अनिलकिशोर घिमिरे
कोभिड–१९ को महामारीको बिचमा विश्वभरका युवाहरूले ‘विश्व अभियानका लागि युवा सहभागिता’ भन्ने मुख्य एजेन्डासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छन् । नेपालमा राष्ट्रिय युवा परिषद्को अगुवाइमा ‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुख्य नारासहित भर्चुभल कार्यक्रम भइरहेका छन् । सायद विश्वभर नै अनलाइन माध्यमबाट थुपै्र कार्यक्रम सञ्चालन भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घले युवा सरोकारका कैयौँ विषय उठान गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । खासगरी शिक्षा, स्वास्थ्य, गरिबी, वातावरण, रोजगारी, दुब्र्यसनी, एचआइभी एड्स, युवा महिला, भूमण्डलीकरण, द्वन्द्वमा युवा, सञ्चार प्रविधि र अन्तरपुस्ता सम्बन्धको बारेमा गतिविधि गरेको देखिन्छ । अहिलेको नाराले राज्यको नेतृत्व तहमा वा राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिक संरचनामा युवा संलग्न भएर कसरी समृद्ध नयाँ समाजको निर्माणमा लाग्न सक्छन् भन्ने विषयमा सम्बन्ध राखेको देखिन्छ । आज कोभिड–१९ ले विश्वका युवाको काम गर्ने क्षेत्र प्रभावित बनाएको छ, रोजीरोटी खोसिदिएको छ । विश्वकै अर्थतन्त्र अस्तव्यस्त भइरहेका बेला युवामाथि गम्भीर समस्या पर्ने कुरा स्वाभाविकै भयो ।
मानव समाजको विकास र परिवर्तनमा जहाँ पनि युवा पुस्ताको अतुलनीय भूमिका रहने गरेको छ । समाजको सबैभन्दा गतिशील र उर्जाशील शक्ति, जसको चेतना, साहस, विचार र सही दृष्टिकोणले अगाडि बढिरहेको बाटोलाई सजिलो र सुस्पष्ट पार्दै सुन्दर भविष्यतर्फ घच्घचाइरहेको हुन्छ । चाहे रोमनका स्पार्टाकसले गरेको दास विद्रोह होस्, चाहे युरोपको पुनर्जागरण र सामन्तवाद विरोधी पुँजीवादी क्रान्ति होस्, चाहे १९१७ को महान् रुसी अक्टोबर समाजवादी क्रान्ति वा १९४९ को चिनियाँ जनवादी क्रान्ति, त्यसैगरी भियतनाम वा उत्तर कोरियालगायतका देशमा समाजवाद निर्माणका लागि गरिएका प्रयास हुन्, यी सबैमा युवा नै अग्रपङ्क्तिमा रहेका थिए । नेपालको १०४ वर्षीय जहानियाँ राणाशासनको विरुद्धमा सङ्घर्ष गर्ने तथा सहिद हुने युवा नै थिए भने २०३५–३६ को आन्दोलन, २०४६, २०६२–६३ तथा माओवादी आन्दोलनमा युवा नै सक्रिय थिए । राजनीतिक परिवर्तनका आन्दोलनमा मात्र होइन, प्रकृति विज्ञानको अनुसन्धान गर्ने र संसारलाई जान्न नयाँ प्रविधिको विकास गर्ने वैज्ञानिक आविष्कार पनि ४० वर्षमुनिका कैयौँ युवाले गरेको देखिन्छ ।
