तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानी सरकारी टेलिभिजनसँग सम्बन्धित च्यानलबाट प्रसारित भनिएको उक्त भिडियोमा ब्यारोनलाई लक्षित गर्दै उनको सुरक्षा र गतिविधिबारे विवरण देखाइएको दाबी गरिएको छ। यद्यपि, उक्त इनाम घोषणा इरान सरकारको औपचारिक निर्णय भएको स्वतन्त्र पुष्टि भएको छैन।
यसैबीच, अमेरिकाले इरानमाथि थप आर्थिक प्रतिबन्ध घोषणा गर्दै तेहरानको आर्थिक तथा वित्तीय पहुँच रोक्ने प्रयास गरेको छ। राष्ट्रपति ट्रम्पले सहयोगी राष्ट्रहरूलाई पनि प्रतिबन्धमा सहभागी हुन आग्रह गरेका छन्। इरानले भने अमेरिकी दबाब र धम्कीको सामना गर्ने प्रतिक्रिया दिएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आवश्यक परे इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने सम्भावना खुला राखेका छन्। इरानले पनि अमेरिकी दबाब जारी रहे खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्न सकिने तथा स्ट्रेट अफ होर्मुज बन्द गर्न सकिने चेतावनी दिएको छ।
यसैबीच, ओमाननजिक एउटा तेल ट्यांकर क्षतिग्रस्त भएको खबर आएको छ। क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री तेहरान जाने तयारीमा छन्। अमेरिकाले मानवीय सहायता बोकेका ४० भन्दा बढी जहाजलाई इरानी बन्दरगाहतर्फ जान अनुमति दिएको जनाएको छ।
उता, अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेको एउटा पोतमाथि हमला गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ। तर उक्त पोतमा लागुऔषध रहेको प्रमाण सार्वजनिक गरिएको छैन। यस्ता अमेरिकी सैन्य कारबाहीको कानुनी आधार र प्रभावकारितामाथि भने आलोचना हुँदै आएको छ।
