । भिन्न विचार लिएकै कारण आफ्ना कार्यकर्तालाई कारबाही गर्ने गर्छ । यो पार्टी दक्षिणपन्थी भयो भन्नेजस्ता अनर्गल प्रचारबाजीमा लागिरहेका छन् भने अर्कातिर, उनीहरूले आफूहरू नेकपा (मसाल) नै भएको र विगतका अल्पमतले जस्तै पार्टीबाट अलग नहुने, किनकि नेकपा (मसाल) नै क्रान्तिकारी पार्टी हो भन्नेजस्ता विचारहरू प्रकट गर्दै हिड्ने गरिरहेका छन् । यसरी एउटै समय–परिवेशमा पार्टीलाई क्रान्तिकारी पनि भन्ने र दक्षिणपन्थी भनेर गाली गर्दै पनि हिड्ने, यी पार्टी विरोधीको भनाइ र गराइमा कुनै तुक देखिँदैन । यस प्रकारको बेतुकका विचारलाई जनताले पट्याउनेवाला पनि छैन । पार्टीको राजनीतिलाई कमजोर बनाउन खुला र नाङ्गो रूपमा पार्टीको विरोध पनि गर्दै हिड्ने र हामी पार्टीमै छौँ । हामी पार्टी छोड्दैनौ पनि भन्दै गर्ने यस्ता फोस्रा कुरा दुनियाँले कसरी पत्याउला र ?

    यस्ता खालका बेतुकका तर्क र विचार रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेसनको समयमा मेन्सेभिकले पनि प्रकट गर्ने गरेको इतिहास हामीले देख्न सक्छौँ । त्यस बेला मार्ताेभले “फेरि एक पल्ट अल्पसङ्ख्यामा” भित्र लेखेका थिए, “अल्पसङ्ख्याको एउटै गौरवमय दृष्टान्त प्रस्तुत गर्न चाहान्छु, त्यो हो– हाम्रो पार्टीको इतिहासमा यो पहिलो अल्पसङ्ख्या हो, जसले आफू “पराजित” भएता पनि नयाँ पार्टी खोल्ने छैन” (लेनिनको एक पाइला अगाडि, दुइ पाइला पछाडि, पृ. २१४ बाट) । यसरी त्यस बेलाको मेन्सेभिकले यस प्रकारको विचारद्वारा आफूहरूलाई पार्टीप्रति प्रतिबद्ध र एकताको पक्षपाती देखाउने प्रयास गरेको भएता पनि यो सत्य थिएन । किनकि मेन्सेभिकको गलत तौरतरिकाको कारण पार्टीभित्र स्पस्ट रूपमा बोल्सेभिक र मेन्सेभिक दुई पार्टीको विकास हुँदै थियो । आआफ्ना विचार सम्प्रेषणका लागि बोल्सेभिकले पुरानो इस्क्रा छाप्दथे भने मेन्सेभिकहरूले नयाँ इस्क्रा छाप्दथे । अन्ततः बोल्सेभिक र मेन्सेभिकहरू एउटै पार्टीमा रहिरहन सम्भव भएन । अर्थात् बोल्सेभिकले मेन्सेभिकसँग नाता तोडेर पार्टीलाई नयाँ पार्टीको रूपमा अगाडि बढाउने नौलो कदम चाले । अन्ततः रसियाली सामाजिक मजदुर पार्टीको प्राग सम्मेलन जनवरी १९१२ ले मेन्सेभिकलाई पार्टीबाट निस्कासन ग¥यो र रसियाली सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेभिक) अगाडि बढ्यो ।

