किन्शासा, ११ भदौ (रासस/सिन्ह्वा) । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणको गति घटे पनि प्रकोप नियन्त्रणमा अझै उल्लेख्य सुधार नआएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सोमबारसम्म पाँच हजार ६५६ जनामा सङ्क्रमण पुष्टि हुनुका साथै दुई हजार ७१५ जनाको मृत्यु भएको छ ।
अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय कार्यालयद्वारा बुधबार आयोजित अनलाइन पत्रकार सम्मेलनमा विशेषज्ञ मेरी रोजलाइन बेलिजायरले सङ्क्रमणको गति कम भए पनि प्र्रकोपको अवस्था अझै नियन्त्रणको चरणमा नपुगेको बताउनुभयो । उहाँका अनुसार छ प्रान्तका ५८ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ भने एक हजार २४५ जना उपचारपछि निको भएका छन् । मृत्यु दर करिब ४८ प्रतिशत रहेको छ ।
गत मेमा घोषणा गरिएको यो प्रकोप डीआरसीमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा घातक र पश्चिम अफ्रिकामा सन् २०१४–२०१६ को महामारीपछि विश्वकै दोस्रो ठूलो इबोला प्रकोप बनेको छ । भाइरस मेमा पुष्टि हुनुभन्दा केही महिनाअघि, सम्भवतः फेब्रसअरीदेखि नै फैलिएको सिक्वेन्सिङ तथ्याङ््कले देखाएको बेलिजायरले बताउनुभयो । केही प्रमाणले भने सन् २०२५ को डिसेम्बरदेखि नै सङ्क्रमण फैलिएको हुन सक्ने देखाएको उहाँको भनाइ छ ।
रोग पहिचानमा ढिलाइ, समुदायस्तरमा निरन्तर सङ्क्रमण, असुरक्षित शव व्यवस्थापन, सङ्क्रमण नियन्त्रणका कमजोरी, असुरक्षा तथा जनआवागमनले प्रकोप विस्तारमा योगदान पु¥याएको उहाँले बताउनुभयो । उपचार केन्द्रभन्दा समुदायमै हुने मृत्युको उच्च दरलाई डब्लुएचओले प्रमुख चिन्ताका रूपमा लिएको छ । घरमै मृत्यु हुँदा सङ्क्रमितलाई अलग गर्न र सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न कठिन हुने भएकाले सङ्क्रमणको नयाँ शृङ्खला सुरु हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रकोप विस्तार भए पनि निगरानी र उपचार क्षमता बढाइएको छ । सम्पर्क अनुगमन दर करिब ४० प्रतिशतबाट बढेर ८५ प्रतिशत पुगेको छ भने २१ प्रयोगशालाले दैनिक करिब तीन हजार परीक्षण गर्न सक्ने क्षमता बनाएका छन्। ४९ उपचार केन्द्रमा एक हजार ३०० भन्दा बढी शय्या उपलब्ध छन् र करिब ८०० पुष्टि भएका बिरामी उपचाररत छन् । सेप्टेम्बरको मध्यसम्म क्षमता एक हजार ७०० शय्यामा पु¥याउने तयारी छ ।
तर उपचारका चिकित्सकीय विकल्प सीमित रहेको डब्लुएचओले जनाएको छ । जाइर इबोलाभाइरस विरुद्ध प्रयोग हुने एरभेबो खोप बुन्डिबुग्यो भाइरसका लागि स्वीकृत नभएको र दुवैबीच क्रस–सुरक्षाको पुष्टि नभएको बेलिजायरले बताउनुभयो । डीआरसी सरकारको अनुरोधमा ७० हजार मात्रा एरभेबो खोप उपलब्ध गराउने स्वीकृति दिइएको छ । त्यसमध्ये २० हजार मात्रा बुन्डिबुग्यो भाइरसविरुद्ध तेस्रो चरणको परीक्षण र ५० हजार मात्रा अग्रपङ्क्तिमा खटिएका तथा स्वास्थ्यकर्मीका लागि प्रयोग गरिनेछ ।
यसैबीच, छिमेकी युगान्डामा भने इबोला प्रकोप अन्त्य भएको छ । डब्लुएचओका अनुसार अन्तिम बिरामी अस्पतालबाट डिस्चार्ज भएको ४२ दिन पूरा भएपछि प्रकोप अन्त्य भएको मानिएको हो । युगान्डामा २० जनामा सङ्क्रमण पुष्टि भएकामा १५ जना डीआरसीबाट आएका थिए ।
यद्यपि डीआरसीबाट सीमापार सङ्क्रमण फैलिने जोखिम कायम रहेको डब्लुएचओले जनाएको छ । बेलिजायरका अनुसार मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान उच्च जोखिममा छन् । उहाँले डीआरसीमा फैलिएको ठूलो र भौगोलिक रूपमा विस्तारित प्रकोप नियन्त्रणलाई तत्कालको मुख्य चुनौतीका रूपमा औँल्याउनुभयो ।