यस प्रकार युवा भन्नाले प्रगतितर्फ उन्मुख नवीन सोच र चिन्तनले निर्देशित, समाज परिवर्तनको संवाहक, रचनात्मक र सिर्जनशील, परिवर्तनकामी, विद्रोही, साहसी शक्ति हो भन्न सकिन्छ । युवा उमेरमै नेतृत्व गरेर आफ्नो सिर्जनशीलतालाई समाजका लागि समर्पित गर्ने थुप्रै व्यक्ति छन् । साम्यवादका प्रर्वतक माक्र्स–एङ्गेल्स कम्युनिस्ट घोषणापत्र तयार गर्ने बेलामा क्रमशः ३० र २८ वर्षका थिए । लेनिनले ४६ वर्षकै उमेरमा १९१७ को महान् रुसी अक्टोबर क्रान्ति सफल नेतृत्व गरेका थिए । १९५९ मा बाटिस्टा सत्ताको तख्ता उखेलेर फाल्ने विद्रोहको नेतृत्व गरी राजधानी हवाना प्रवेश गर्दा फिडे्ल क्यास्ट्रो ३२ वर्षका थिए । आधुनिक चीन निर्माणको महान् अभियानको योजनासहित चिनिया कम्युनिस्ट पार्टी गठन गर्दा माओ २८ वर्षका थिए । कोरियाली नेता किम इल सुङले ४० वर्षको युवा उमेरमा अमेरिकी साम्राज्यवादलाई परास्त गर्न नेतृत्व गरेका थिए । समाजवादी क्युबा स्थापनाको अभिभारा पूरा गर्दा चे ग्वेभारा ३१ वर्षका थिए । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलाल २५ वर्षका थिए । १९९७ मा राणाशासन विरुद्ध अग्रमोर्चामा रहेका सहिद गङ्गालाल २१ वर्षका थिए । यी दृष्टान्तले के बताउँछ भने युवा उमेरमै हामीले कुन बाटो रोज्ने, कहाँसम्म हिड्ने, कुन जीबन रोज्ने भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्यो भने साँच्चै समाजको रूपान्तरणमा पाइला चाल्न सक्छौँ ।
आज पनि कैयौँ देशका युवाले सत्ताको बागडोर सम्हालिरहेका छन् । २०१९ को नोबेल शान्ति पुरस्कार विजेता ४० वर्षीय डा. अबि अहमेद इथियोपियाका राष्ट्रपति हुन् । उनले अहिले चिनियाँस्तरको चमत्कारिक विकासको अगुवाइ गरिरहेका छन् । २५ वर्षको उमेरमा विदेशमन्त्री हुँदा इरानसँग ग्लोबल न्युक्लियरसम्बन्धी सम्झौता र युक्रेनको द्वन्द्व समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलेका सेबेस्टेन क्रुज अहिले ३३ वर्षको उमेरमा अस्ट्रियाको नेतृत्वमा रहेका छन् । इमानुएल म्याक्रोन ३९ वर्षको उमेरमा शक्तिशाली फ्रान्सको राष्ट्रपति बनेका थिए । फिनल्यान्डमा ३४ वर्षीय सान्ना मारिना प्रधानमन्त्री छन् । ३७ वर्षीय न्योइन वकलीले मध्य अमेरिकी देश एलसाल्भाडोर हाँकिरहेका छन् भने जेसिका अड्रेनले न्युजिल्यान्ड र किमजोङ इलले उत्तर कोरियालाई भर्भराउँदो युवा उमेरमै नेतृत्व गरिरहेका छन् । यस प्रकार अध्ययन, अनुसन्धान, योजना र क्षमता विकासको साथमा युवाले थुप्रै राष्ट्रको समुन्नतिमा टेवा पुर्याइरहेका देखिन्छन् ।