    यसरी अल्पसङ्ख्याको नाममा बारम्बार पार्टी विरोधी हर्कत् गर्दै आएका मेन्सेभिकलाई पार्टीबाट निष्कासन गरेपछि नै बोल्सेभिकले १९१७ को क्रान्तिमा सर्वहारा वर्गको अधिनायकतन्त्रका लागि सङ्घर्षमा जनतालाई जागृत पार्न सकेका थिए । रसियाली सामाजिक जनवादी पार्टीको यो उदाहरणले प्रष्ट पार्दछ कि अल्पसङ्ख्याको नाममा पार्टी अनुशासन र पार्टीको निर्दिष्ट विचार नमान्ने तर पार्टीको विरुद्धमा गतिविधि गरिरहनेहरू पार्टीभित्र लामो समय टिक्न सक्दैनन् । पार्टीमा तिनै व्यक्ति टिक्छन्, जो अल्पमतमा रहेर पनि पार्टी अनुशासनमा बसेर काम गर्छन् । उनीहरूले समय–परिवेशअनुसार अल्पमत बहुमत हुन सक्ने र बहुमत अल्पमत हुन सक्ने द्वन्द्ववादलाई बुझेका हुन्छन् । पार्टीले निर्दिष्ट गरेका विचार इमान्दारिताका साथ पालना गर्छन् र आफ्ना विचारलाई अन्तरपार्टी सङ्घर्षको माध्यमबाटै बहुमतको विचारभन्दा सही भएको प्रमाणित गर्ने हिम्मत गर्दछन् । तर हाम्रो पार्टीका कतिपय अल्पमतको पक्षमा रहेका साथीहरूले यो हिम्मत गर्न नसक्दा, पार्टीको अनुशासन र पार्टीको निर्दिष्ट विचारको पालना गर्न नसक्दा, पार्टी सङ्गठनको महत्त्वलाई बुझ्न नसक्दा, पार्टीको वा पार्टी कामरेडहरू मोहनविक्रम सिंह, चित्रबहादुर केसी आदिको आलोचना पार्टीभित्रै वा पार्टी कमिटीभित्रै गर्न नसकी पार्टी बाहिरसम्म लैजाँदा, उनीहरू कोही आठौ महाधिवेशनपूर्व र कोही आठौ महाधिवेशनपछि पनि पार्टीको साङ्गठनिक पद्धतिअनुसार पार्टी सङ्गठनमा नरहने गरी कारबाहीमा परिसकेका छन् । तिनै कारबाहीमा परिसकेका साथीहरूले आज आफूहरू नेकपा (मसाल) नै भएको दाबी गरिरहेका छन् र नेकपा (मसाल) को विरोध पनि गरी नै रहेका छन् । उनीहरूको यस प्रकारको चरित्रले उनीहरू स्वतः पार्टी विरोधी भएको कुरा दिन–प्रतिदिन पुष्टि हुँदै गइरहेको छ ।

    आज पार्टी विरोधीले आफूहरू पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन खोजेको, तर पार्टीको बहुमत पक्षले विशेष गरी मोहनविक्रम सिंहले पार्टी फुटाल्न खोजेको भन्दै जनताको बिचमा भ्रम सिर्जना गरिरहेका छन् । तर यसमा कुनै सत्यता छैन भन्ने कुरा दिनको घामजस्तै छर्लङ्ग छ । सत्यता त के हो भने यी पार्टी विरोधी, जसले पार्टी अनुशासनका नियमलाई उल्लङ्घन गर्दै हिँडिरहेका छन्, उनैले नै पार्टीएकतालाई नाश गर्ने प्रयत्न गरिरहेका छन् । पार्टीभित्र मानिसले पार्टी अनुशासनको उल्लङ्घन दुई प्रकारले गर्ने गर्दछन् । कसैकसैले पार्टी अनुशासनको सम्बन्धमा नबुझेर अज्ञानतावश पार्टी अनुशासनको उल्लङ्घन गर्दछन् भने कसैकसैले नियतवश जानी जानी पार्टी अनुशासनको उल्लङ्घन गर्दछन् । पार्टी अनुशासनको सम्बन्धमा नबुझेर अज्ञानतावश पार्टी अनुशासनको उल्लङ्घन गर्ने मानिसबाट पार्टीलाई खासै असर पुग्दैन । किनकि उनीहरूलाई पार्टी अनुशासनको सम्बन्धमा सचेत बनाउन वा राम्रो शिक्षा दिन सकियो भने ती मानिस उर्जाशील बनेर पार्टीहितका निम्ति सक्रिय हुन थाल्दछन् । तर नियतवश जानी जानी पार्टी अनुशासनको उल्लङ्घन गर्ने मानिसबाट भने पार्टीलाई क्षति र असर पुग्ने गर्दछ ।

