इस्लामाबाद, ११ भदौ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित अस्पतालको नवजात शिशु कक्षमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएपछि घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले गठन गर्नुभएको समितिले बिहीबार घटनास्थलको निरीक्षण गरी छानबिन अघि बढाएको छ ।
बुधबार बिहान पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको तेस्रो तलामा रहेको नर्सरीमा आगलागी भएको थियो । आगो तीव्र रूपमा फैलिएपछि त्यहाँ रहेका १५ मध्ये एक शिशुलाई मात्र चिकित्सक, नर्स र अन्य कर्मचारीले उद्धार गर्न सकेका थिए । घटनापछि शोकाकुल परिवारले आगलागीको कारण तथा नर्सरीको अग्नि सुरक्षा व्यवस्थाबारे जवाफ मागेका छन् ।
सेवानिवृत्त सङ्घीय सचिव शाहिद खानको नेतृत्वमा गठित समितिले अस्पतालका कर्मचारी, प्रत्यक्षदर्शी र मृतक शिशुका परिवारसँग बयान लिनेछ । समितिले ४८ घण्टाभित्र प्रारम्भिक सिफारिस र पाँच दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।
अस्पताल तथा जिल्ला अधिकारीहरूले सुरुमा वातानुकूलन प्रणालीमा भएको विस्फोटलाई आगलागीको कारण बताएका थिए । प्रारम्भिक अस्पताल प्रतिवेदनमा भने नेबुलाइजरमा भएको विस्फोटबाट आगलागी भएको र नर्सरीमा अक्सिजनको उच्च मात्रा रहेकाले आगो केही मिनेटमै फैलिएको उल्लेख छ । तर समितिले निष्कर्ष नदिएसम्म आगलागीको वास्तविक कारण यकिन नभएको सहर प्रशासनले जनाएको छ ।
अधिकारीहरूले सबै १४ शिशुको शव परिवारलाई बुझाएका छन् । घटनापछि अस्पतालको अग्नि सुरक्षा प्रणाली र आगो निभाउने उपकरणको समीक्षा गर्न निर्देशन दिइएको छ । पञ्जाब प्रान्तमा स्वास्थ्य संस्थाको अग्नि सुरक्षा र आपत्कालीन उद्धार संयन्त्र तत्काल समीक्षा गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइएको छ ।
प्रधानमन्त्री सरिफले स्वास्थ्य सचिव असलम गौरीलाई पदबाट हटाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य संस्थामा आगलागी रोकथाम तथा सुरक्षा मापदण्ड सुदृढ गर्न आह्वान गरेको छ ।
गत जुनमा पूर्वी सहर लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा १४ विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटनापछि पाकिस्तानमा बालबालिकासम्बन्धी सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको थियो ।
(रासस/एपी)