नेपालका युवाले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा बलिदान गरेर सशक्त उपस्थिति जनाएका छन् तर उनीहरू राज्यसत्ताको मूल प्रवाहमा संस्थागत रूपले नेतृत्वमा पुग्न सकेका छैनन् । नेतृत्वमा एउटै पिँढीका नेताले लामो समयदेखि कब्जा गरिबसेका छन् । उनीहरू लागेपुगेसम्म आजीवन अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । अहिले नेतृत्वमा रहेको पुस्ताले युवावस्थामा कैयौँ जेलनेल, यातना, निर्वासन भोगेरै आएको हो, त्यसलाई उचित सम्मान गर्नैपर्छ । नयाँ सोच, नयाँ संस्कृति, नयाँ मूल्यमान्यता, नयाँ प्रविधि बोकेर आउने नयाँ युगसँग नयाँ पुस्ताले नै संयोजन गर्न सक्छ । नेतृत्वको निरन्तर परिवर्तनले नै नयाँनयाँ सम्भावनाको ढोका खोल्न सक्छ । यसरी हेर्दा युवा पुस्तालाई गरिने अन्यायले मुलुकमाथि अन्याय गरिरहेको हुन्छ । नयाँ भिजन र नयाँ मिसन भएका तमाम युवा आज बेकम्मा भइरहेका छन् । नेतृत्वमा उदाउँदै गरेका युवा पनि जनतासँग घनिष्ट सम्बन्ध बनाउन चाहँदैनन्, बरु नेतृत्वकै चाकरी तथा आफन्तवादको साँघुरो घेरामा अल्झिरहेका देखिन्छन् । हाम्रो समाजका युवामा पर्याप्त जोश र जाँगर भएतापनि धर्यैताको कमी र शीघ्र परिणामको अपेक्षा हुने भएकाले उनीहरू छिटै हौसिने र छिट्टै निराश भइहाल्ने प्रवृति छ । उनीहरू छिट्टै उपयोग र दुरूपयोगसमेत हुने गरेका छन् ।
पुँजीवादले ल्याएको यो पछिल्लो सांस्कृतिक विकृतिले एकातिर, विज्ञानको सट्टा युवा पिँढीको दिमागमा धर्म, अज्ञानता र रहस्यको विषय कोचिदिएको छ भने अर्कातिर, मानवीय मूल्यमान्यतालाई तहसनहस पार्ने गरी लागूऔषध दुब्र्यसनी, डिजिटल लतमा एकोहोरो सामाजिक सञ्जालमा लट्ठिने, जिम्मेवारीबोध र कर्तव्य भुल्दै जाने, असभ्य र भ्रष्ट बन्ने प्रवृति बढेको छ । यसले युवा पुस्तालाई विचार र राजनीतिबाट विमुख गर्दै लगेको छ । ठेक्कापट्टा, तष्करी, कमाउधन्दाका लागि कतिपयले राजनीतिलाई माध्यम बनाएका छन् । राजनीतिक र प्रशासनिक नेतृत्वको अदूरदर्शी र भ्रष्ट क्रियाकलापले गर्दा अपराधीकरण मौलाइरहेको छ ।
आज नेपालमा थुप्रै सम्भावना हुँदै गर्दा पनि सरकार र नेतृत्व तहको गलत रवैया र अव्यवस्थापनका कारण हरेक वर्ष श्रमबजारमा करिब चार लाख युवा रोजगारीका लागि तड्पिरहेका हुन्छन् भने करिब चार लाख युवा रोजगारीको लागि बिदेशिने गरेका छन् । बेरोजगार युवालाई उद्यमी र व्यवसायी बनाउन सकेमा, विदेश जाने युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सकेमा, युवामा जोशजाँगर र उर्जा भरी आत्मविश्वास बढाउन सकेमा, युवा उत्साह र सिर्जनशीलतालाई श्रम, सिप र उत्पादनसँग जोड्न सकेमा, युवालाई सक्षम र जिम्मेवार बनाउन सकेमा, राष्ट्र निर्माणमा युवाको साझेदारी र सहभागिता बढाउन सकेमा, जल, जमिन, जङ्गल, जडीबुटी, जलवायु, जनावर र जनशक्तिको उचित व्यवस्थापन गरी युवा परिचालन गरेमा यस संरचनाभित्र पनि कैयौँ सुधार गर्न सकिन्छ तर होनहार उर्जाशील युवालाई वैदेशिक रोजगारीमा पठाएर, विदेशमै पलायन हुने अवस्था सिर्जना गराएर, डिभी पर्दा र पिआर पाउँदा गर्व गर्ने अवस्था सिर्जना गर्ने र बिप्रेषणमा रमाउने, बिदेशी सेनामा भर्ती हुँदा मक्ख पर्दै भाग्य चम्कियो भनेर हौसिने परिपाटी बढ्दै गइरहेको छ । त्यसलाई निरुत्साहित गर्नेभन्दा पनि संस्थागत गर्ने काम सरकारले नै गरिरहेको छ ।