    माओको नेतृत्वमा रहेको चिनिया कम्युनिस्ट पार्टीमा चाङक्वो थाओ भन्ने एक यस्तो व्यक्ति थियो, उसले जानी जानी पार्टी अनुशासनलाई गम्भीर रूपले उल्लङ्घन गर्दथ्यो । पार्टीले उसलाई पार्टी अनुशासनको बारेमा बारम्बार सम्झाउँदा पनि उसले पार्टीको अनुशासन मान्दैनथ्यो । उक्त व्यक्तिको बारेमा माओले लेखेका छन्– “उसले आफ्नो वरिपरि आफ्ना निजी कृपापात्र जम्मा ग¥यो र एउटा गुट बनायो । अनि, आखिरीमा उसले पार्टीभित्र गद्दारी गरेर पार्टीबाटै भागेर गयो” (माओत्सेतुङका चुनिएका रचनाहरू, भाग २ पुस्तकको काडरसम्बन्धी नीति शीर्षकको लेखबाट) ।

    आज नेकपा (मसाल) बाट निष्कासित भएर राष्ट्रिय जागरण अभियान खोल्न पुगेका अधिकांश साथीहरू त्यही चाङक्वो थाओका प्रतिरूप हुन् । अर्थात् यी साथीहरू पार्टी अनुशासनको नियम नबुझेर अर्थात् अज्ञानतावश होइन कि जानी जानी नियतबश नै पार्टी अनुशासनको उल्लङ्घन गरेर चाङक्वो थाओजस्तै गुट बनाएर आत्मरति लिइरहेका छन् । त्यति मात्रै होइन, यी पार्टी विरोधीहरूले नेकपा (मसाल) विरोधी आफ्नो अभीष्ट पूर्ति गर्न आज हाम्रो पार्टीभित्रको अल्पमत विचार वा पक्षलाई अथवा अन्य विभिन्न कारणले पार्टीभित्र असन्तुष्ट रहेका कार्यकर्तालाई हतियारको रूपमा प्रयोग गर्ने प्रयत्न गर्दै आएको पाइन्छ । उनीहरू स्वयम् आफूलाई नेकपा (मसाल) को अल्पमत पक्ष र अल्पमतको पक्षमा हात खडा गेरेकै कारण पार्टीले कारबाही गरेको र पार्टीले यसो गरेको भएता पनि आफूहरू पार्टीलाई सुधार्न सङ्घर्ष गरिरहेको भन्नेजस्ता कुरा बताउँदै हिडेका छन् । उनीहरूको हरेक लेखरचना र विचारमा अल्पमतको प्रसङ्ग नजोडेको उदाहरण सायदै नहोला ।

    यसरी आफूहरूले पार्टी नछाडेको र अल्पमतको विचारको रक्षाका लागि काम गरिरहेको बहानावाजी गर्दै पार्टी विरोधी आफ्नो अभीष्ट पूरा गर्न चाहन्छन् । तर यो तरिकाबाट आफ्नो पार्टी विरोधी अभीष्ट पूरा हुन्छ भन्ने कुरा केवल दिवासपना हो भन्ने कुरा ती साथीहरूले बेलैमा बुझेर आफूलाई समयमा नै सच्चाउन जरुरी छ । किनकि मुट्ठीभर पार्टी विरोधी साथीहरूबाहेक अधिकांश पार्टी कार्यकर्ता वा साथीहरू, चाहे अल्पमतका होस् अथवा बहुमतका, एकताबद्ध भएर आठौँ महाधिबेशनको कार्यदिशालाई कार्यान्वयन गर्न प्रतिबद्ध र इमान्दार रहेको अवस्था छ । एक जिम्मेवार पार्टीसदस्यको नाताले हरेकले पार्टीहितका निम्ति सङ्घर्ष गरिरहेको अवस्था छ । यसरी चाहे अल्पमतका नेता/कार्यकर्ता होउन् वा बहुमतका, नेकपा (मसाल) भित्र ठुलो सङ्ख्यामा पार्टी कार्यकर्ताले पार्टीको फलामे अनुशासनलाई नै आत्मसात गरी क्रियाशील भइरहेको अवस्था छ । पार्टी कार्यकर्तामा अन्तरनिहित यही फलामे अनुशासनले जस्तोसुकै पार्टी विरोधी तत्त्वलाई पनि हावा खुवाएर छाड्ने छ । अन्ततः पार्टी विरोधीहरू पराजित भएर जाने छन् । जीत पार्टीकै हुने छ ।

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.