यसरी हेर्दा नवउदारवादी अर्थव्यवस्थाको चक्रब्यूहमा युवा पुस्ता फसिरहेको छ । सत्ताको यथास्थितिवादी चरित्रको कारण पुँजीवादले सिर्जना गरेका कैयौँ बन्धनमा नयाँ पुस्ता जकडिनुपरेको छ । त्यसैले नयाँ समाज निर्माणका लागि पुरानो समाजको वर्गचरित्र र सत्तासँग कठिन र निर्मम प्रतियोगिताका लागि युवाहरू तयार रहनुपर्ने आवश्यकता रहेको छ । समाजमा जुन प्रकारको विभेद, असमानता र शोषण छ, त्यसको स्वरूप र चरित्र बुझेर मात्र त्यसलाई परिवर्तन गर्नु सम्भव हुन्छ । एउटा व्यक्ति परिवर्तन गर्दा मात्र खास परिवर्तन हँुदैन, पद्धति परिवर्तन गर्नुपर्दछ । युवा आन्दोलनलाई तत्कालीन लाभहानीको रूपमा मात्र हेर्ने र त्यसैमा मात्र सीमित गर्ने वर्तमान प्रवृत्तिले मुलुकको आमूल परिवर्तनमा छेकेबार लगाउने गर्दछ । समाजको विभेद र असमानता सामूहिक प्रकारको उत्पादन प्रणाली र व्यक्तिगत प्रकारको वितरण प्रणालीसँग अन्तरसम्बन्धित छ । यस प्रकारको असमानता विरुद्ध र भावी समुन्नत समाजको निर्माणका लागि अग्निपरीक्षामा बलिदानीपूर्ण रूपमा उभिनु जरुरी छ । अब युवा टाढाटाढाका महत्त्वाकाङ्क्षा बोकेर नितान्त एक्लै भौतारिनुपर्ने बेला छैन, युगान्तकारी अगुवाको समूह बनाएर जनताप्रति समर्पित बन्दै अगाडि बढ्न जरुरी छ ।
उत्पादन र व्यवस्थापनका सबै संयन्त्रमा सामूहिक सहभागितालाई घनीभूत गर्ने र यसलाई प्राविधिक र वैचारिक शिक्षासँग जोड्ने काम गर्नाले युवाहरू आफ्नो यात्राबाट विचलित र दिग्भ्रमित हुनुपर्दैन । युवाले कुनै भौतिक पुरस्कारको आशा नराखी निष्कलङ्क र पवित्र व्यवहार प्रदर्शन गर्दै अगाडि बढ्दा समाजको सौन्दर्य फेरिन सक्छ । समाजवाद निर्माणको आर्थिक आधार तयार गर्न बलिदानसहितको सशक्त आन्दोलन उठान गर्न नयाँ पुस्ता तयार हुनुपर्दछ । प्रदुषित बन्दै गएको यथास्थितिवाद र व्यक्तिवादलाई तोड्दै आमूल परिवर्तनको अग्रगामी दिशामा युवा आन्दोलनलाई परिलक्षित गर्नुपर्दछ । युवालाई वैज्ञानिक विश्वदृष्टिकोणको शिक्षा प्रदान गर्दै, नागरिक साहसको विकास गराउँदै, उद्यमशीलतासँग जोड्दै, जनताप्रति बफादार राजनीतिक योद्धा र शासकको रूपमा तयार गर्नु अहिलेको आवश्यकता हो । विश्व अभियानका लागि युवा सहभागिता भन्ने नाराका साथ सम्पन्न भइरहेको अन्तर्राष्ट्रिय युवा दिवसको सार्थकता यसैमा रहने छ ।